होटल बुक गर्न खोज्दा जेलको कोठा बुक भएपछि…

डिसी नेपाल
१२ साउन २०८३ १५:१४

काठमाडौं । सप्ताहान्तको छुट्टी मनाउनका लागि होटलको कोठा खोजी गरिरहेकी एक महिलाको सामान्य असावधानीका कारण एउटा रोचक घटना घटेको छ। फिलिपिन्समा एक महिलाले झुक्किएर होटलको सट्टा महिला सुधारगृह (महिला जेल) मा कोठा बुक गर्नका लागि मेसेज पठाएकी छन्।

फिलिपिन्सको ‘ब्युरो अफ जेल म्यानेजमेन्ट एन्ड पेनोलोजी’ को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको यो घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

बीजेएमपीका अनुसार ती महिला फिलिपिन्सको प्रसिद्ध पर्यटकीय शहर बागियो भ्रमणको योजना बनाइरहेकी थिइन्। बस्नका लागि होटल खोज्ने क्रममा उनले सामाजिक सञ्जालमा गल्तीले ‘बीजेएमपी बागियो सिटी जेल फिमेल डोर्मिटरी’ को आधिकारिक पेज खोलिन्।

उक्त पेजलाई कुनै रिसोर्ट वा होटलको पेज सम्झेर उनले मेसेज गर्दै सोधिन्— ‘के आउँदो सप्ताहान्तका लागि कुनै कोठा उपलब्ध छ ?’ महिलाको मेसेज पाएपछि जेलका कर्मचारीहरूले अत्यन्तै विनम्रताका साथ जवाफ फर्काए— ‘म्याडम, यो महिला जेल हो ।’

जेल प्रशासनको जवाफ पाउनासाथ ती महिलाले आफ्नो गल्ती महसुस गर्दै तुरुन्तै ‘सरी’ भनेर जवाफ पठाइन्। पछि जेल प्रशासनले ती महिलाको पूर्वस्वीकृति लिएर उक्त कुराकानीको स्क्रिनसट आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको थियो।

जेल प्रशासनले व्यङ्ग्यात्मक शैलीमा लेखेको छ, ‘सप्ताहान्तको भ्रमणको समय त आएको छ, तर याद राख्नुहोस् बीजेएमपीका जेलहरू होटल होइनन्।’ साथै उनीहरूले आफ्ना जेल परिसरहरूलाई सुरक्षित, सफा र व्यवस्थित राख्न सधैँ प्रतिबद्ध रहेकोसमेत जनाएका छन्।

यो पोस्ट भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनेकौँ रोचक टिप्पणीहरू गरिरहेका छन्। कतिपयले ठट्टा गर्दै ‘यहाँ त सित्तैमा खाना, बसाइ र २४ घण्टै सुरक्षा पाइन्छ’ भनेका छन् भने कतिपयले महिलाको गल्तीलाई हलुका र हास्यप्रद रूपमा प्रस्तुत गरेको भन्दै जेल प्रशासनको प्रशंसा गरेका छन्।

यस घटनाले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत होटल तथा अन्य सेवा बुकिङ गर्दा सम्बन्धित पेज वा अकाउन्टको आधिकारिकता राम्ररी जाँच्न आवश्यक रहेको सन्देश दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *