अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजक करिम खान बर्खास्त

डिसी नेपाल
१० साउन २०८३ १२:२६

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) का मुख्य अभियोजक करिम खानलाई यौन उत्पीडनको आरोपमा पदबाट हटाइएको छ। शुक्रबार बसेको आईसीसीका सदस्य राष्ट्रहरूको सभाले मतदानमार्फत खानलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यसैबीच, करिम खानको कानूनी टोलीले भने यो निर्णयलाई विशुद्ध राजनीतिप्रेरित भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेको छ। टोलीका अनुसार स्वतन्त्र छानबिन समितिले खानविरुद्ध यौन दुर्व्यवहारको कुनै ठोस वा अकाट्य प्रमाण फेला नपारेको र उनलाई आफ्नो स्पष्टीकरण पेस गर्ने पर्याप्त तथा निष्पक्ष मौकासमेत नदिई हटाउने निर्णय गरिएको छ।

ब्रिटिस मूलका वकील करिम खान सन् २०२४ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतनयाहु र तत्कालीन रक्षा मन्त्री योआभ ग्यालेन्टविरुद्ध गाजा युद्ध अपराधलाई लिएर पक्राउ पुर्जी जारी गरेपछि विश्वभर चर्चामा आएका थिए।

उक्त कदमपछि अमेरिकाले करिम खान र आईसीसीका अन्य वरिष्ठ अधिकारीहरूमाथि कडा आर्थिक तथा यात्रा प्रतिबन्धहरू लगाएको थियो।

यस वर्ष (२०२६) को जुन महिनामा आईसीसीको आन्तरिक निगरानी निकायले खानमाथि महिला कर्मचारीसँग अनचित व्यवहार र यौन उत्पीडन गरेको आरोप लगाएको थियो। आरोप सार्वजनिक भएपछि खानले अनुसन्धान सहज बनाउन केही समयका लागि आफ्नो कार्यभार छाडेका थिए।

आईसीसी इतिहासमै मुख्य अभियोजकलाई यसरी पदबाट हटाइएको यो पहिलो घटना हो। यस निर्णयले अन्तर्राष्ट्रिय न्यायालयको साख, निष्पक्षता र भावी कार्यशैलीमाथि नयाँ बहस सिर्जना गरिदिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *