इरान युद्धमा मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब डलर माग्यो

डिसी नेपाल
६ साउन २०८३ १०:५०

काठमाडौं । इरानसँगको युद्ध र तनाव घटाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलरको विशेष आर्थिक सहयोग माग गरेको छ।

‘रोयटर्स’ को रिपोर्ट अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई औपचारिक प्रस्ताव पठाउँदै आगामी पाँच वर्षका लागि ‘एक्सचेन्ज स्टेबिलाइजेसन सपोर्ट फेसिलिटी’ अन्तर्गत यो वित्तीय सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो।

रिपोर्ट अनुसार इरान युद्धका क्रममा विभिन्न पक्षहरूसँग वार्ता र कूटनीतिक संवाद गराउन खेलेको भूमिकाका कारण अमेरिकासँगको सम्बन्ध थप सुदृढ र प्रगाढ बनेको विश्लेषकहरूको ठम्याइ छ। सोही कूटनीतिक सफलताका आधारमा इस्लामाबादले वासिङ्टनबाट यो ठूलो आर्थिक सहयोगको अपेक्षा राखेको हो।

यदि अमेरिकी प्रशासनले पाकिस्तानको यस प्रस्तावलाई स्वीकृति दिएमा यसले पाकिस्तानी अर्थतन्त्रमा सकारात्मक प्रभावहरू पार्नेछ । लामो समयदेखि विदेशी मुद्राको सङ्कट झेलिरहेको पाकिस्तानको मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आउनेछ।

डलरको तुलनामा निरन्तर अवमूल्यन भइरहेको पाकिस्तानी रुपैयाँमाथिको दबाब घट्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कडा शर्तहरूका साथ पाइने किस्ता र ऋणमाथिको अत्यधिक निर्भरता घट्न जानेछ।

हाल अमेरिकाले पाकिस्तानको यस वित्तीय प्रस्तावमाथि आधिकारिक निर्णय दिइसकेको छैन। तर मध्यपूर्वी सामरिक सङ्कटका बीच पाकिस्तानको यो कदमलाई अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीतिक लाभलाई आर्थिक सहयोगमा बदल्ने प्रयासका रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *