ईपीएस कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान

डिसी नेपाल
५ साउन २०८३ १२:५२

काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ।

नेपाल र कोरियाबीच भएको द्विपक्षीय समझदारी अनुसार कुल ७ हजार २ सय जना कोटाका लागि यो आवेदन खुला गरिएको हो।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रका लागि ५ हजार, कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार, सेवा क्षेत्रका लागि १ सय र वन क्षेत्रका लागि १ सय जना श्रमिकको माग आएकाले सोही बमोजिम भाषा परीक्षा सञ्चालन गर्न लागिएको शाखाले जनाएको छ।

असार ११ गतेदेखि भदौ १७ गतेसम्म (२७ जुलाईदेखि २ अगस्ट २०२६ सम्म) इच्छुक आवेदकहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नगरिएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।

परीक्षार्थीहरूले परीक्षा शुल्कबापत २८ अमेरिकी डलर बुझाउनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्र अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ।

अन्तिम परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको उत्तीर्ण वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म रहनेछ। साथै, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु नै कोरियामा रोजगारीको शतप्रतिशत ग्यारेन्टी भने नरहेको प्रष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *