कालीकोटको रास्कोटमा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण, १२२ लाभग्राही लाभान्वित

डिसी नेपाल
१८ असार २०८३ ७:२९

मान्म। कालीकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्न कठीन हुने लाभग्राहीहरूका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्न सुरु गरेको छ।

नगरपालिकाले विशेष गरी ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई सहज सेवा दिने उद्देश्यले उनीहरूकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो।

नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीका अनुसार यस अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडाहरूमा गरी कुल १२२ जना लाभग्राहीलाई घरमै भत्ता पुर्‍याइएको छ।

जसअनुसार वडा नम्बर ६ मा ४५ जना, वडा नम्बर ७ मा २५ जना, वडा नम्बर ८ मा १८ जना र वडा नम्बर ९ मा ३४ जना लक्षित नागरिकहरूले घरदैलोमै आफ्नो भत्ता प्राप्त गरेका छन्।

लाभग्राहीहरूले भत्ता लिनका लागि बैंकसम्म धाउनुपर्ने र सास्ती खेप्नुपर्ने बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले यो कदम चालेको हो।

संयोजक शाहीले लाभग्राहीको सेवा र सहजतालाई ध्यानमा राख्दै नगरपालिकाले ग्लोबल आइएमई बैंकसँग विशेष सहकार्य गरेर घरदैलोमै पुगेर भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिनुभयो। सरकारको यो कार्यबाट बैंकसम्म पुग्न नसक्ने अशक्त र वृद्धवृद्धाहरू निकै हर्षित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *