सहरको महँगो डेरा र गाउँका बाँझा खेतबारी: शिक्षाको गुणस्तर सुधारे मात्र रोकिनेछ पलायन

पूर्ण ओली
७ साउन २०८३ ७:३२

अहिले देशभरका एकाध सामुदायिक विद्यालयलाई छाड्ने हो भने अधिकांशको पठनपाठनको स्तर निकै कमजोर छ।

यही कारणले गर्दा हरेक वर्षको एसइईको नतिजा आउँदा निजी विद्यालयहरूबाट शतप्रतिशत विद्यार्थीहरू राम्रो ग्रेडिङ ल्याएर उत्तीर्ण हुन्छन् भने सरकारी विद्यालयमा पढ्ने धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुने र अधिकांशको ग्रेडिङ तल्लो स्तरको हुने गर्छ।

विकसित देशहरूमा सरकारी र निजी विद्यालयको पढाइको स्तरमा खासै फरक हुँदैन, भए पनि केही अतिरिक्त क्रियाकलापमा मात्र भिन्नता हुन्छ। हाम्रो देशको सरकारी विद्यालयहरूमध्ये बूढानीलकण्ठ स्कुल एउटा नमुना विद्यालय हो, जहाँ देशभरिबाट छनोट भएका विद्यार्थीहरूले निःशुल्क रूपमा स्तरीय शिक्षा प्राप्त गर्छन्।

पञ्चायती व्यवस्थामा स्थापना गरिएको उक्त विद्यालयका अधिकांश विद्यार्थीहरू धेरैजसो विदेश गइसकेका छन् भने कतिपय डाक्टर, इन्जिनियर भएर स्वदेश तथा विदेशमा कार्यरत छन्। नेपालका निजी विद्यालयहरूको पढाइ राम्रो भए पनि अत्यन्त महँगा भएकाले सर्वसाधारण जनताका छोराछोरीले त्यहाँ पढ्न सक्दैनन्।

सबै नेपाली जनताका छोराछोरीलाई स्तरीय शिक्षा दिनका लागि सबै सरकारी विद्यालयहरूको पढाइ निजीको जस्तै गुणस्तरीय हुन सके सबैले समान रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्थे।

यसका लागि सरकारको आर्थिक स्थिति, शिक्षा नीति, शिक्षकको स्तर, तालिम तथा पूर्वाधार विकास हुन आवश्यक छ। शिक्षादेखि सबै क्षेत्रमा राजनीतिले ग्रस्त भएको नेपालमा सबै सरकारी शिक्षण संस्थाको गुणस्तर छिट्टै सुध्रिने आशा गर्न सकिँदैन।

भर्खरै आएको नयाँ सरकारले शिक्षक र कर्मचारीतन्त्रका ट्रेड युनियनहरू खारेज गरेको छ। तर अझै पनि पुराना दलका कार्यकर्ताहरूले यसको विरोध गर्दै अदालतमा मुद्दा हालेका छन्।

त्यसैले अहिलेलाई सबै स्थानीय तहमा कम्तीमा एउटा बूढानीलकण्ठ जस्तो गुणस्तरीय विद्यालयको विस्तार गरी सबै तहमा कम्तीमा एउटा भए पनि यस्तो नमुना विद्यालय सञ्चालन गरियोस्, जहाँ पढ्न र पढाउन सबैले चाहन्छन्। यहाँ पढ्ने विद्यार्थीहरूको भविष्य अवश्य पनि उज्ज्वल हुनेछ।

यदि हरेक स्थानीय तहमा यस्ता गुणस्तरीय विद्यालय सञ्चालन भएमा त्यस क्षेत्रका आमाबुबाले आफ्ना छोराछोरी पढाउन सहरमा गएर महँगो डेराभाडा तिरेर बस्न चाहने छैनन्। यसबाट गाउँमा मानिसहरू फर्किन थाल्नेछन्।

अहिले कतिपय मजदुरहरू समेत आफ्ना छोराछोरी पढाउन काठमाडौँका महँगा घरमा भाडा तिरेर बस्न बाध्य छन्। गाउँमा आफ्नै घर भएर पनि सहरमा सुकुम्बासी बनेर बस्नुको मुख्य बाध्यता छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनकै लागि हो। गाउँ खाली हुनुको प्रमुख कारणमध्ये गाउँमा राम्रो पढाइ नहुनु पनि एक हो।

पेट पाल्न त आफ्नै खेतबारीको अन्नबालीले पनि पुर्‍याउन सकिन्छ, तर बालबालिकाले राम्रो शिक्षा नपाउँदा उनीहरूको भविष्य अन्धकार हुन्छ। अहिलेका आमाबुबा आफूले नपढे पनि छोराछोरीलाई ऋण गरेर भए पनि गुणस्तरीय विद्यालयमा भर्ना गराउन चाहन्छन्।

यदि यस्ता स्तरीय विद्यालय आफ्नै गाउँघरमा उपलब्ध भएपछि मानिसहरू मरिहत्ते गरेर किन सहर जान्थे र? अनि उनीहरूले आफ्नै खेतबारीमा अन्न उब्जाएर खान सक्छन् र नजिकैको स्थानीय बजारको उपयोग गर्न थाल्छन्।

राम्रा विद्यालय स्थापना भएपछि वरपरका मानिसहरू पनि त्यही विद्यालयको छेउछाउमा बस्न खोज्छन्, जसले गर्दा स्थानीयको अन्न, फलफूल, तरकारी र दूध बिक्री हुन थाल्छ। यसरी क्रमशः बस्ती र बजारको विस्तार हुन थाल्छ।

विकसित देशहरूमा प्रायः सबैतिर स्तरीय विद्यालयहरू खुलिसकेपछि क्रमशः अस्पतालको विकास भएको देखिन्छ। त्यसपछि सपिङ मलहरू बन्ने गर्छन् र यसरी नयाँ सहरहरू निर्माण हुन्छन्। यस प्रक्रियाले गर्दा वैदेशिक रोजगारीमा जाने युवाहरू पनि क्रमशः स्वदेशमै बस्न थाल्नेछन्।

अब मध्यपूर्वमा भइरहेको युद्धका कारण धेरै युवाहरू स्वदेश फर्किन बाध्य हुनेछन्। त्यसका लागि सरकारले पूर्वतयारी गर्नुपर्छ र युवाहरूलाई आफ्नै गाउँमा फर्काउन गाउँमा यस्ता स्तरीय विद्यालय सञ्चालन गर्नुपर्छ।

आफ्ना छोराछोरी गाउँमै पढाउन पाउने वातावरण बनेपछि युवाहरू आ-आफ्नै गाउँमा बसेर खेतबारीमा उब्जनी गरेर जीवनयापन गर्न तयार हुनेछन्। साथै कृषि उत्पादनमा मद्दत पुग्ने गरी सिँचाइको राम्रो प्रबन्ध गरिदिने हो भने विदेशबाट फर्केका युवाहरूले आधुनिक कृषि व्यवसाय गर्नेछन्। सरकारले यसतर्फ सोचेर योजना बनाई कार्यान्वयन गरोस्। अर्थमन्त्रीले बजेट बनाउँदा नै यस्ता दूरदर्शी सोचका साथ अघि बढ्नुपर्ने थियो।

गुणस्तरीय शिक्षण संस्थाहरू बन्नु भनेको सहर निर्माणको पहिलो आवश्यकता हो, जसको आधारमा त्यस ठाउँप्रति मानिसहरूको आकर्षण बढ्न थाल्छ। जनसङ्ख्या बढेसँगै क्रमशः बजारको विस्तार हुन थाल्छ।

यही शिक्षाकै कारण दार्जिलिङ र नैनीताल जस्ता पहाडी इलाकाहरूको विकास भएको कुरा सम्झनुपर्छ। शिक्षाको स्तरसँगसँगै स्वास्थ्य केन्द्रहरू तथा उद्योगहरूको विकास हुनेछ।

अहिले नेपालका गाउँघरहरू सडक सञ्जालले जोडिसकेका छन्, तर यस्ता स्तरीय शिक्षण संस्थाको अभावमा युवाहरू विदेशिन र अभिभावकहरू आफ्ना साना छोराछोरी पढाउन सहरमा डेरा लिएर बस्न बाध्य छन्।

सरकारले स्तरीय विद्यालयसँगै प्रत्येक स्थानीय तहमा कम्तीमा २-३ वटा उद्योग र आवश्यकता अनुसार सरकारी कार्यालयहरू पनि खोल्नुपर्छ। क्रमशः रोजगारीका अवसरहरू बढाउँदै लगिएमा युवाहरू गाउँतर्फ फर्किनेछन्।

अहिले गाउँमा युवाहरू छैनन् र खेतबारी बाँझा छन्, जसले गर्दा उद्योगहरूमा समेत मजदुरको अभाव भएको छ। त्यसैले कहाँ कति युवाको आवश्यकता छ, त्यसको खोजी गरी प्रचारप्रसार हुन अत्यावश्यक छ। विदेश जाने युवालाई रोक्न र विदेशबाट फर्काउन सरकारले ठोस रूपमा काम गर्न सकेको छैन।

यस्ता विषयमा सरकारमा बस्नेहरूको ध्यान पुग्न सकेको भए अझ अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्ले आफैँ बूढानीलकण्ठ पढेका व्यक्ति भएकाले यसतर्फ सोच्नुपर्ने हो। अर्थमन्त्रीले गरेको बजेट भाषणले यसपालि नेपाली जनताको मन खिच्न सकेन।

नौ महिना शासन गरेको एमालेका अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ कार्यक्रमले त्यतिबेला गाउँको पूर्वाधार विकासमा महत्त्वपूर्ण कार्य गरेको थियो, जसले गर्दा केही अघिसम्म एमालेको लोकप्रियता कायम थियो।

रवि लामिछानेले गृहमन्त्री हुँदा भ्रष्टाचारका फाइलहरू खोलेर लोकप्रियता कमाएका हुन्। तर स्वर्णिम वाग्लेले गर्न चाहेमा अझै पनि गाउँमा जनता फर्काउन गुणस्तरीय विद्यालय, पिउने शुद्ध पानी र सिँचाइको राम्रो प्रबन्ध गरिदिने हो भने युवाहरू गाउँ फर्किनेछन्।

कृषकलाई दिने अनुदान दलाल र कर्मचारीलाई खान नदिएर प्रत्यक्ष किसानका बैंक खातामा पठाउने व्यवस्था भारतमा नरेन्द्र मोदीले गर्दा नेपालमा किन गर्न सकिँदैन? यसबाट पनि हाम्रा खेतबारीहरू बाँझा रहने छैनन्।

बालेन सरकारको देश बनाउने हुटहुटी देखिन्छ, तर साथमा भएका मन्त्रीहरूमा त्यति जोस देखिँदैन। अर्थमन्त्री पहिला योजना आयोगमा बसिसकेका भए पनि उहाँले नेपाललाई खासै चिनिसकेको देखिएन र उहाँले पनि पुराना दलका अर्थमन्त्रीहरूकै नक्कल गरेको देखियो।

त्यही भएर अहिले मन्त्रिमण्डल फेरबदलको कुरा उठेको सुनिन्छ। यसले गर्दा पार्टीमा विग्रह नआओस्। कम्तीमा विगतमा ठुला दलहरू फुट्दा के हालत भयो भन्ने कुरा रवि र बालेनले एकपटक सम्झनुपर्छ।

नेपालीहरू खुट्टा तान्न सिपालु हुन्छन् र अरूको रिस-डाहा गर्नेहरूको यहाँ कमी छैन। साथै वैदेशिक शक्ति, खासगरी भारत जस्तो अत्यन्त स्वार्थी र अवसरवादी छिमेकी भएको देशले पाएसम्म नेपालको स्थिरता र विकास चाहँदैन।

त्यसैले पनि बालेन सरकार सफल हुनुपर्छ र कार्यरत मन्त्रीहरूको देश बनाउने जोस-जाँगर अझ बढाउनुपर्छ। सबैको उद्देश्य नेपालमा भ्रष्टहरूलाई कडा कारबाही गर्दै गाउँ-गाउँको विकास गर्न बाँझा खेतबारीमा अन्न उब्जाएर खाद्यान्नमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ।

त्यसै गरी युवाहरूलाई सही बाटो देखाउँदै विदेशमा भन्दा नेपालमै गरेर खाने उपायहरू छन् भनेर स्पष्ट पार्नुपर्छ। सरकारले गर्न सक्ने कामहरू जनतालाई प्रत्यक्ष देखाउन सक्नुपर्‍यो, जसले गर्दा जेन-जी  युवाहरूको पनि चित्त बुझोस्।

हाल: अस्ट्रेलिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *