भारतमा पहिलो डेंगु खोप ‘क्युडेंगा’ स्वीकृत, दुई मात्रा लगाएपछि चारै प्रकारका भाइरसबाट सुरक्षा पाइने
नयाँ दिल्ली। भारतले डेंगु नियन्त्रण तथा रोकथामका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ।
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले जापानी औषधि निर्माता कम्पनी टाकेडाद्वारा विकसित ‘क्युडेंगा’ खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूमा प्रयोग गर्न सकिनेछ। ‘क्युडेंगा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ, जसमा पहिलो मात्रा लगाएको तीन महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। यो खोपले डेंगु भाइरसका सबै चारवटा प्रकार (सेरोटाइप) विरुद्ध प्रभावकारी सुरक्षा प्रदान गर्दछ।
भारतमा खोपको सहज आपूर्ति र उत्पादन विस्तारका लागि टाकेडाले भारतीय औषधि उत्पादक कम्पनी ‘बायोलोजिकल ई’ सँग सहकार्य अघि बढाएको छ। जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेंगुको जोखिम तीव्र रूपमा बढिरहेका बेला यस निर्णयलाई महत्त्वपूर्ण स्वास्थ्य उपलब्धिका रूपमा हेरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पूर्वयोग्यता (प्रि-क्वालिफिकेसन) प्राप्त गरिसकेको यो खोप युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड र इन्डोनेसियासहित विश्वका ४२ भन्दा बढी देशहरूमा प्रयोगमा आइसकेको छ।
हालसम्म विश्वभर यस खोपको २ करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा चुनौती नदेखिएको जनाइएको छ।
डब्लुएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगुको उच्च जोखिममा छ भने प्रत्येक वर्ष १० देखि ४० करोड मानिस यसबाट संक्रमित हुने गर्छन्। भारतको आधिकारिक तथ्यांक अनुसार सन् २०२१ यता मात्रै त्यहाँ १० लाखभन्दा बढी मानिसमा डेंगु पुष्टि हुनुका साथै कम्तीमा १,५०० जनाको मृत्यु भइसकेको छ।
यसैबीच, भारतमै पानासिया बायोटेकद्वारा विकसित भइरहेको ‘डेन्गीअल’ नामक अर्को खोप पनि अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ। स्वीकृति पाएमा यो विश्वकै पहिलो एकल मात्रा (सिंगल डोज) डेंगु खोप बन्ने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment