अनौठो प्राकृतिक चमत्कार: आइभीएफ बिना नै जन्मिए एउटै अण्डाबाट चार जुम्ल्याहा

डिसी नेपाल
७ साउन २०८३ १५:३८

काठमाडौं । अस्ट्रेलियामा एक महिलाले कुनै पनि मेडिकल प्रविधि वा आईभीएफको प्रयोग नगरी प्राकृतिक रूपमै उस्तै देखिने चार जना छोरीहरू (आइटएन्टिकल क्वाड्रुप्लेट्स) लाई जन्म दिएकी छन्। रोयल ब्रिसबेन एन्ड वुमेन्स अस्पतालका अनुसार यो गर्भावस्था अत्यधिक दुर्लभ, जोखिमपूर्ण र चिकित्सा विज्ञानकै अनौठो घटना हो।

गत जुलाई १४ मा २८ हप्ता चार दिनको गर्भावस्थापछि सिजरियन सेक्सन (शल्यक्रिया) मार्फत यी चार शिशुहरूको जन्म भएको हो। यी शिशुहरू ‘मोनोजाइगोटिक क्वाड्रुपलेट्स’ अर्थात् एउटै फर्टिलाइज्ड अण्डाणु चारवटा भ्रूणमा विभाजित भएर बनेका जुम्ल्याहा हुन्।

अस्पतालका अनुसार ३४ वर्षीया आमा जेनिटर ना’अमोआना र उनका पति जोर्थमका पहिले नै चार जना बच्चा थिए। सुरुमा जब चिकित्सकहरूले एकै पटक चारवटा शिशु गर्भमा रहेको जानकारी दिए, तब यो दम्पती स्तब्ध बनेको थियो।

गर्भावस्थाको सुरुदेखि नै हेरचाह गरिरहेकी मातृ-शिशु चिकित्सा विशेषज्ञ डा. अलेक्सा बेन्डालका अनुसार यस्ता एउटै अनुहार र स्वरूप भएका चार जुम्ल्याहा बालबालिकाको जन्म करिब १ करोड ५० लाख गर्भधारणमध्ये एक पटक मात्र हुने गर्छ। अझ यी चारै वटा शिशुहरूले एउटै पाठेघरको साल साझा गर्नु झनै दुर्लभ र अनौठो मानिन्छ।

अत्यधिक जोखिमका कारण अस्पतालले ना’अमोआनालाई २५ हप्ताको गर्भ छँदै भर्ना गरेर कडा निगरानीमा राखेको थियो। डा. बेन्डालले भनिन्, “हामीले २८ हप्तासम्म सुरक्षित पुर्याउन सके ठूलो सफलता हुने सोचेका थियौँ। २८ हप्ता ४ दिनमा चारै शिशुहरूको सुरक्षित र स्वस्थ जन्म हुनु साँच्चै चमत्कारिक थियो।”

नवजात छोरीहरूको नाम एमिली, ह्यारियट, क्याथरिन र अलेक्सा राखिएको छ। जसमध्ये एक शिशुको नाम उनको हेरचाहमा खटिएकी चिकित्सक डा. अलेक्सा बेन्डालकै नामबाट राखिएको हो। शिशुहरू पूर्ण रूपमा विकसित नभएसम्म उनीहरूलाई अस्पतालको नवजात गहन स्याहार एकाइ (एनआइसीयु) मा राखिनेछ र हाल उनीहरूको स्वास्थ्य अवस्था निकै राम्रो रहेको छ।

जेनिटरका १ देखि १० वर्ष उमेर समूहका पहिले नै चार जना छोराछोरी छन्। अब घरमा नयाँ चार छोरीहरूको आगमनसँगै परिवारको सदस्य सङ्ख्या १० पुगेपछि उनीहरूले कम्तीमा १० सिट क्षमता भएको भ्यान खरिद गर्न र शिशुहरूको पालनपोषणका लागि अनलाइन सहयोग अभियान सुरु गरेका छन्।

जेनिटरले सहयोग अपिल गर्दै लेखेकी छन्, “हाम्रा चार अनमोल छोरीहरू सुरक्षित रूपमा यो संसारमा आएका छन्। हाम्रो हृदय खुसीले भरिएको छ, तर एकै पटक चार नवजात शिशुहरूको स्याहार र व्यवस्थापनले हामीसामु कहिल्यै कल्पना नगरेको आर्थिक र व्यावहारिक चुनौती खडा गरिदिएको छ।”

उक्त अभियानमार्फत हालसम्म ८८ हजार डलर (करिब ९५ लाख नेपाली रुपियाँ) भन्दा बढी आर्थिक सहयोग जुटिसकेको छ। कुनै पनि चिकित्सा सहयोग बिना प्राकृतिक रूपमै एउटै स्वरूपका चार शिशु जन्मनुलाई विश्वभरका चिकित्सकहरूले अभूतपूर्व घट्नाका रूपमा हेरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *