कविता : ए मन

डा. तुलसी उप्रेती
३० जेठ २०८३ ८:११

ए मन-जता लान्छौ लैजाऊ
यता, उता, कताकता आफ्नो मर्जीले लैजाऊ
ब्रह्माण्ड वरिपरि घुमाउँछौ भने पनि घुमाऊ
तर मेरो कामबाट कति पनि नलगाऊ अल्मल्याउन।

कहिले उडाउँछौ हावामा आँधीबेहरीसरी
कहिले बगाउँछौ पानीमा भेलसरी
कहिले पुर्‍याउँछौ अन्धाधुन्ध बादलपारि
कहिले दिन्छौ व्यथै व्यथा
कहिले दिन्छौ हाँसो र खुसी
के तिमीले आफैँ बुझेका छौ तिम्रो आफ्नै लीला?

भनेको मान्छौ भने सुनाइदेऊ मेरो सन्देश
बगैँचामा भमरासरी घुमेकी मेरी प्रियसीलाई
भए उनको सन्देश आउँदा ल्याइदेऊ
तर जे गरे पनि उनको मन चाहिँ नदुखाइदेऊ।

ए मन-न तिम्रो स्वरूप छ न रूप
न तिम्रो घर छ न थर
पहिचानबेगर कसरी चिन्ने तिमीलाई?
बन्द कोठरीमा तिम्रो बास छ कि
स्वतन्त्र रूपले जहाँ पायो त्यहीँ बस्छौ?
ए मन-कसरी बाँच्छौ कुनै पेसाबेगर?
कि चुलबुलाउनु र आफूखुसी रम्नु नै तिम्रो पेसा हो?

ए विषालु मन-दिन्छौ भने दिइदेऊ त्यो विषको प्याला
ए दयालु मन-भरिदेऊ दयाले यो जीवन
नत्र भने किन दिन्छौ विष पिउने सोच?
कहिले माथि-माथि उचाइमा पुर्‍याउँछौ
कहिले त्रिलोक देख्ने गरी भुइँमा पछार्छौ
कहिले नौनीसरी पग्लिन्छौ
कहिले ढुङ्गासरी कडा बन्छौ।

हे मनभित्रको-भित्री मन
खोलिदेऊ तिम्रो ढोका-देखाइदेऊ बाहिरी मनलाई सही बाटो
सङ्गालिदेऊ त्यो बहकिने मन
सक्छौ भने हटाइदेऊ आक्रोश, द्वेष र लालसा
थुम्थुम्याइदेऊ भौँतारिएर विद्रोही र क्रान्तिकारी बनेको मनलाई
सम्झाई-बुझाई शान्तिको मार्ग देखाइदेऊ
बिस्तारै-बिस्तारै सही ठाउँमा ल्याइदेऊ रन्थनिएको मनलाई।

ए उड्ने मन-किन उड्छौ हावासँगै?
पातलो बनी किन बग्छौ पानीसँगै?
अस्थिर बनी किन घुम्छौ जताततै?
केही छिन त विश्राम गर!

म मन-“मैले विश्राम गरे त परिवर्तन नै रोकिन्छ
कि खुसी-खुसी मात्रै बाँकी रहन्छ
कि दुखै-दुख मात्रै भइरहन्छ
एकै ठाउँमा बसे जीवनको सन्तुलन नै बिग्रन्छ
मेरो चञ्चलताले मलाई जीवन्त बनाउँछ
यसरी नै मेरो अनि सबैको जीवनचक्र चलिरहन्छ
अनि संसारकै गतिविधि मेरै इच्छामा सञ्चालित हुन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *