भारतमा सीजेपीको नेतृत्वमा जारी विद्यार्थी आन्दोलन: सलमान, आलिया, कमल हसनदेखि अनुपम खेरसम्मका फिल्म स्टारहरूद्वारा ऐक्यबद्धता

डिसी नेपाल
७ साउन २०८३ १३:३१

काठमाडौं । भारतमा नीट-युजी २०२६ को प्रश्नपत्र लीक, नतिजा प्रकाशनमा भएका धाँधली र समग्र शैक्षिक प्रणाली सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले अहिले देशव्यापी रूप लिएको छ।

युवाहरूको सामाजिक तथा राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’ (सीजेपी) को ब्यानरमा दिल्लीको जन्तर मन्तरमा जारी यो विरोध प्रदर्शनमाथि जुलाई २० मा प्रहरीले लाठीचार्ज र अश्रुप्रोयग गरेपछि भारतीय फिल्म उद्योग (बलिउड र साउथ सिनेमा) का शीर्ष कलाकारहरू विद्यार्थीको पक्षमा उभिएका छन्।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा संरचनात्मक सुधारको माग गर्दै भइरहेको यस आन्दोलनमा लद्दाखका प्रसिद्ध वातावरणविद् तथा शिक्षाविद् सोनम वाङचुकले समेत आमरण अनशन सुरु गरेपछि प्रदर्शन झनै सशक्त बनेको छ।

नीट-युजी परीक्षामा भएको भनिएको धाँधलीविरुद्ध सामाजिक सञ्जाल अभियानकर्ता अभिजीत दिपकेले व्यङ्ग्यात्मक शैलीमा ‘ककरोच जनता पार्टी’ को स्थापना गरेका थिए। जुन महिनादेखि जन्तर मन्तरमा सुरु भएको यो धर्ना जुलाई २० मा ‘चलो संसद’ मार्चका क्रममा हिंसात्मक बनेपछि प्रहरीले विद्यार्थीहरूमाथि बल प्रयोग गरेको थियो।

यस घट्नापछि बलिउडका दिग्गज अभिनेता तथा अभिनेत्रीहरूले सामाजिक सञ्जाल र प्रत्यक्ष उपस्थिति मार्फत विद्यार्थीहरूप्रति ऐक्यबद्धता जनाएका छन्। बलिउडका सुपरस्टार सलमान खानले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै विद्यार्थीहरूको मागप्रति सहानुभूति व्यक्त गरेका छन् ।

उनले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिनु दुःखद भएको बताउँदै घाइते विद्यार्थी र उनीहरूका परिवारप्रति गहिरो संवेदना प्रकट गरेका छन् । प्रश्नपत्र लीक हुनु गम्भीर विषय भएको र देशका युवाहरू आफ्नो अधिकारका लागि एक ठाउँमा उभिनु प्रशंसायोग्य रहेको उल्लेख गर्दै सलमान खानले यो आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा पक्षले आफ्नो फाइदाका लागि हाइज्याक गर्न नहुने र यो विशुद्ध विद्यार्थी तथा शिक्षा प्रणाली बीचकै विषय रहनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी अभिनेत्री आलिया भट्टले पनि सामाजिक सञ्जालमा एउटा भावुक सन्देश साझा गर्दै सडकमा उत्रिएका प्रत्येक विद्यार्थीको पछाडि एउटा सपना र परिवारको आशा लुकेको बताएकी छिन् ।

विद्यार्थीहरूको साहस र सङ्कल्पले सिङ्गो देशलाई घच्घच्याएको उल्लेख गर्दै आलियाले देशको भविष्य निर्माण गर्ने युवाहरूको आवाज सरकार र समाजले सुन्नैपर्ने धारणा राख्नुभएको छ। उनले ‘भविष्य विद्यार्थीहरूकै हो’ भन्दै आन्दोलनकारी युवाहरूलाई हौसला प्रदान गरेकी छिन् ।

वरिष्ठ अभिनेता अनुपम खेरले विद्यार्थी आन्दोलनलाई समाजको सबैभन्दा इमानदार र निष्पट आवाजका रूपमा चित्रण गरेका छन्। उनले विद्यार्थीहरूको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पार्दै आन्दोलनमा बाह्य राजनीतिक व्यक्ति वा स्वार्थी समूहहरूको प्रवेश हुन नदिन विद्यार्थीहरूलाई विशेष सजग गराएका छन् ।

अनुपम खेरका अनुसार बाहिरी मानिसहरूले विद्यार्थीको आवाजलाई ठूलो बनाउनुको साटो आफ्नै राजनीतिक एजेण्डाका लागि प्रयोग गर्न सक्ने भएकाले आन्दोलनलाई विशुद्ध शैक्षिक सुधारमै सीमित राख्नुपर्छ।

दक्षिण भारतीय सिनेमाका दिग्गज अभिनेता तथा राजनीतिज्ञ कमल हसनले वर्तमान शिक्षा प्रणालीको कडा आलोचना गरेका छन् । उनले कोचिङ सेन्टरहरूले सिकाइलाई र चिन्ताले उत्सुकतालाई विस्थापित गरेको भन्दै विद्यार्थीहरूमाथि लाठी प्रहार गर्ने प्रणाली असफल भइसकेको टिप्पणी गरेका छन् । कमल हसनले अनशनरत सोनम वाङचुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तुरुन्त संवादमार्फत समस्या समाधान गर्न र विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न अपिल गरेका छन् ।

यस्तै, अभिनेता इमरान खानले प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारको तस्बिर शेयर गर्दै कडा आक्रोश व्यक्त गरेका छन् । मेहनत गर्ने विद्यार्थीहरूलाई प्रणालीले नै धोका दिएको उल्लेख गर्दै उनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको बल प्रयोगको भर्त्सना गरेका छन् ।

वरिष्ठ अभिनेता नसीरुद्दीन शाह, रत्ना पाठक शाह र सीमा पाहवाले पनि प्रहरीको बर्बरतामाथि प्रश्न उठाउँदै फिल्म उद्योगका अन्य सहकर्मीहरूलाई समेत यस्ता संवेदनशील विषयमा मौन नबस्न अपिल गरेका छन् ।

अभिनेता तथा गायक दिलजीत दोसाञ्जले इन्स्टाग्राममार्फत राज्य संयन्त्रले विद्यार्थीहरूसँग कठोर व्यवहार गर्न नहुने र उनीहरूका माग ध्यानपूर्वक सुन्नुपर्ने बताएका छण् । यस्तै, अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया देशमुखले संयुक्त बयान जारी गर्दै देशका युवाहरूको आवाज बिनाकुनै डर र स्पष्ट रूपमा सुनिनुपर्ने माग गरेका छन् । अभिनेत्री प्रीति जिन्टा, वीर दास, सोनु सूद, दिया मिर्जा र जोय हासिम लगायतका कलाकारहरूले पनि विद्यार्थीहरूसँग सहानुभूति राख्दै शान्तिपूर्ण संवादको पक्षमा वकालत गरेका छन् ।

फिल्म क्षेत्रका केही हस्तीहरू प्रत्यक्ष रूपमै जन्तर मन्तर पुगेर धर्नामा सहभागी भएका छन्। वरिष्ठ अभिनेत्री शबाना आजमी र अभिनेता प्रकाश राजले आन्दोलनस्थलमै पुगेर विद्यार्थीहरूलाई हौसला प्रदान गरेका छन् । प्रकाश राजले युवाहरू आफ्नो भविष्यका लागि लडिरहेको र यो अर्को स्वतन्त्रता सङ्ग्राम जस्तै भएको टिप्पणी गरेका छन् । यसैगरी अभिनेत्री हुमा कुरैशी र उनका भाइ साकिब सलीम मध्यराति जन्तर मन्तर पुगेर अनशनरत विद्यार्थीहरूसँग भेटघाट गरेका थिए ।

दक्षिण भारतीय सिनेमाका अन्य प्रभावशाली व्यक्तित्वहरूले पनि यो आन्दोलनलाई बलियो समर्थन दिएका छन्। तमिल अभिनेता तथा ‘टीभीके’ पार्टीका प्रमुख थलापति विजयले नीट परीक्षा प्रणालीलाई पूरै खारेज गर्न र पक्राउ परेका विद्यार्थीहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

तमिल निर्देशक पा रञ्जितले जेन्जी र विद्यार्थीहरूमाथिको सरकारी दमनको तीव्र भर्त्सना गरेका छन् । साथै, मलयालम सिनेमाका टोभिनो थोमस, पार्वती तिरुभोथु, बिस्मया मोहनलाल र कुञ्चाको बोबन लगायतका कलाकारहरूले पनि नयाँ दिल्लीमा भएको प्रहरी दमनको विरोध गर्दै विद्यार्थीहरूको प्रजातान्त्रिक अधिकारको रक्षा हुनुपर्नेमा जोड दिएका छन्।

भारतीय इतिहासमै पहिलो पटक ‘जेन्जी’ र ककरोच जनता पार्टी को ब्यानरमा भएको यो विशाल युवा आन्दोलनमा बलिउड र साउथका शीर्ष कलाकारहरू एकै ठाउँमा उभिएपछि आन्दोलनले अझ व्यापक रूप लिएको छ। सरकारका तर्फबाट निष्पक्ष अनुसन्धानको आश्वासन दिइए तापनि सीजेपी र आन्दोलनकारी विद्यार्थीहरूले भने शिक्षा मन्त्रीको राजीनामा र ठोस सुधारको कदम नचालिएसम्म प्रदर्शन जारी राख्ने अडान लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *