पाकिस्तान प्रशासित कश्मीरमा प्रदर्शनकारीमाथि गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
FILE PHOTO: People chant slogans as they walk during a protest and shutter-down strike called by the banned Joint Awami Action Committee (JAAC), an alliance of civil society groups, in Neelum Valley, Pakistani Kashmir, June 21, 2026. Picture taken with a mobile phone. REUTERS/Naseer ud Din/File Photo
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा जारी ‘अवामी हकुक लङ मार्च’का क्रममा पाकिस्तानी सुरक्षा बलले चलाएको गोली लागेर कम्तीमा १४ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने करिब दुई दर्जन घाइते भएका छन्।
आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले यो दाबी गरे पनि पाकिस्तानी अधिकारीहरूले भने यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
सार्वजनिक भएको एक भिडियो सन्देशमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन्।
उनका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिरसमेत हुन्। त्यस्तै अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको उनले दाबी गरेका छन्।
अत्यधिक मात्रामा घाइते भएकाले असलमले विदेशमा बसोबास गर्ने कश्मीरी समुदायलाई यस घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउन अपिल गरेका छन्।
उनले विश्वभरका पाकिस्तानी दूतावास, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूसमक्ष विरोध दर्ता गराउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
यसैगरी, मिरपुर र मुजफ्फराबाद क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प पारिएको असलमले जानकारी दिए। सञ्चार सेवा अवरुद्ध भए पनि आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजनामा रहेको र पहिलो रात मकबूल भट शहीद चोकमा बिताउने तयारी भइरहेको उनले बताए।
अर्का एक प्रत्यक्षदर्शीका अनुसार सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेका प्रदर्शनकारीमाथि एक्कासि बल प्रयोग गरिएको थियो। उनले यो आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना आधारभूत अधिकारका लागि मात्र भएको स्पष्ट पार्दै सुरक्षा बललाई पछाडि हट्न आग्रह गरेका छन्।
सञ्चार माध्यमहरूका अनुसार गोली प्रहार, १४ जनाको मृत्यु तथा इन्टरनेट बन्दका यी सबै विवरणहरू आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शी तथा जेएएसीका नेताहरूको दाबीमा आधारित हुन्।
यस संवेदनशील घटनाबारे पाकिस्तानी सरकार वा सुरक्षा निकायका तर्फबाट समाचार तयार पारुञ्जेलसम्म कुनै औपचारिक पुष्टि वा खण्डन आएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment