प्रश्नपत्र चुहावट प्रकरण : पट्नामा प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरी हस्तक्षेप

डिसी नेपाल
९ साउन २०८३ १५:११

काठमाडौं। भारतको बिहार राज्यको राजधानी पट्नामा भारतको चिकित्सा शिक्षामा भर्नाका लागि सञ्चालन हुने राष्ट्रिय प्रवेश परीक्षा (निट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षा मन्त्रालयको जवाफदेहिता माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शन उग्र हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनका क्रममा केही समय अफरातफरीको अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको तथा भीड नियन्त्रणका लागि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर सोधपुछका लागि लगेको जनाएको छ। घटनास्थलमा सञ्चारमाध्यमका प्रतिनिधिहरूले प्रत्यक्ष प्रसारणमार्फत प्रदर्शनको गतिविधि सार्वजनिक गरेका थिए।

निट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतका विभिन्न राज्यमा विद्यार्थी र अभिभावकले परीक्षा प्रणालीको निष्पक्षता तथा पारदर्शितामाथि प्रश्न उठाउँदै आएका छन्। पछिल्लो प्रदर्शन पनि सोही प्रकरणको विरोधस्वरूप आयोजना गरिएको बताइएको छ। एएनआई


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *