अमेरिका र इरानबीचको तनाव उत्कर्षमा: हर्मुज स्ट्रेटपछि लाल सागर पनि सैन्य चपेटामा पर्ने खतरा
काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव पुनः एकपटक उत्कर्षमा पुगेको छ। अमेरिकाले इरानको तटीय रक्षा प्रणाली (कोस्टल डिफेन्स सिस्टम) र मिसाइल प्रक्षेपण केन्द्रहरूलाई लक्षित गरी तीव्र हवाई आक्रमण गरेपछि परिस्थिति झन् भड्किएको हो।
यसको जवाफमा इरानले यस क्षेत्रबाट हुने विश्वकै महत्वपूर्ण ऊर्जा निर्यातलाई पूर्ण रूपमा ठप्प पारिदिने चेतावनी दिएको छ। इरानले अमेरिका विरुद्धको यो द्वन्द्वलाई आफ्नो ‘अस्तित्वको लडाइँ’ भएको टिप्पणी गर्दै हर्मुज स्ट्रेट (जलडमरूमध्ये) मा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ।
यसैबीच, इरानले अर्को गम्भीर चेतावनी दिँदै यो युद्ध अब हर्मुज स्ट्रेटमा मात्र सीमित नरही लाल सागर (रेड सी) सम्म फैलिन सक्ने उल्लेख गरेको छ। यसको सीधा अर्थ अमेरिकी आक्रमण जारी रहेमा यमनमा रहेका इरानी समर्थक हूती विद्रोहीहरूले विश्वकै अर्को अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गलाई निशाना बनाउन सक्नेछन्।
इरानको यो पछिल्लो चेतावनीले विश्वका दुई सबैभन्दा संवेनदशील समुद्री चोकपोइन्टहरू (हर्मुज स्ट्रेट र लाल सागर) एकैसाथ अवरुद्ध हुन सक्ने ठूलो त्रास सिर्जना गरेको छ। यी दुवै जलमार्ग अवरुद्ध भएमा विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार प्रणाली गम्भीर संकटमा पर्ने निश्चित छ।
वास्तवमा, अमेरिकाले हर्मुज स्ट्रेटमा जहाजहरूको निर्वाध आवतजावतलाई पुनः सुचारु गराउने प्रयास स्वरूप इरानको तटीय रक्षा संयन्त्र, मिसाइल साइट र सैन्य पूर्वाधारहरूमा नयाँ आक्रमण गरेपछि अमेरिका-इरान तनाव थप तीव्र बनेको हो।
अर्कोतर्फ, इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा क्षेप्यास्त्र प्रहार गरी जवाबी कारबाही गरेको छ। वासिङ्टनले तेहरानका सर्तहरू स्वीकार नगरेसम्म हर्मुज स्ट्रेट बन्द नै रहने इरानको अडान छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार यदि हूती विद्रोहीहरूले लाल सागरमा व्यापारिक जहाजहरूमाथिको आक्रमणलाई तीव्र बनाएमा विश्वव्यापी आपूर्ति शृङ्खला (ग्लोबल सप्लाइ चेन) पूर्ण रूपमा प्रभावित हुनेछ।
यी दुवै समुद्री मार्गहरू लामो समयसम्म अवरुद्ध भइरहेमा विश्वव्यापी तेल निर्यात ठप्प हुनुका साथै ढुवानी भाडा र इन्धनको मूल्य अत्यधिक वृद्धि हुनेछ, जसले अन्ततः अन्तर्राष्ट्रिय बजारमा गम्भीर आर्थिक दबाब सिर्जना गर्नेछ।






डिसी नेपाल





Facebook Comment