इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण, दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
वासिङ्टन। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी भीषण हवाई आक्रमण गरेको छ।
उक्त आक्रमणमा परी दुई जना अमेरिकी सैनिकको मृत्यु भएको र एक जना सैनिक बेपत्ता भएको अमेरिकी सेनाले शुक्रबार आधिकारिक पुष्टि गरेको छ।
मध्यपूर्वमा जारी तनावका बीच प्रत्यक्ष इरानी आक्रमणका कारण अमेरिकी सैनिकको मृत्यु भएको यो पहिलो घटना हो, जसले यस क्षेत्रको भू-राजनीतिक परिस्थिति र सैन्य तनावलाई थप संवेदनशील मोडमा पुर्याएको छ।
अमेरिकी सेनाद्वारा जारी विशेष सैन्य विज्ञप्तिअनुसार इरानले एकैसाथ ब्यालिस्टिक क्षेप्यास्त्र र विस्फोटक ड्रोनहरू प्रहार गरेर सैन्य अड्डालाई निशाना बनाएको थियो। आक्रमण सुरु भएलगत्तै त्यहाँ तैनाथ अमेरिकी र उसका सहयोगी देशका सेनाहरूले प्रतिरक्षा प्रणाली सक्रिय पार्दै प्रतिकारको प्रयास गरेका थिए।
आक्रमणमा परी घाइते भएका अन्य चार जना अमेरिकी सैनिकहरूलाई उद्धार गरी उपचारका लागि जोर्डनकै स्थानीय अस्पतालहरूमा भर्ना गरिएको सेनाले जनाएको छ।
अत्यन्तै संवेदनशील सुरक्षा परिस्थितिका कारण ज्यान गुमाउने सैनिकहरूको पहिचान र विस्तृत विवरण हाललाई सार्वजनिक गरिएको छैन।
यस क्षेत्रमा सक्रिय इरान समर्थित लडाकु समूहहरूले यसअघि पनि अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्दै आएका भए पनि, यो पटक प्रत्यक्ष रूपमा इरानकै तर्फबाट ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरिनु र अमेरिकी सैनिकको ज्यान जानुलाई रक्षा विज्ञहरूले ठुलो सैन्य टकरावको सङ्केतका रूपमा लिएका छन्।
यस ऐतिहासिक र प्रत्यक्ष सैन्य भिडन्तपछि वासिङ्टनमा ह्वाइट हाउस र रक्षा मन्त्रालय (पेन्टागन) ले आकस्मिक बैठक डाकेका छन् भने अमेरिकाले यसको कडा सैन्य जबाफ दिन सक्ने अनुमान गरिएको छ।






डिसी नेपाल





Facebook Comment