मौद्गल्य गोत्र: उत्पत्ति, रूपान्तरण र विकासक्रम

भूमिका गैरे तिमिल्सिना
९ साउन २०८३ ८:०६

आखिर के हो त गोत्र? सुन्दा आश्चर्य लाग्न सक्छ-कसरी एउटै गोत्रका मानिसहरूका विभिन्न थर हुन पुगे? एउटै थर वा गोत्रका मानिस भेटिँदा प्रायः सहजै भन्ने गरिन्छ, “हामी त एउटै गोत्रीय दाजुभाइ पो रहेछौँ।”

त्यो आत्मीयता, त्यो सामीप्यता र फरकपनले मनमा एक किसिमको कौतूहल सल्बलाउँछ। बुझ्न मन लाग्छ, सोधखोज सुरु हुन्छ र परिचयसँगै सम्बन्धमा बिस्तारै अङ्कुर पलाउन थाल्छ।

सुन्दा अनौठो लागे पनि जति पनि गोत्रहरू छन्, ती सबै प्राचीन ऋषिमुनिहरूका नाम हुन्। हाम्रो वंश परम्परा कुनै न कुनै ऋषिसँग जोडिएर आएको छ र हामी तिनै ऋषिका सन्तान हौँ। जसरी एउटै वृक्षका अनगिन्ती हाँगाबिँगा हुन्छन्, गोत्रलाई वृक्ष मान्ने हो भने थर त्यसका हाँगाहरू हुन्।

महर्षि मुद्गलका सन्तान मौद्गल्य गोत्रीय भए, कौडिन्य ऋषिका सन्तान कौडिन्य र वशिष्ठ ऋषिका सन्तान वशिष्ठ गोत्रीय भए। यसरी नै गोत्र परम्परा अघि बढेको देखिन्छ। हिन्दू परम्परामा वंश विस्तार गर्ने मूल ऋषिहरूका आधारमा गोत्र निर्धारण गरिएको छ।

धर्मशास्त्र र पुराणहरूका अनुसार मुख्यतः आठ मूल गोत्र छन् र प्रवरका आधारमा ४९ प्रकारका गोत्र रहेका छन्। प्रवर भन्नाले गोत्र चलाउने ऋषिपछिका अन्य ख्यातिप्राप्त ऋषिको नाम भन्ने बुझिन्छ।

मानव विकासको इतिहासमा पृथ्वीमा सर्वप्रथम मनु र शतरूपाबाट मानव जातिको विकास भएको मानिन्छ। त्यसपश्चात् मात्र ऋषि-महर्षिहरूको उत्पत्ति भएको इतिहास पाइन्छ। गोत्र भनेको मूल वंश हो, जसको विस्तार ऋषिहरूबाट भएको हो। विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप गरी सप्तऋषि तथा अगस्तिसमेतका सन्तानलाई मूल गोत्रका रूपमा सम्बोधन गरिन्छ।

वैदिक कालमा ऋषिमुनिहरूले आफ्ना सन्तानको पहिचानका लागि आफ्नो नामलाई संकेत शब्दका रूपमा प्रयोग गर्दथे, जसलाई गोत्र भनियो। गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन क्रमशः माथिबाट तलतिर अटुट रूपमा बढ्दै गएको हुन्छ।

जर्मन प्राच्यविद् म्याक्स मुलरका अनुसार गोत्र पद्धति प्राचीन कालमा परिवारहरूको वर्गीकरण र पहिचानका लागि बनाइएको प्रणाली हो। यजुर्वेद कालीन समयदेखि नै गोत्रको विभाजन प्रक्रिया स्पष्ट रूपमा सुरु भएको पाइन्छ। सुरुमा आठ गोत्र रहेकामा पछि सन्ततिहरू विभिन्न समूह वा ‘गण’ मा विभाजित हुँदै कालन्तरमा थर र गोत्रको व्यापक विस्तार भयो।

थरको नामाकरण मुख्यतः कार्यक्षेत्र, स्थानविशेष, पद, वा पेसाका आधारमा भएको हो। जस्तै: भण्डारमा काम गर्ने ‘भण्डारी’, अधिकारको प्रयोग गर्ने ‘अधिकारी’, निरौली खोला वरपर बस्ने ‘निरौला’, दुल्लुबाट हिँडेका ‘दुलाल’, र पौडीबाट हिँडेका ‘पौडेल’। त्यसैगरी पेसा वा पदका आधारमा ‘कार्की’, ‘अमात्य’, ‘आचार्य’ आदि थर बनेका हुन्।

मौद्गल्य गोत्र र यसको पौराणिक प्रसंग

मौद्गल्य गोत्र नेपाल, भारत तथा अन्य स्थानमा बस्ने हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख गोत्र हो। श्रीमद्भागवत अनुसार सूर्यवंशी राजा मुदगलका ५० भाइ छोराहरूमध्येका जेठा छोरा देवदासबाट मौद्गल्य वंश चलेको मानिन्छ।

मुदगलका जुम्ल्याहा सन्तान देवदास र अहिल्या थिए, जसमध्ये अहिल्याको विवाह ऋषि गौतमसँग भएको थियो। द्वापर युगका पाञ्चाल देशका राजा (द्रौपदीका पिता द्रुपद) पनि मौद्गल्य गोत्रीय रहेको वंशावलीमा उल्लेख छ। मौद्गल्य गोत्रको कात्यायन सूत्र, यजुर्वेद, र उपवेद धनुर्वेद हो।

महाभारतको कथा अनुसार पाँच पाण्डवहरू वनवासका क्रममा काम्यक वनमा बस्दा युधिष्ठिर चिन्तित थिए। सोही समयमा महामुनि वेदव्यासको आगमन भयो र उहाँले युधिष्ठिरको चिन्ता निवारण गर्न महर्षि मौद्गल्यको कथा सुनाउनुभयो।

कुरुक्षेत्रको वनमा बस्ने मौद्गल्य ऋषि अति नै त्यागी र ‘उञ्छवृत्ति’ (खेत वा बजारमा झरेका अन्नका दाना टिपेर जीवनयापन गर्ने) गरी बस्थे। महिनामा दुई पटक मात्र भोजन गर्ने र अतिथिलाई खुवाएर मात्र आफू खाने उहाँको तपस्याको परीक्षा लिन ऋषि दुर्वासा पुगेका थिए।

६ पटकसम्म दुर्वासाले सबै भोजन खाइदिँदा र गालीगलौज गर्दा पनि मौद्गल्य विचलित भएनन्। उहाँको सहनशीलता र निष्काम कर्मबाट प्रसन्न भई दुर्वासाले आशीर्वाद दिए भने स्वर्गबाट आएको विमानलाई समेत अस्वीकार गर्दै मौद्गल्य ऋषिले कठोर तपस्याबाट मोक्ष प्राप्त गरे।

भगवान् गणेशमा समर्पित प्रसिद्ध ग्रन्थ ‘मुद्गल पुराण’ ऋग्वेदका मन्त्रद्रष्टा महर्षि मुद्गलद्वारा नै रचित मानिन्छ, जसमा गणेशका आठ अवतारको आध्यात्मिक व्याख्या गरिएको छ।

मौद्गल्य गोत्रका थरहरू र तिमिल्सिना वंशको विकास

मौद्गल्य गोत्रअन्तर्गत कोइराला, तिमिल्सिना (तिमल्सिना, तिम्सिना, तिमल्सेना), उप्रेती, कुइँकेल, कालिकोटे थापा, न्युरे, बेलवासे, खनाल (मुडुला), लेकाली, सिङ्खडा, बगाले, भट्टाचार्य, चटर्जी, मुखर्जी लगायतका विभिन्न थरहरू पर्दछन्। यस गोत्रको प्रवर मौद्गल्य, आङ्गिरस, भार्ग्याश्व गरी त्रिप्रवर रहेको छ।

संस्कृतको “ग्रामज व्यपदेश” (गाउँ वा ठाउँको नामबाट पहिचान बन्ने) सिद्धान्त अनुसार अछाम जिल्लाको ‘तिमिल्सैन’ गाउँमा बसोवास सुरु गरेपछि ईश्वरदेव, विश्वदेव र वासुदेवका सन्ततिहरू ‘तिमिल्सिना’ भनेर चिनिन थाले। पछि यही शब्द उच्चारण र लेखाइका आधारमा तिमल्सिना, तिम्सिना, तिमल्सेना आदि रूपमा प्रयोग हुन थाल्यो।

वि.सं. १४४१ को ऐतिहासिक दस्तावेजमा ‘तिमिल्सिना’ शब्द उल्लेख भएको पाइन्छ। कोइराला वंशावली अनुसार लम्बोदर भट्टको १० औँ पुस्ताका श्रीकृष्ण दैलेखको ‘कोइलारी/कोइरालो’ मा बस्न थालेपछि उनका सन्ततिहरू ‘कोइराला’ कहलाए। यसरी हेर्दा भौगोलिक स्थानान्तरणका कारण तिमिल्सिनाकै एक शाखाका रूपमा कोइराला थरको विकास भएको पुष्टि हुन्छ।

निष्कर्ष

हिन्दू परम्परामा पितृ र गोत्र वंशवृक्षका मूल जरा हुन्। आफ्ना पूर्वज, कुल र गोत्रको पहिचानले मानिसलाई आफ्नो इतिहास र सभ्यतासँग जोड्छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा आ-आफ्नो वंश, कुल र जातीय पहिचान खोज्ने तथा संगठित हुने क्रम बढेको छ।

यसै सन्दर्भमा गैँडाकोट–४ मा मौद्गल्य गोत्रीय बन्धुहरू मिलेर “तिमिल्सिना बन्धु समाज” गठन गरी कुल मन्दिर निर्माण गरिएको छ। यस्ता कार्यले भावी पुस्तालाई कुलको मर्यादामा रहन, अग्रजको सम्मान गर्न र भाइचारा अभिवृद्धि गर्न मार्गदर्शन गर्दछ।

गोत्र र वंश परम्परा जति मजबुत हुन्छ, हाम्रो सामाजिक र सांस्कृतिक अस्तित्व पनि त्यति नै बलियो रहन्छ। तसर्थ, आफ्ना पूर्वज र रगतको नातासँग जोडिएको जातीय पहिचानको संरक्षण र सम्मान गर्नु हामी सबैको दायित्व हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *