अमूल्य जीवनका हर पलको सदुपयोग जरुरी
मानिस जन्मन्छ र एक दिन मर्छ पनि; यो ध्रुवसत्य हो। तर यस दौरान उसले गर्ने काम उसको, उसको परिवारको, समाजको, राष्ट्रको र पुरै विश्वका निम्ति निकै महत्वपूर्ण हुन सक्छ।
तर यसरी केही योगदान र छाप छोडेर जाने मानिस विश्वमा विरलै मात्र हुन्छन्। त्यसैले अधिकांश मनुष्यलाई केही समय मात्र समाजले सम्झन्छ र तीमध्ये केहीलाई भने निकै लामो समयसम्म पनि सम्झने गर्दछ।
आधुनिक युगको नै कुरा गर्दा महात्मा गान्धी र नेल्सन मण्डेलाले नयाँ युगका लागि निकै योगदान गरेकाले उनीहरू विश्वभर उदाहरणीय महान् व्यक्तिका रूपमा चिनिने गरेका छन्। सायद उनीहरू अबका एक हजार वर्षसम्म पनि चिनिइनै रहनेछन् होला।
विभिन्न कुराको आविष्कार गर्ने अल्बर्ट आइन्स्टाइन र स्टिफन हकिङ्स जस्ता महान् वैज्ञानिकहरूलाई पनि मानवजातिले निकै लामो समयसम्म सम्झनेछन्। त्यस्तै विभिन्न मुलुकका असल राष्ट्राध्यक्ष, साहित्यकार, दार्शनिक, कलाकार तथा अन्य विधाका प्रख्यात व्यक्तिहरूलाई पनि समाज, राष्ट्र र विश्वले निकै पछिसम्म पनि सम्झिरहन्छ।
असल मानिसहरू मात्र होइन, ज्यादै खराब र मानव सभ्यताका लागि घातक व्यक्तिहरूलाई पनि मानिसहरू घृणाकै दृष्टिले भए पनि पछिसम्म नै सम्झने गर्दछन्। यी सबै थरीका मनुष्यहरूबाट मानवजातिले केही न केही सिक्ने मौका पाउँछ। तर राम्रो-नराम्रो कुनै ठोस काम नगर्ने र आफ्नो लागि मात्र बाँच्ने स्वार्थी र निरस आत्माहरू भने यो संसारमा आएको र यहाँबाट बिदा भएको थाहा समेत हुँदैन।
प्राचीन र मध्यकालका असल र खराब मानिसहरूलाई आजसम्म पनि इतिहासमा स्थान मिलेको छ। त्यस्तै विभिन्न धर्मका मसिहाहरू जस्तै येशू ख्रीष्ट, हजरत मोहम्मद, गुरु गोविन्द सिंह, वाल्मीकि, वेदव्यास तथा शान्तिका अग्रदूत गौतम बुद्ध आदिलाई पनि मानिसहरूले उनीहरुकै समयदेखि पुज्दै आएका छन्।
आफ्नो धर्म र धर्मका प्रवद्र्धकहरू नै उत्तम व्यक्ति हुन् भनेर एकापसमा लडाइँ र झगडा गर्ने तथा धर्म प्रचार गर्ने काममा रुमल्लिएर समय बर्बाद गर्नेहरूको पनि कमी छैन समाजमा।
हिटलर जस्ता क्रूर मानवबाट प्रताडित भएका जाति पनि आज अरू जातिलाई त्यस्तै क्रूरताका साथ सफाया गर्ने खेलमा लागेका छन् भने केही नवकुबेर राष्ट्रका आधुनिक हिटलरहरूको पनि त्यस्तै चाला र अहंकर हाबी छ। पशुबाट सभ्य मानिस बनेको हाम्रो मगजको अर्धचेतन मन (सबकन्सस माइन्ड) भित्र आज पनि पाश्विक हर्कत गर्ने पशुवत् व्यवहार सुप्त रूपमा लुकेर बसेको हुन्छ।
विभिन्न प्रकारका आवेग र मनोविकार जस्तै अहङ्कार, क्रोध, डाह, हिनताबोध, लोभ-लालच आदिले गर्दा त्यस्ता पाश्विक व्यवहारहरू सतहमा उत्रेर हामी ज्यादै क्रूर अपराध गर्न तल्लीन हुने गर्दछौँ। यस्तो कुकार्यले पनि वास्तवमा असल काम गर्ने समयलाई खेर फाल्न सघाइरहेको हुन्छ।
आजको विश्वमा लोकतन्त्रलाई सबैभन्दा उत्तम शासन व्यवस्थाका रूपमा मानिन्छ। तर निकै कम मुलुकमा मात्र यो व्यवस्थाको सही मानेमा पालना भएको छ। नत्र लोकतन्त्रको अफिम खुवाएर नेताहरूले जनतालाई झुक्याउने र पछिसम्म जिल्याउने काम अधिकांश मुलुकहरूमा हुने गरेको छ।
सबै यस्ता मुलुकमा नेताहरूका झोले कार्यकर्ता हुँदा रहेछन्। नेता र दलकै पूजा गरेर अस्तित्व बनाउन सफल पत्रकार, वकिल, कर्मचारी र व्यवसायीहरू पनि समाजमा प्रशस्त भेटिन्छन्। नेताहरूको पछि लागेर द्रव्य कमाउने लालसाले गर्दा जीवनभरको अमूल्य समय बर्बाद गरेर झोलेवादमा अल्झिरहने करोडौँ मानिसहरू छन्।
पढ्नु न गुन्नुका पाखण्डीहरूलाई महान् नेता मानेर पछि लाग्ने चलन विकासोन्मुख मुलुकमा अझ बढी छ भने लोकतन्त्रकै बुइ चढेर सत्तामा पुग्दै विश्वलाई नै खतरामा पुर्याउने उन्नत राष्ट्रका पाखण्डी शासक पनि आज हामीले देखिरहेका छौँ। आर्थिक विकासको नारा लगाएर जनतालाई झुक्याउँदै मुलुकलाई झनै पछाडि धकेल्ने देशद्रोही र भ्रष्ट तत्व पनि निकै भेटिन्छन्।
दक्षिण एसिया र अन्य धेरै मुलुकमा आर्थिक अभाव, मनोगत खिन्नता, हतोत्साह जस्ता मनोरोगबाट पीडित मानिसहरूको निराशा र नकारात्मकताको फाइदा उठाएर धेरै प्रकारका बाबा वा धर्मगुरुहरूले त्यस्ता लाखौँ मानिसहरूलाई आफूतिर आकर्षित गर्ने गर्दछन् र ती मानिसहरूलाई ठग्ने, तिनको मनलाई अझ विकृत बनाउने तथा तिनको अमूल्य समयलाई बर्बाद गरिदिने काम गर्दछन्। निकै पछि मात्र मानिसहरूले त्यस्ता फटाहा गुरुहरूको वास्तविकता थाहा पाएर तिनको पछि लाग्न छोड्छन्, तर त्यतिबेलासम्म समय निकै गुज्रिसकेको हुन्छ।
युवावस्थामा नै धेरै मानिसहरू लागूऔषध, मदिरा, जुवा, यौनक्रीडा आदिका दुर्व्यसनी हुन पुग्दछन्। त्यस्ता धेरै मानिसहरूको सानै उमेरमा मृत्यु पनि हुन सक्छ भने कतिपयलाई राज्यले थुनामा राख्न सक्छ।
त्यस्तै कतिपयले त्यस्तो कुकार्य निकै पछिसम्म पनि जारी राखेर आफ्नो र परिवारको भविष्य नै दाउमा राख्ने गर्दछन्। यीमध्ये निकै कम मानिसमा पछि विवेक पलाएर आउँछ, तर समय निकै बितिसकेको हुने भएकाले जीवनमा केही राम्रो काम गर्न ढिलो भइसकेको हुन्छ।
हामी साना छँदा जब जीवन र मृत्युबारे बुझ्ने भयौँ, त्यतिबेला एकदिन मर्नुपर्छ र आफ्नो प्यारा शरीरलाई आगोमा जलाउँछन् वा गाड्छन् भन्ने कुरा सम्झँदा निकै डर लाग्दथ्यो। तर त्यस्तो अवस्था आउन अझै ६०-७० वर्ष लाग्छ भन्ने कुरा मनमा आउँदा भने त्यो दिन कहिल्यै आउँदैन जस्तो लाग्थ्यो।
तर हेर्दाहेर्दै समय बितेको पत्तै नपाई आज हाम्रो जीवन निकै कम मात्र बाँकी भएको कुरा थाहा पाउँदा कहाली लागेर आउँछ। कतिपय हाम्रा उमेरका साथीहरू छिटै परलोक प्रस्थान गरिसके। विभिन्न रोगव्याधि, दुर्घटना तथा हत्या र आत्महत्या समेतका कारण मानिसको जीवन अल्पायुमा नै सकिन सक्छ।
आजभन्दा केही दशक अघिसम्म पनि मानिसहरू ४५-५० वर्षका भएपछि बुढा भए भन्ने मानिन्थ्यो भने आज आएर त्यो सोचमा व्यापक परिवर्तन भएको छ। आज ७०-८० वर्ष पुगिसकेका कतिपय मानिसहरू हट्टाकट्टा भएर नै हिँडिरहेका हुन्छन्।
तर कमैले मात्र जीवनमा सबै कुरा गरेँ भनेर सन्तुष्ट भएको हामी पाउँछौँ। नत्र खाने, मोज गर्ने, घुम्ने, धन कमाउने धुनमा हिँड्नमा नै मानिसले समय व्यतीत गरिरहेका हुन्छन्। समय बितिसकेपछि र स्वास्थ्य कमजोर भएपछि कमाएको धनको पनि कुनै महत्त्व हुँदैन भन्ने कुराको हेक्का सुरुमा हुँदैन।
बुज्रुकहरू ६० वर्षपछिको आयु बोनसमा पाइएको हो भन्छन्। तर डाक्टरहरू आजको चिकित्सा विज्ञानको निकै विकास भएको बेलामा राम्रो औषधोपचार, आहार र विहार तथा शारीरिक तथा मानसिक तवरले स्वस्थ रहन सक्ने अवस्था भएमा ८०-९० वर्षसम्म पनि निकै तन्दुरुस्तीका साथ जिउन सकिन्छ भन्छन्।
हिजोआज जुनसुकै खानामा पनि विषादी पाइने भएकाले खानपानबाट पनि स्वस्थ रहने अवस्था भने छैन। नजानिँदो तवरले थाहै नपाई चरम विषादीको सेवन गरिने भएकाले पनि विभिन्न प्रकारका घातक रोगहरूको सिकार हुन थालेका छन् मानिसहरू।
आज हामी पनि ६० वर्षको हाराहारीमा हिँडिरहेका छौँ, तर शरीर एकदम कमजोर भएको वा बुढो भएको कुनै कोणबाट पनि मनमा लागेको छैन। विभिन्न प्रकारका रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, बोसे कलेजो आदिले यो उमेर समूहका अधिकांश मानिसलाई छोइसकेको हुने भए तापनि औषधि र नियमित डाक्टरी परामर्श तथा खानामा पथपरहेज, औषधिको सेवन र नियमित कसरतले मानिस स्वस्थ नै रहने गर्दछ।
म निकै सानो छँदा घरका सबै सदस्यले बच्चा भनेर खुब माया गर्दथे। दाजुहरू तथा दिदी स्कुल जानुपर्ने भएकाले घरमा पनि लेखपढमा व्यस्त हुन्थे भने म सानै भएकाले कुनै प्रकारको पनि चिन्ता थिएन। चिन्ता थियो त केवल चकलेट खान र आमासँग रिक्सा चढेर मामाघर जान नपाइएला कि भन्ने मात्र।
सधैँ यस्तै हाइसञ्चोको जीवन हुनेछ जस्तो लाग्ने। मानिसको जीवनमा जन्मेदेखि स्कुल जाने उमेर नपुगुञ्जेलसम्म मात्र कुनै प्रकारको दुःख हुँदैन रहेछ। स्कुल जाने उमेर पुगेदेखि बुढो भएर नमरुञ्जेलसम्म नै मानिस विभिन्न प्रकारको तनावमा पर्दो रहेछ।
स्कुल र घरबाहिरको वातावरणमा साथीभाइको सङ्गतले म कैयौँ कुरामा बिग्रँदै गएको थिएँ भने कतिपय राम्रा कुरा पनि सिक्ने मौका पाएको थिएँ। कलेजमा अध्ययन गर्दा विद्यार्थी राजनीतिको कारण नेपालका कलेजमा बिरलै पढाइ हुने हुँदा विभिन्न विकृत कुराहरू सिक्न र व्यवहारमा ल्याउन मैले पनि सिकेँ।
रक्सी पिउने, झगडा गर्ने जस्ता अनेकन नराम्रा कुरा कलिलै उमेरमा सिकेँ। त्यस्तै गीत-सङ्गीत र खेलकुद क्षेत्रमा लाग्ने, पत्रकारिताको क्षेत्रमा काम गर्ने, मानव अधिकार र निर्वाचन पर्यवेक्षणको क्षेत्रमा काम गर्ने, विभिन्न सभा र गोष्ठीमा भाग लिने र जुलुस, आन्दोलनमा भाग लिँदै जेल पर्ने कामसम्म पनि गर्न भ्याएँ। पछि फेरि दातृ संस्थाका नेपालमा रहेका कार्यालय र निजी क्षेत्रमा काम गरेर अनुभव बटुल्ने काम पनि गर्न पाएँ।
झन्डै ३५ वर्षसम्म नेपालको निजी क्षेत्र र विकासे आयोजनामा काम गर्न र अनुभव बटुल्न पाइयो। निजी क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारीलाई घर, सवारी साधन र अन्य प्रकारका कर्जा र सुविधारूपी अफिम खुवाएर दास नै बनाएर पेल्ने र मालिकले भने बमोजिम राम्रो-नराम्रो सबै गर्नुपर्ने चरम बाध्यता पर्न जान्छ।
बिस्तारै निकै शिक्षित कर्मचारी पनि पढेलेखेका वा अनपढ मालिकका दास हुन पुग्छन् र तिनको सोचको दायरा नै निकै सानो हुन जान्छ। दासताको मुख्य कारण नै द्रव्य संकलन र भौतिक रूपले सुखद जीवनको लालसा हुन जान्छ। कुनै-कुनै निजी क्षेत्रका संस्था भने निकै उदार तथा असल पनि हुन्छन्। यस्तै दासतामा मेरो पनि लामो समय राम्रो-नराम्रो सबै किसिमको अनुभवसहित व्यतीत भयो।
विकासे आयोजनाहरूमा काम गर्दाका पनि आफ्नै प्रकारका अनुभव रहे। त्यस्ता आयोजना कुनै न कुनै सरकारी निकायको मातहतमा हुने भएकाले पारिश्रमिक ज्यादै आकर्षक भए पनि अस्थायी प्रकारको जागिर र सरकारी कर्मचारीतन्त्रमा जकडिने खालको।
त्यसैले पनि जागिरे जीवनमा दासता जताततै भेटिने रहेछ, तर त्यसलाई समेत स्वीकार गर्दै के-कति हदसम्म दास बन्ने र जीवनलाई सार्थक बनाउनका निम्ति समयको व्यवस्थापन के कसरी गर्ने भन्ने कुरा सिक्नुपर्ने रहेछ।
मेरो जीवनमा मातापिता, एक दाजु, भिनाजु र अर्धाङ्गिनीको मृत्युको वियोग सहनेदेखि इमानदारीपूर्वक निभाएको जागिरे कर्तव्यबाट पनि निकै षड्यन्त्रपूर्वक च्युत हुने कटु अनुभव प्राप्त गर्न पुगेँ। तर पनि म थाकिनँ र हारिनँ। नहडबडाई निरन्तर अघि बढिरहेँ।
जागिरे जीवन र आफ्ना बेकुफीपूर्ण कामका कारण अर्थात् जीवनमा जानेर वा नजानेर बर्बाद गरेको समयको क्षतिपूर्ति गर्न जीवनको गोरेटोलाई पुरै ‘यु-टर्न’ गरेर ठिक बाटो समाउने प्रयत्न गरिरहेँ। हाल अवकाशपूर्ण जीवनमा घोटिएर अध्ययन, नियमित लेखन, संगीत सिर्जना र गायन तथा विभिन्न प्रकारका समाजसेवा र अन्य रचनात्मक कार्यमा लागिरहेको छु। थाहा छैन मेरो यु-टर्नले ठिक बाटो समायो कि अझै बाटो बिराएको छ भन्ने कुरा।
मैले बाँकी जीवनमा गर्नुपर्ने काम निकै धेरै छ। मलाई बेलाबेलामा डर लाग्छ- कतै ठूलै रोगव्याधि वा दुर्घटनामा परेर अकाल मृत्यु भई मैले गर्न बाँकी भनेर सोचेका काम गर्न नपाउँला कि भन्ने! कमसेकम पनि अबको २० वर्ष मैले विगतमा बर्बाद गरेको समयमा गर्न नपाएका सिर्जनात्मक काम सक्न लाग्ला जस्तो लाग्छ। त्यसपछि मात्र केही समय आनन्दले फुर्सदको पल बिताउँदै सुस्ताएर यो धर्ती छोड्न पाए हुने। तर आफूले चिताएको जस्तो कहाँ हुन्छ र!
जे होस्, संस्कारी बाबुआमाले असल संस्कार सिकाएकाले आफूले पनि आफ्ना सन्ततिलाई असलै संस्कार दिन सकेको जस्तो लाग्छ मलाई। मैले युवावस्थाको निकै अमुल्य समय बर्बाद गरेको भए पनि मेरा छोराछोरीले समयको सदुपयोगका साथ निकै मेहनत गरेको देख्दा खुसी महसुस हुन्छ।
सायद बाबुको विगतका कमी-कमजोरी र पछिल्लो समयको सार्थक यु-टर्न एवं मेहनत देखेकाले, आमालाई कलिलै उमेरमा गुमाउनु परेकाले तथा विद्वान् बाजेको जीवनशैलीबाट प्रभावित भएर पनि हुन सक्छ उनीहरूमा छिटै परिपक्वता, बुद्धिमत्ता र लगनशीलता छाएको।
मानवरूपी यो जुनी निकै महत्त्वपूर्ण छ। अर्को जुनी पनि बाँचिनेछ भन्ने कुरामा मलाई विश्वास छैन। आजसम्मको वैज्ञानिक खोजले आकाशमा र ब्रह्माण्डमा त्यतिका तारा र ग्रह देखे पनि कतै पनि जीवन वा त्यसका निम्ति आवश्यक वातावरण भेटेको छैन।
आज अन्तरिक्ष र वैज्ञानिक खोजको ज्यादै सूक्ष्म चरण मात्र मनुष्यले पार गरेको छ। पछि-पछि हामी जस्तै जीवहरू भएका अन्य ग्रह वा पिण्ड पनि भेटिन्छन् होला।
आफ्नो यो अमूल्य जीवनको सदुपयोग गरेर जीवनमा केही न केही सार्थक काम गर्नुका साथै बटुलेको अनुभवबाट आउँदा पिँढी र यो विश्वको हितका निम्ति आफ्नो स्तरको योगदान पुर्याएर जीवनसँग पूर्ण सन्तुष्ट हुँदै प्राण त्याग्न पाउनु नै जीवनको अजर-अमर सार्थकता हुन जान्छ।
आजका सबै युवाहरूमा समयको सदुपयोग गरेर आफ्नो तथा समाज, मुलुक र सबै प्राणी एवं निर्जीव वस्तुको समेत हितमा काम गर्ने बानी बसोस्।
(लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।)
No ads found for this position



Facebook Comment