टर्कीमा पोशाकका कारण गभर्नर पदमुक्त: साइकलिङको विशेष पोशाक लगाएपछि विवाद
काठमाडौं । के एउटा सरकारी उच्च अधिकारीले लगाएको पोशाककै कारण आफ्नो जागिर वा पद गुमाउनुपर्ला? टर्की मा यस्तै एउटा अनौठो र चकित पार्ने घटना सार्वजनिक भएको छ।
टर्कीको एक प्रान्तका गभर्नरले सार्वजनिक साइकलिङ कार्यक्रममा व्यावसायिक खेलाडीहरूले लगाउने पोशाक लगाएको विषयलाई लिएर सुरु भएको विवादका कारण उनलाई पदबाट बर्खास्त गरिएको छ। यद्यपि, उनको पक्षमा उभिँदै हजारौँ स्थानीय नागरिकहरूले उनलाई पुनः गभर्नर बनाउन माग गरिरहेका छन्।
यो घटना टर्कीको पूर्वी भागमा रहेको अर्दाहान प्रान्तको हो। त्यहाँका गभर्नर मेहमेत फातिह सिसकली खेलकुद र फिटनेसलाई प्रवर्द्धन गर्न रुचाउने प्रशासकका रूपमा चिनिन्थे। साइकलिङका सौखिन उनी अक्सर सर्वसाधारणलाई पनि स्वस्थ रहन प्रेरित गर्दथे।
केही दिनअघि अर्दाहानमा आयोजित सार्वजनिक साइकलिङ कार्यक्रममा गभर्नर सिसकली व्यावसायिक साइकल चालकहरूले लगाउने टाइट साइकलिङ प्यान्ट र स्पोर्ट्स जर्सी लगाएर सहभागी भएका थिए। कार्यक्रम सकिएपछि उनले उक्त तस्वीरहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादको बीजारोपण भएको थियो।
तस्वीरहरू भाइरल भएसँगै केही राजनीतिक नेताहरूले गभर्नरको पोशाकमाथि प्रश्न उठाउन थाले। एक गभर्नरले सार्वजनिक कार्यक्रममा यस्तो पोशाक लगाउनु पदको गरिमा अनुकूल नभएको र परम्परागत समाजको भावनामा ठेस पुगेको तर्क कतिपयले गरे।
सत्तारूढ तथा विपक्षी दलका केही नेताहरूले गभर्नरले प्रशासनिक कामभन्दा सामाजिक सञ्जालमा बढी ध्यान दिएको र साइकल चलाउन ट्र्याक प्यान्ट जस्ता अन्य विकल्प प्रयोग गर्न सकिने धारणा राखेका थिए।
विवाद बढ्दै गएपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानको हस्ताक्षरयुक्त आदेशमार्फत मेहमेत फातिह सिसकलीलाई गभर्नर पदबाट हटाइयो। सरकारले औपचारिक रूपमा पदमुक्त गर्नुको कारण नखुलाए पनि स्थानीय सञ्चारमाध्यमहरूले भाइरल तस्वीरपछिको विवाद नै यसको मुख्य कारण भएको बताएका छन्।
पदमुक्त भएपछि प्रतिक्रिया दिँदै सिसकलीले आफूले विश्वभरका खेलाडीहरूले लगाउने सामान्य खेल पोशाक मात्र लगाएको र यसमा कुनै गल्ती नरहेको बताएका छन्। वर्षौँदेखि रोइङ र साइकलिङमा आबद्ध उनले खेलकुदको पोशाकलाई राजनीतिक विवादको विषय बनाउन नहुने स्पष्ट पारे।
गभर्नरको बर्खास्तीपछि उनको समर्थनमा स्थानीय जनता व्यापक रूपमा सडक र अनलाइनमा उत्रिएका छन्। उनलाई पुनर्बहाली गर्न माग गर्दै चलाइएको अनलाइन अभियानमा १० हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेका छन्।
सिसकलीले क्षेत्रमा युवाहरूलाई खेलकुदमा जोड्नुका साथै साइकल पर्यटन र धेरै विकास निर्माणका कामहरू गराएको भन्दै पोशाककै आधारमा पदमुक्त गरिनु अन्यायपूर्ण रहेको सर्वसाधारणको भनाइ छ।
सिसकली अर्दाहान प्रान्त छोडेर जाने क्रममा ठूलो सङ्ख्यामा स्थानीय साइकल चालकहरूले आफ्नो साइकलमा उनको गाडीलाई पछ्याउँदै भव्य बिदाइ गरेका थिए। बिदाइका क्रममा उनले इमानदारीपूर्वक काम गर्नु र जनताको विश्वास जित्नु नै आफ्नो सबैभन्दा ठूलो कमाई भएको बताए। यस घटनापछि टर्कीमा कुनै पनि सरकारी अधिकारीको मूल्याङ्कन उसको कामबाट गरिनुपर्छ कि उसले लगाउने पोशाकबाट भन्नेबारे नयाँ बहस सुरु भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment