बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामा इरानको कडा आक्रमण
काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भारी मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै आफ्नो नौसेना र एयरोस्पेस टोलीले ‘अपरेसन नस्र-२’ को २३औँ लहरअन्तर्गत तीन चरणमा आक्रमण गरी अमेरिकी सेनालाई ठुलो क्षति पुर्याएको जनाएको छ।
इरानी आक्रमणमा बहराइनको अल-सखिर हवाई अड्डामा रहेको अमेरिकी ड्रोन मर्मत केन्द्र, सेख इसा एयर बेस, सलमान बन्दरगाहमा रहेका ५औँ फ्लिट सम्बद्ध कमान्ड केन्द्रहरू र इन्धन भण्डारलाई निसाना बनाइएको छ।
त्यसैगरी कुवेतको आरिफजान बेसस्थित टीएफ५९ जहाज तयारी सुविधा, अली अल-सालेम एयर बेसका ड्रोन र्याम्प र पोर्ट अब्दुल्लाहमा रहेको अमेरिकी बन्दोबस्ती केन्द्रमा पनि हमला गरिएको इरानको दाबी छ।
अर्कोतर्फ, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले लगातार नवौँ रात इरानभित्र रहेका सैन्य अखडाहरूमा भीषण हवाई र क्षेप्यास्त्र आक्रमण गरिएको पुष्टि गर्दै तस्बिरहरू सार्वजनिक गरेको छ।
अमेरिकाले इरानका सैन्य कमान्ड सेन्टर, तटीय निगरानी केन्द्र, वायु रक्षा प्रणाली र क्षेप्यास्त्र प्रक्षेपण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानले पनि आफ्ना उर्मिया, तब्रिज र बुसेहर क्षेत्रमा अमेरिकी हमला भएको पुष्टि गरेको छ। यी आक्रमणमा परी तब्रिजमा एक जनाको मृत्यु भएको छ भने उर्मिया र तब्रिजका विभिन्न स्थानमा धेरै मानिस घाइते भएका छन्।
यसैबिच इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले अमेरिका एकातिर शान्ति र कूटनीतिको कुरा गर्ने तर अर्कातिर यस क्षेत्रमा निरन्तर अत्याधुनिक हतियार पठाइरहने दोहोरो चरित्रमा देखिएको बताएका छन्।
गालिबाफले इरानले अमेरिकी रणनीतिको पूर्ण आकलन गरिसकेको र सोही अनुसार प्रतिकारको तयारी गरेको स्पष्ट पारेका छन्। दुवै पक्षबाट भइरहेका यी भीषण प्रहारहरूले मध्यपूर्वमा थप व्यापक युद्धको खतरा बढाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment