एलन मस्कको सम्पत्तिमा भारी गिरावट
काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको प्रमुख कम्पनीहरू ‘टेस्ला’ र ‘स्पेसएक्स’को शेयर मूल्यमा आएको ठूलो गिरावटसँगै उनको कुल सम्पत्तिमा भारी कमी आएको छ। हालै सार्वजनिक वित्तीय विवरण र विश्वव्यापी प्रविधि शेयरको गिरावटका कारण मस्कको व्यक्तिगत सम्पत्तिमा केही साता यता तीव्र उतारचढाव देखिएको हो।
मस्कको विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमा नाफा घटेको र आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोट्याक्सी प्रविधिमा ठूलो रकम लगानी गर्दा ‘फ्री क्यास फ्लो’मा नकारात्मक असर परेको देखिएपछि शेयरधनीहरू चिन्तित बनेका छन्। जसका कारण टेस्लाको शेयर मूल्यमा करिब १४ प्रतिशतसम्मको गिरावट आएको छ।
त्यसैगरी, सन् २०२६ जुनमा इतिहासकै ठूलो आईपीओ जारी गरी अमेरिकी शेयर बजारमा सूचीकृत भएको मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको शेयरमा पनि पछिल्लो समय दबाब सिर्जना भएको छ। आईपीओ जारी लगत्तै प्रतिशेयर उच्च विन्दुमा पुगेको स्पेसएक्सको मूल्य, ‘स्टारसिप’ को पछिल्लो परीक्षणमा आएको प्राविधिक अवरोध र प्रविधि क्षेत्रमा आएको मन्दीका कारण करिब २५ देखि ३० प्रतिशतसम्म घटेको छ।
स्पेसएक्सको सफल आईपीओपछि एलोन मस्कको नेट वर्थ १.४५ ट्रिलियन डलरसम्म पुग्दै उनी इतिहासकै पहिलो ‘ट्रिलियनेयर’ बनेका थिए। तर, दुवै कम्पनीका शेयरमा आएको हालैको गिरावटले उनको सम्पत्ति घट्न पुगेको छ। यद्यपि, सम्पत्तिमा गिरावट आएता पनि गुगलका सह-संस्थापक ल्यारी पेजभन्दा मस्क अझै धेरै अगाडि रहँदै विश्वकै शीर्ष धनी व्यक्तिको स्थानमा सुरक्षित रहेका छन्।
स्पेसएक्सको शेयर अमेरिकी शेयरबजारमा सूचीकृत भएर कारोबार हुन थालेपछि जुन महिनाको मध्यमा मस्कको नेट वर्थ १.४५ ट्रिलियन डलरसम्म पुगेको थियो । तर त्यसको एक महिनामै हिजोको कारोबार समय सकिँदा उनको सम्पत्ति ७४४ अर्ब डलरमा झरेको छ । यो उनको सम्पत्तिमा १ महिनामा आधा भएको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment