सुरक्षा सतर्कता बढाउँदै दिल्लीका १६ मेट्रो स्टेसन बन्द, संसद् भवन आसपास क्षेत्रमा कडा पहरा
नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले १६ वटा मेट्रो स्टेसनहरू अस्थायी रूपमा बन्द गरेको छ।
डीएमआरसीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेसनहरू पूर्ण रूपमा बन्द रहनेछन्।
यद्यपि, यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै राजीव चोक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेसनमा अन्य रुटमा गाडी फेर्ने (इन्टरचेन्ज) सुविधा भने यथावत् रहने जनाइएको छ।
भारतको संसद्को मनसुन अधिवेशन जारी रहेका बेला जन्तर-मन्तर तथा संसद् भवन आसपासका क्षेत्रमा प्रदर्शनको जोखिम बढेपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको हो। यसअघि पनि सुरक्षाकै कारण देखाउँदै डीएमआरसीले जनपथ, राजीव चोक, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ गरी पाँच स्टेसन बन्द गरेको थियो।
संसद् घेराउ गर्नेसम्मका विरोध कार्यक्रम घोषणा भएपछि दिल्ली प्रहरीले राजधानीको सुरक्षा तैनाथी थप कडा बनाएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिनर्यापिड एक्सन फोर्स (आरएएफ) सहित भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबिच, दिल्ली प्रहरीले संसद् मार्च वा कुनै पनि प्रकारको जुलुसका लागि आधिकारिक अनुमति नदिइएको स्पष्ट पारेको छ। नयाँ दिल्ली जिल्लामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू रहेको जानकारी दिँदै प्रहरीले अनुमतिबिना पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न र प्रदर्शन गर्न कडा रोक लगाइएको जनाएको छ।
निषेधाज्ञाका बिच पनि प्रदर्शनकारीहरूले भने जन्तर-मन्तरमा आफ्नो आन्दोलन जारी राखेका छन्। शिक्षा क्षेत्रमा भएका अनियमितता, परीक्षाका प्रश्नपत्र चुहावट जस्ता गम्भीर विषयहरू उठाउँदै सुरु भएको यस आन्दोलनमा प्रसिद्ध सामाजिक अभियन्ता सोनम वाङचुकसमेत सहभागी हुनुभएको थियो। गत जुन महिनादेखि सुरु भएको यो आन्दोलनले भारतभर चर्चा पाएको छ। आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा देखिएका गम्भीर त्रुटिहरूको नैतिक जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गरिरहेका छन्।






डिसी नेपाल





Facebook Comment