हिउँमा फसेका २५० यात्रुको उद्धार
ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यमा परेका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे। उनले भने, ‘शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो। हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन्।’
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए। काठमाडौं, पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उहाँले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment