जेल सजायबाट बच्न आफ्नै ‘मृत्युको नाटक’, आफ्नै अन्तिम संस्कार गराउने व्यक्ति पक्राउ, परिवारमाथि पनि कानुनी कारबाही
काठमाडौं । सजाय र जेल जीवनबाट बच्न मानिसहरू अनेकौँ हत्कण्डा अपनाउँछन्, तर चीनका एक व्यक्तिले चालेको कदमले स्वयं प्रहरी प्रशासनलाई समेत चकित तुल्याएको छ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको मुद्दामा जेल जानबाट बच्न ती व्यक्तिले आफ्नै मृत्युको पूरा नाटक रचे, बाकस (काठको बाकस/ताबुत) किने, घरमा औषधिका खाली बोटलहरू छरपस्ट पारे र परिवारको सहयोगमा आफ्नै अन्तिम संस्कारसमेत गराए।
यद्यपि, केही साना प्राविधिक त्रुटिहरूका कारण उनको यो सम्पूर्ण चलाखी असफल भयो र अन्ततः उनी प्रहरीको फन्दामा परे। ‘साउथ चाइना मोर्निङ पोस्ट’ को रिपोर्ट अनुसार यो घटना चीनको हेनान प्रान्तस्थित आनयाङ शहरको हो।
त्यहाँका स्थानीय बासिन्दा ‘सी’ थर भएका व्यक्तिलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनी यसअघि पनि दुई पटक बिना लाइसेन्स मापसे गरेर गाडी चलाउँदा पक्राउ परिसकेको खुलेको थियो। मुद्दाको प्रक्रिया अघि बढाउने क्रममा उनलाई तारिखमा छाडिएको थियो।
चीनको कानुन अनुसार मापसे गरेर सवारी चलाउनु गम्भीर अपराध मानिन्छ, जसका लागि १ देखि ६ महिनासम्मको जेल सजाय, भारी जरिवाना र लाइसेन्स रद्द हुने व्यवस्था छ। पुराना मुद्दा र ठूलो ऋणका कारण जेल पुगेमा आफ्नो जीवन बर्बाद हुने डरले ‘सी’ ले आफू मरेको नाटक गर्ने षड्यन्त्र रचेका थिए।
उनले पहिले नै एउटा काठको बाकस (ताबुत) किनेर राखेका थिए। त्यसपछि घरमा औषधिका खाली बोटलहरू फैलाएर ‘ओभरडोज’ का कारण आत्महत्या गरेको जस्तो दृश्य बनाए। उनले आफ्नो श्वास रोकेर र शरीर चिसो बनाउने उपकरणको प्रयोग गरी आफूलाई मृत साबित गर्ने प्रयास गरे। अनुहार बिग्रिएको बहाना बनाउँदै उनको अनुहार कपडाले ढाकिएको थियो।
त्यसपछि उनकी आमा र हजुरआमाले हतार-हतारमा बाकसलाई जमिनमा गाडेर अन्तिम संस्कार पूरा गरे। उता ‘सी’ भने सुटुक्क भागेर चीनको दक्षिण-पश्चिम प्रान्त युन्नान पुगे र नयाँ पहिचान बनाएर कामको खोजी गर्न थाले। प्रहरीले घटनाको सूचना पाएर अनुसन्धान सुरु गर्दा शव गाडिसकिएको थियो। तर, प्रहरीलाई सुरुदेखि नै केही कुराहरूमा गम्भीर शङ्का लाग्यो ।
उनी बिरामी हुँदा वा ओभरडोज हुँदा परिवारले अस्पताल लैजाने कुनै प्रयास किन गरेनन् भन्ने कुरामा प्रहरीलाई शंका लाग्यो । यसबाहेक उनको मृत्यु हुनुअघि नै बाकस (ताबुत) खरिद गरिएको थियो, जुन निकै शंकास्पद थियो । उनको मृत्यु भएको भनिए पनि न अस्पतालको मृत्यु प्रमाणपत्र थियो, न त सरकारी अभिलेखमा मृत्यु दर्ता नै गराइएको थियो।
उनको मृत्यु भएको भनिए पनि गाउँले वा आफन्त कसैलाई पनि शवको अनुहार देखाइएको थिएन; केवल आमा र हजुरआमाले मात्र देखेका थिए। यी कुराहरूमा शंका लागेपछि प्रहरीले सीसीटीभी फुटेज, बैंक कारोबार र मोबाइल फोनको रेकर्ड सूक्ष्म रूपमा अध्ययन गरेपछि ‘सी’ जीवितै रहेको र फरार भएर लुकेको पुष्टि भयो। खोजतलास तीव्र पारेपछि प्रहरीले उनलाई युन्नानबाट पक्राउ गर्यो।
पक्राउ परेका ‘सी’ लाई अदालतले ५ महिनाको जेल सजाय र २० हजार युआन जरिवानाको फैसला सुनाएको छ। यसबाहेक, अपराधीलाई लुकाउन र कानुनलाई छल्न मद्दत गरेको अभियोगमा उनकी आमा र हजुरआमाविरुद्ध पनि आपराधिक अनुसन्धान सुरु गरिएको छ।
यो घटना सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। घटनाको अनुसन्धान गरिरहेका सरकारी अभियोजकले कानुन र सजाबाट बच्नका लागि गरिने यस्ता फर्जी नाटकहरू व्यर्थ हुने र यसले सजाय कम गर्नुको सट्टा थप नयाँ आपराधिक मुद्दाहरू निम्त्याउने चेतावनी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment