खलील अल-हया बने हमासका नयाँ प्रमुख, आन्तरिक चुनावमार्फत कतारमा रहेका कट्टरपन्थी नेतालाई नेतृत्व
काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो साङ्गठनिक नेतृत्वमा व्यापक फेरबदल गर्दै खलील अल-हयालाई नयाँ प्रमुख चयन गरेको छ। हमासद्वारा आयोजित आन्तरिक निर्वाचनमार्फत उनलाई राजनीतिक ब्यूरोको सर्वोच्च प्रमुख पदमा निर्वाचित गरिएको घोषणा गरिएको हो। यसअघि अल-हया गाजास्थित हमासको पोलिटिकल ब्यूरोका प्रमुखका रूपमा कार्यरत थिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको साङ्घातिक आक्रमण र त्यसपछि सुरु भएको भीषण गाजा युद्धका क्रममा अल-हयाले युद्धविराम तथा बन्दी आदानप्रदान वार्तामा हमासको तर्फबाट मुख्य वार्ताकारको भूमिका निर्वाह गर्दै आएका थिए।
हमासका पूर्व शीर्ष नेताहरू इस्माइल हानिया र याह्या सिनवारको हत्या भएपछि विगत दुई वर्षदेखि यो सङ्गठन पाँच सदस्यीय ‘लीडरसिप काउन्सिल’ मार्फत सञ्चालित हुँदै आएको थियो, जसमा अल-हया पनि समावेश थिए।
गाजा पट्टीमा जन्मिएका अल-हयाले आफ्नो जीवनको अधिकांश समय गाजामै बिताएका थिए। सन् २०२३ अक्टोबर ७ को आक्रमण हुनुभन्दा केही समयअघि मात्र उनी गाजा छाडेर कतार पुगेका थिए र त्यसयता उनी मुख्य रूपमा दोहामै बस्दै आएका छन्।
कतारमा रहेर अल-हयाले अरब जगत्का राजनीतिक नेतृत्वहरूसँग कूटनीतिक संवाद र समन्वय स्थापित गर्दै आएका छन्। जुलाई २०२४ मा इरानको राजधानी तेहरान भ्रमणका क्रममा उनी इस्माइल हानियासँगै थिए, जहाँ हानियाको हत्या भएको थियो। सन् २०२५ मा दोहामा भएको इजरायली हवाई हमलाबाट भने अल-हया बालबाल बचेका थिए।
खलील अल-हया हमासभित्र अत्यन्तै कडा र कट्टरपन्थी विचारधाराका नेता मानिन्छन्। उनले सन् २०२३ अक्टोबर ७ को आक्रमणको निरन्तर बचाउ गर्दै त्यसलाई एक “महान् कार्य” को संज्ञा दिँदै आएका छन्।
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले अक्टोबर ७ को आक्रमणको मुख्य उद्देश्य इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई छुटाउन र ‘प्रिजनर स्वाप’ गर्नका लागि इजरायली सैनिकहरूलाई नियन्त्रणमा लिनु रहेको बताएका थिए।
उनले थपेका थिए, “हामीलाई थाहा थियो कि यो महान् कार्यको प्रतिक्रिया निकै ठूलो हुनेछ। तर, यसले सम्पूर्ण समीकरण बदल्यो र ओझेलमा परेको प्यालेस्टिनी मुद्दालाई पुनः अन्तर्राष्ट्रिय एजेण्डा र संवादको केन्द्रमा ल्याउन सफलता मिल्यो।”
अल-हयाले बेलाबेलामा युद्धविराम र शान्तिका कुरा गरे तापनि उनको मुख्य माग सन् १९६७ भन्दा अघिको सीमामा आधारित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना हुनुपर्ने रहेको छ।
इजरायली आक्रमणहरूका कारण उनले आफ्नो परिवारका धेरै सदस्यहरू गुमाइसकेका छन्। इजरायली बमबारीमा परि उनका श्रीमती, धेरै जना छोराहरू र अन्य नजिकका नातेदारहरूको मृत्यु भइसकेको छ। शीर्ष नेतृत्व गुमाएपछि सङ्कटबाट गुज्रिरहेको हमासलाई अल-हयाको कडा र कूटनीतिक नेतृत्वले कुन दिशातर्फ लैजान्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ।






डिसी नेपाल





Facebook Comment