अर्धनारीश्वरको मूर्तिले के भन्छ?
‘अर्ध’को अर्थ आधा, ‘नारी’को अर्थ प्रकृति र ‘ईश्वर’को अर्थ परमात्मा हुन्छ। अर्थात् आधा भाग ईश्वर (पुरुष) र आधा भाग प्रकृति (महिला)को स्वरूपबाट बनेको मूर्तिको स्वरूपलाई अर्धनारीश्वर भनिन्छ।
अर्धनारीश्वरको मूर्ति र शिवलिङ्गले एउटै संकेत दिन्छन्। परमात्मालाई सहजरूपमा बुझ्न शिवलिङ्गपछि अर्धनारीश्वरको मूर्ति बनाइयो। अव्यक्त परमात्मालाई देखाउने, पुरुष र प्रकृतिबाट सृष्टि प्रारम्भ भएको बुझाउने, सृजना र अङ्कुर बताउने अद्भुत मूर्ति हो अर्धनारीश्वर।
अर्धनारीश्वर प्रत्येक जीव र जगत्मा सूक्ष्मरूपमा रहेका छन्। स्थूल शरीर ‘सत्’ हो भने चेतना ‘चित्’ हो। यी दुवैको संयोजनपछि मात्र शरीरले काम गर्छ। चेतनाले शरीरलाई छोडेपछि सृष्टि सकिन्छ।
विवाहित जीवनभित्र अर्धनारीश्वरकै बिम्ब छ। स्त्रीलाई ‘सत्’ र पुरुषलाई ‘चित्’ मानिन्छ। दुवै मिलेपछि सृष्टि चल्छ अर्थात् ‘सच्चिदानन्द’ स्वरूप हुन्छ। इडा नाडीलाई स्त्रीकारक र पिङ्गलालाई पुरुषकारक मानिन्छ। मूर्ति चेतन हो भने मन्दिर प्रकृति हो। कतिपय प्राकृतिक शिवलिङ्ग, शालग्राम र नर्मदेश्वर शिवलिङ्गको आधा भागमा गाढा कालो र आधा भागमा कम कालो देखिन्छ, जसले अर्धनारीश्वरको मूर्तिलाई नै व्यक्त गर्दछ।
मूर्तिकारहरूले पुरुष र पार्वती (प्रकृति)को आधा-आधा स्वरूपलाई एकाकार गरी अर्धनारीश्वरको मूर्ति बनाउँछन्। दायाँ भागमा पुरुषको जस्तो छाती तर बायाँ भागमा स्तन देखाइन्छ; तर ती प्रष्ट रूपमा केवल महादेव र पार्वती मात्र हुँदैनन्।
हिउँ अर्थात् पृथ्वीको ठोस भाग पुरुष र तरल भाग प्रकृति भई अर्धनारीश्वर रूपमा रहेकी पृथ्वीलाई जीवित देवी मानिन्छ। आकाशलाई पिता र धर्तीलाई आमा ठानेर हामी अर्धनारीश्वरलाई नै पूजा गर्छौँ।
तस्मिन्नण्डे स भगवानुषित्वा परिवत्सरम् ।
स्वयमेवात्मनो ध्यानात्तदण्डमकरोद्विधा ।।
– मनुस्मृति (१।१२)
अर्थात् “भगवान् त्यस अण्डाभित्र आफैँ एक वर्ष बसेर ध्यानद्वारा त्यसलाई दुई भाग लगाउनुभयो।”
एक्लो प्रकृति वा पुरुषबाट सृष्टि सम्भव हुँदैन। परमात्माले अर्धनारीश्वर अर्थात् जड र चेतन (पुरुष र प्रकृति)द्वारा ब्रह्माण्डको उत्पत्ति गर्नुभयो। गीताले ‘क्षर’ र ‘अक्षर’को चर्चा गरेको छ। ऋग्वेदले “द्वा सुपर्णा सयुजा सखाया…” अर्थात् “दुई पक्षीमध्ये एउटाले खान्छ तर अर्को हेरेर मात्र बस्छ” भन्दै अर्धनारीश्वरकै बिम्बको बयान गरेको छ।
अर्धनारीश्वरका बिम्बहरू शास्त्र, मूर्ति, ग्रन्थ, साहित्य, पूजा, ब्रह्माण्ड, सृष्टि र जीवनका हरेक पक्षमा देखिन्छन्। प्रकृतिले गौरीशङ्कर हिमाल, पाथीभरा पर्वत र कैलाशलाई पूर्णमूर्तिको रूपमा निर्माण गर्यो।
जलले बनाएको अर्धनारीश्वरको मूर्ति मानसरोवर र राक्षसताल हो। मानसरोवरले ब्रह्मपुत्र, कर्णाली, सिन्धु र सतलजलाई अर्धनारीश्वरको रूपमा उत्पन्न गरी बगाउन थाल्यो।
अष्टाध्यायीमा पाणिनिले ‘सुप्’ र ‘तिङ्’ मिलाएर अर्धनारीश्वरको उपासना गर्दै पदको निर्माण गरे। वाक्य र अर्थको अभिन्न सम्बन्ध हुन्छ, जसले अर्धनारीश्वरको प्रयोग वाक्यमा समेत रहेको पुष्टि गर्छ। कुनै पनि वर्णको उच्चारण स्वरविना सम्भव हुँदैन।
उदाहरणका लागि ‘क’ मा ‘क्’ र ‘अ’ को संयोग छ। यसैले पूर्ण अक्षर अर्धनारीश्वरका मूर्ति हुन्। ‘क’देखि ‘क्ष’सम्मका व्यञ्जन वर्णहरू शिवस्वरूपका हुन् भने ‘अ’कारदेखि विसर्गसम्मका १६ स्वरवर्णहरू शक्तिस्वरूप हुन्।
ज्योतिषशास्त्रले शुक्ल र कृष्ण पक्ष, नक्षत्र र राशि, उत्तरायण र दक्षिणायन आदिको बयान गर्दै अर्धनारीश्वरकै स्वरूपलाई देखाएको छ। हाम्रा शास्त्रहरूले महिला र पुरुषलाई उत्तिकै महत्त्वपूर्ण स्थान दिई मानव समाजको निरन्तरताका लागि विवाह अनिवार्य बताएका छन्। महिला र पुरुषविना न त परिवारको अस्तित्व रहन्छ, न त समाज चल्छ, न त वंश परम्पराले निरन्तरता पाउँछ।
रज र वीर्य, चिसो र तातो, दिन र रात, जन्म र मृत्यु, दृश्य र अदृश्य, आधार र आधेय, जड र चेतन सबै अर्धनारीश्वरकै मूर्ति हुन्। आर्यावर्तमा महिला र पुरुषको समान भूमिका थियो भन्ने उदाहरण अर्धनारीश्वरको मूर्तिले दिन्छ।
परमात्माबाट सबैभन्दा पहिले सृष्टि भएका देवता महादेव र गौरी भएकाले प्रकृति र पुरुषको सम्मिश्रण देखाउन उनीहरूकै आधा-आधा स्वरूपलाई राखेर अर्धनारीश्वरको कल्पना गरियो।
उमया सहितं वामशैवमर्धं तु दक्षिणे ।
अतिपीतजटाभारमुकुटं सविचित्रम् ।।
– मयमतम् (३६।८१)
अर्थात् “उमामहेश्वरको मूर्तिमा महादेव र पार्वतीको स्वरूप हुन्छ। बायाँ भागमा उमा र दायाँ भागमा महादेवको जटाजुट स्वरूप हुन्छ।”
उमामहेश्वरका मूर्तिमा महादेवले पार्वतीको काँध, स्तन र कम्मरमा हात राखेको देखाइन्छ। आसन कसेर बसेका महादेवले पार्वतीलाई देब्रे काखमा बसाएर सृष्टि, योग, प्रसन्नता, तन्त्र र साधनामा सफलता पाउने सूचना दिएका छन्।
महादेव र पार्वती, विष्णु र लक्ष्मी, ब्रह्मा र ब्रह्मायणी आदि अर्धनारीश्वरकै स्वरूप हुन्। मानिसहरू विष्णु र महादेवको स्वरूप मानेर वर र पिपलको चौतारो बनाउँछन्।
औषधिको रूपमा अत्यन्त उपयोगी मानिएको ‘नारेश्वर’को वृक्षलाई महादेव र विष्णुको स्वरूप मानिन्छ। ‘नार’को अर्थ विष्णु र ‘ईश्वर’को अर्थ महादेव हुन्छ। यसरी नारेश्वरको वृक्षले औषधिको काम मात्र गर्दैन, हरिहरको प्रतिनिधित्व पनि गर्दछ।
मुक्तिनाथ (महादेव र विष्णु), हरिहरक्षेत्र (विष्णु र महादेव) आदि तीर्थस्थलहरू अर्धनारीश्वर स्वरूप भएकाले बुबाआमा, श्रीमान्-श्रीमती वा गुरुसँग तीर्थाटन गर्नुपर्छ भनिएको हो।
संकल्प गर्दा प्रयोग हुने ‘तत्सत्’ शब्दले प्रकृति र पुरुषको संयोग अर्थात् अर्धनारीश्वर बताउँछ। ‘तत्’को अर्थ परमात्मा र ‘सत्’का अनेक अर्थमध्ये वर्तमान अवस्थामा देखिएको सत्यलाई बुझाउँछ। अजपा गायत्रीको ‘सोऽहम्’मा आएको ‘स’कारले प्रकृति (पार्वती) र ‘ह’कारले पुरुष (शिव)को बोध गराउँछ।
हामीले लिने हरेक श्वासमा रहेका ‘स’ र ‘अहम्’, नदीका किनारा र सङ्गम, ब्रह्ममुहूर्त र साँझ, जड र चेतन, निद्रा र जाग्रत्, पृथ्वी र क्षितिज आदि अर्धनारीश्वरकै स्वरूप हुन्।
ऋग्वेद आदि ग्रन्थहरूमा नर र नारी, ब्रह्मा र वाणी, विष्णु र लक्ष्मी, दिन र रात, यज्ञ र वेदी, अग्नि र स्वाहा, वृक्ष र लहरा, गन्ध र फूल, अर्थ र शब्दलाई अर्धनारीश्वरको बिम्ब मानिएको छ।
हकारः पुरुषः प्रोक्त स इति प्रकृतिर्मता ।
पुंप्रकृत्यात्मको हंसस्तदात्मकमिदं जगत् ।।
– प्रपञ्चसार
अर्थात् “हकारलाई पुरुष र सकारलाई प्रकृति भनिन्छ। पुरुष र प्रकृतिको संयोगबाट नै जगत् चल्छ।”
देवीहरूको स्वरूप खापियो भने अनुहार एक तर हातको सङ्ख्या बढ्दछ। यसकारण तान्त्रिक देवीका हात चार, आठ, अठार वा सोभन्दा बढी हुन्छन्। देवी (प्रकृति) घुल्छे, चेतन अखण्ड भएकाले मिसिने र टुक्रिने हुँदैन; दुवैको संयोजन हुन्छ तर विसर्जन हुँदैन। यसकारण देवताका मूर्ति एकै ठाउँमा बनाउँदा आ-आफैँमा विशिष्ट स्वरूप हुन्छन्।
पौरस्त्य शास्त्रको ज्ञान, विज्ञान, प्रविधि, कला र चिन्तन आदिको गुप्त सूचना अर्धनारीश्वरको मूर्तिले दिन्छ। महिला र पुरुषलाई अर्धाङ्ग (आधा अङ्ग) भनिन्छ। पुरुष र महिला मिलेर मात्र पूर्ण अङ्ग बन्दछ।
‘अर्धाङ्गिनी’ शब्द अर्धनारीश्वरबाटै आएको हो। अर्धनारीश्वर केवल मूर्तिमा मात्र सीमित छैन; यो शब्द, जीव, प्रकृति, औषधि, तन्त्र, मन्त्र, यज्ञ र श्वासप्रश्वासलगायत सर्वत्र व्याप्त छ। अर्धनारीश्वरले कालदेखि कलासम्म, देवतादेखि दर्शनसम्म, र प्रकृतिदेखि परमात्मासम्मको रहस्य बताउँछ।
No ads found for this position



Facebook Comment