अमेरिकाको सियाटलमा फुड फेस्टिभलमा गोलीकाण्ड, २ जनाको मृत्यु

डिसी नेपाल
११ साउन २०८३ १०:१२

काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटल शहरको प्रसिद्ध ‘स्पेस निडल’ नजिकै आयोजना भइरहेको एउटा फुड फेस्टिभलमा आइतबार साँझ अन्धाधुन्ध गोलीकाण्ड भएको छ। उक्त घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दुई वर्षीया बालकसहित चार जना घाइते भएका छन्।

सियाटल फायर डिपार्टमेन्टका अनुसार साँझ ६ बजेपछि ‘सियाटल सेन्टर’मा गोली चलेको खबर पाएलगत्तै उद्धार टोली परिचालन गरिएको थियो। अग्निनियन्त्रण तथा उद्धार अधिकारीहरूका अनुसार घटनास्थलमै दुई जनालाई मृत घोषित गरिएको थियो। घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि ‘हार्बरभ्यू मेडिकल सेन्टर’ लगिएको छ। घाइते हुनेहरूमा सबैभन्दा साना दुई वर्षका बालक रहेका छन्।

अस्पतालका अनुसार घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ। घाइतेहरूको हात, खुट्टा र पेटमा गोली लागेको छ। गोलीकाण्डमा परेकी अर्की एक महिलाले भने अस्पताल जान अस्वीकार गरेको अग्निनियन्त्रक अधिकारीहरूले जनाएका छन्। सियाटलकी मेयर केटी विल्सनले विज्ञप्ति जारी गर्दै प्रहरीले दुई जना संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएकी छन्।

घटनाका बेला सियाटल सेन्टरमा वार्षिक ‘बाइट अफ सियाटल’ फेस्टिभल चलिरहेको थियो, जहाँ सयौँ स्थानीय व्यापारिक स्टलहरू र साङ्गीतिक प्रस्तुतिहरू भइरहेका थिए। सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा सर्वसाधारणहरू स्टलहरूमा घुमफिर गरिरहेका बेला अचानक गोलीको आवाज आउनासाथ मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेको देखिन्छ।

कार्यक्रममा सहभागी प्रत्यक्षदर्शीहरूका अनुसार सुरुमा ७ देखि ८ राउन्ड र पछि कम्तीमा दुई दर्जन जति गोली चलेको आवाज सुनिएको थियो। गोली चल्नुको पछाडिको मुख्य कारण भने अझै खुल्न सकेको छैन।

घटनापछि सियाटल प्रहरी, एफबीआई र अन्य सुरक्षा निकायका अधिकारीहरू घटनास्थल पुगेका छन्। वासिङ्टनका गभर्नर बब फर्गुसनका अनुसार सियाटल प्रहरीको आग्रहमा राज्यको स्वाट टोलीलाई पनि सहयोगका लागि पठाइएको छ।

मेयर केटी विल्सनले यस घटनालाई ‘भयावह हिंसाको कार्य’ भन्दै दुःख व्यक्त गरेकी छन्। उनले भनिन्, ‘संस्कृति, भाइचारा र खुसी मनाउन भेला भएको ठाउँ कसरी यसरी गोलीकाण्डमा परिणत भयो भनेर पूरा समुदाय स्तब्ध छ। आउँदा दिनहरूमा घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य जनतासामु ल्याइनेछ।’

गभर्नर फर्गुसनले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान र सतर्कता अपनाउन अपिल गरेका छन्। घटनापछि सियाटल सेन्टर मोनोरेल सेवा आइतबारका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। ‘गन भायोलेन्स आर्काइभ’ का अनुसार चार वा सोभन्दा बढी मानिस गोलीबाट प्रभावित भएका घटनालाई आधार मान्दा अमेरिकामा यस वर्ष (२०२६) मा भएको यो २७१ औँ सामूहिक गोलीकाण्ड हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *