सर्पले टोकेको उपचार गर्दा अस्पतालको बिल २० करोड रुपैयाँ

डिसी नेपाल
५ साउन २०८३ ११:५३

काठमाडौं । अमेरिकामा परिवारलाई भेट्न गएका एक व्यक्तिका लागि सो यात्रा जीवनकै सबैभन्दा डरलाग्दो अनुभव बनेको छ। घरको बगैँचामा अन्जानमा विषालु रेटलस्नेक सर्पलाई टेक्दा त्यसले दुई पटक टोकेपछि उनको अवस्था अत्यन्तै गम्भीर बनेको थियो।

चिकित्सकहरूले उनको ज्यान बचाउन ५४ भायल एन्टी-भेनम (औषधि प्रयोग गर्नुपरेको थियो। उपचारपछि उनको ज्यान त बच्यो, तर अस्पतालको बिल भने करिब १३ लाख अमेरिकी डलर (नेपाली रु. २० करोड भन्दा बढी) पुगेको छ।

‘डेली स्टार’ को रिपोर्ट अनुसार अमेरिकाको इडाहो राज्यका बासिन्दा क्रिस हावर्थ परिवारलाई भेट्न क्यालिफोर्नियाको ओरोभिल गएका थिए। चार दिन आफन्तहरूसँग बिताएपछि श्रीमती र छोराछोरीसहित घर फर्किने तयारी गरिरहँदा आमाबुबाको घरको बगैँचामा उनी सर्पको टोकाइमा परेका हुन्।

सर्पले टोक्नासाथ क्रिसको जिब्रो सुन्नियो, शरीरका लिम्फ ग्रन्थिहरू सुन्निए र फोक्सोले पनि काम गर्न छाड्यो। उपचारका क्रममा उनलाई ‘डिसेमिनेटेड इन्ट्राभास्कुलर कोएगुलेसन’ नामको दुर्लभ र प्राणघातक जटिलता उत्पन्न भयो, जसमा शरीरका रक्तधमनीहरूमा असामान्य रूपमा रगतका डल्लाहरू जम्न थाल्छन्।

क्रिसको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूले निरन्तर एन्टी-भेनम दिन थाले। ओरोभिल अस्पतालमा भएको एन्टी-भेनमको स्टक नै सकिएपछि उनलाई हेलिकप्टरमार्फत ‘स्ट्यानफोर्ड मेडिकल सेन्टर’ लगेर विशेष उपचार गरियो। करिब १२ दिन सघन उपचार कक्षमा बिताएपछि उनी घर फर्कन सफल भए।

क्रिसको ज्यान बचे पनि अस्पतालको विशाल बिल परिवारका लागि ठूलो सङ्कट बनेको छ। दुवै अस्पतालको कुल बिल करिब १३ लाख डलर आएको छ। उनीहरूसँग स्वास्थ्य बिमा भए तापनि बिमा कम्पनीले कति रकम व्यहोर्छ र कति रकम आफ्नै खल्तीबाट तिर्नुपर्छ भन्ने स्पष्ट भइसकेको छैन।

यसबाहेक, क्रिस गत मे २६ देखि काममा जान सकेका छैनन् र त्यस अवधिको कुनै तलब पनि पाएका छैनन्। जनवरीमा भएको अर्को शल्यक्रियाका क्रममा उनले आफ्ना सबै बिदाहरू प्रयोग गरिसकेका थिए।

क्रिसकी श्रीमती जेनीका अनुसार उनी हाल करिब ८० प्रतिशत मात्र स्वस्थ भएका छन् र अझै पनि हिँडडुल गर्दा खुट्टा सुन्निने र अत्यधिक थकान महसुस हुने समस्या छ। एकातिर करोडौँको मेडिकल बिलको दबाब र अर्कातिर हप्ताौँदेखि आम्दानी ठप्प भएकाले परिवार भविष्यलाई लिएर चिन्तित बनेको छ। यद्यपि, असहज परिस्थितिमा आर्थिक सहयोग गर्ने शुभचिन्तकहरूप्रति परिवारले आभार व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *