हिमाचल प्रदेशमा पहिरोमा जिप पुरिँदा १३ जनाको मृत्यु
शिमला । भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल-स्पिती जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा गएको पहिरोमा परी जिपमा सवार १३ जनाको मृत्यु भएको छ।
उदयपुर-किलाड सडकखण्डमा कडु नाला नजिकै कुल्लुबाट पांगी जाँदै गरेको टाटा सुमो जिपमाथि शुक्रबार अचानक पहिरो खसेको थियो। लाहौल-स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले दुर्घटनामा १३ जनाको घटनास्थलमै ज्यान गएको पुष्टि गरेकी छन्।
घटनाप्रति गहिरो शोक व्यक्त गर्दै हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले यस कठिन घडीमा शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। भगवानले दिवंगत आत्मालाई शान्ति र परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ मुख्यमन्त्री सिंहले स्थानीय प्रशासन तथा लाहौल-स्पितीका अधिकारीहरूलाई घाइतेहरूको उद्धार र उचित उपचारका लागि तत्काल कडा प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। उक्त दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment