जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार: शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
नयाँदिल्ली। राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ।
विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक विरोधस्थल जन्तर-मन्तरमा ‘कक्रोच जनता पार्टी’ को ब्यानरमा सञ्चालित सशक्त आन्दोलन र देशभर फैलिएको विद्यार्थी विरोधको राप सहन नसकेपछि शिक्षामन्त्री प्रधानले राजीनामा बुझाएका हुन्।
विपक्षी भारतीय राष्ट्रिय कांग्रेससहितका विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन र नागरिक समाजले समेत मन्त्री प्रधानलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आन्दोलनलाई चौतर्फी साथ दिएका थिए।
राजीनामामा के छ?
चौतर्फी दबाबका बीच शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत आफ्नो राजीनामाको घोषणा गरेका छन्। आन्दोलनकारीको मागसामु आत्मसमर्पण गर्दै उनले लेखेका छन्:
“जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु।”
के हो ‘कक्रोच’ आन्दोलन?
पछिल्लो समय भारतमा चर्किएको नीट परीक्षा धाँधली र प्रश्नपत्र लिक प्रकरणलाई लिएर युवाहरूले सिर्जना गरेको अनौठो तर सशक्त ‘कक्रोच जनता पार्टी’ को आन्दोलनले मोदी सरकारलाई ठूलो राजनीतिक दबाबमा पारेको थियो। दिल्लीको जन्तर-मन्तरमा हजारौँ विद्यार्थीहरू सडकमा उत्रिएर शिक्षामन्त्रीको राजीनामालाई नै आफ्नो मुख्य सर्त बनाएका थिए।
प्रशासनले प्रहरी बल र धरपकड प्रयोग गरेर आन्दोलन दबाउने प्रयास गरे तापनि युवाहरूको ऐक्यबद्धता र देशव्यापी जनसमर्थनका अगाडि अन्ततः मोदी सरकार लचक बन्न र शिक्षामन्त्रीको बलि दिन बाध्य भएको विश्लेषण गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment