मेरो जीवनको गुरु : मेरो दादा

डिसी नेपाल
१३ साउन २०८३ ८:०४

काठमाडौं । हुनत संसारका अधिकांश मानिसले आफ्नो जीवनको पहिलो गुरुका रूपमा आमा–बुबा वा विद्यालयका गुरु–गुरुआमालाई सम्झन्छन् । उनीहरूबाट अक्षर चिनिन्छ, ज्ञान सिकिन्छ र जीवनको बाटो पहिल्याइन्छ । मेरो जीवनमा भने पहिलो गुरु अरू कोही होइन, मेरा दादा हुनुहुन्छ ।

गुरु भनेको केवल किताव पढाउने व्यक्ति मात्र होइन, जीवन कसरी बाँच्ने भनेर सिकाउने व्यक्ति पनि हो । त्यो मेरो जीवनको पहिलो पाठशाला मेरो घर थियो र त्यस पाठशालाको पहिलो शिक्षक–मेरो दादा ।

तपाईंले मलाई केवल हिँड्न मात्र सिकाउनुभएन, जीवनको बाटोमा कसरी अघि बढ्ने भन्ने पनि सिकाउनुभयो । आफ्नोभन्दा अरूको खुसीमा आफ्नो खुसी खोज्न सिकाउनुभयो । दुःख र अभावलाई मुस्कानले सिकाउनुभयो। जिम्मेवारीबाट कहिल्यै नभाग्न, परिवारका लागि आफ्ना रहर त्याग्न र निस्वार्थ प्रेम गर्न सिकाउनुभयो ।

मलाई एक समय लाग्थ्यो—जीवनमा राम्रो शिक्षा नै उज्ज्वल भविष्यको आधार हो । विद्यालय र विश्वविद्यालयले नै मानिसलाई सफल बनाउँछन्। तर जब मैंले तपाईंको जीवनलाई नजिकबाट हेर्न थालेँ, तपाईंको संघर्षलाई बुझ्न थालेँ, तब महसुस भयो—जीवनको सबैभन्दा ठूलो शिक्षा किताबमा होइन, तपाईंको जीवनमा लेखिएको रहेछ ।

तपाईं हाम्रो परिवारको जेठो छोरा । त्यसैले पनि बाल्यकाल तपाईंको हाम्रो भन्दा धेरै कठिन र अभावमा बित्यो । तपाईंले भोग्नुभएका पीडा, अभाव र जिम्मेवारी हामीले भोग्न नपरोस् भनेर आफ्नो सम्पूर्ण युवावस्था परिवारकै भविष्य लागि समर्पण गर्नुभयो । आफ्ना सपना, रहर र चाहनालाई थाँती राखेर परिवारको सुखका लागि आफ्नो देशको माटो छाड्नुभयो र विदेशिनु भयो ।

सायद, त्यतिबेला तपाईंको उमेर आफ्ना सपना पछ्याउने थियो । तर तपाईंले आफ्ना सपना होइन, हाम्रो भविष्य रोज्नुभयो ।

आज हामीमध्य प्रत्येकले आफ्नो–आफ्नो बाटो समात्न सकेका छौँ भने त्यसको जग तपाईंले बनाउनुभएको हो । तपाईंले आफ्नो खुसीभन्दा हाम्रो खुसीलाई ठूलो ठान्नुभयो । हाम्रो पढाइ, भविष्य, आवश्यकता पूरा गर्न दिन–रात पसिना बगाउनुभयो। तर कहिल्यै पनि आफ्नो आवश्यकता अगाडि राख्नुभएन ।

आज सम्झँदा लाग्छ ,हामी सबैका साना–साना इच्छा पूरा हुँदै गए । कसैलाई पढाइ चाहियो, कसैलाई लुगा चाहियो, कसैलाई नयाँ नयाँ सामान । तपाईंले सबैको आवश्यकता पूरा गर्नुभयो । तर तपाईंलाई के चाहिएको थियो, सपना के थियो, मनका इच्छाहरु के थिए ? त्यो सोध्ने समय सायद हामी कसैसँग भएन ।

मलाईं आजसम्म सम्झना छैन—हाम्रो आवश्यकता पूरा गर्दैगर्दा तपाईंले आफ्नै लागि मन परेको एकसरो लुगा पनि निर्धक्क भएर किन्नुभएको होस् । आफ्ना लागि खर्च गर्नुअघि सँधैैं परिवारलाई सम्झनुभयो । आफ्ना रहरलाई सँधै जिम्मेवारीको पछाडि लुकाइदिनुभयो ।

दादा, तपाईंको मन आखिर केबाट बनेको छ ?

कहिलेकाहीं लाग्छ, तपाईं मानिसभन्दा पनि त्यागको अर्को नाम हुनुहुन्छ । तपाईंको मुस्कानभित्र कति पीडा लुकेका थिए, त्यो सायद तपाईं आफैँलाई मात्र थाहा थियो । तर ती पीडालाई कहिल्यै हाम्रासामू आउन दिनुभएन । सँधै हाँस्नुभयो, सँधै हौसला दिइरहनुभयो ।

यस्तो लाग्छ, यदि सम्भव हुन्थ्यो भने संसारका सबै खुसी, सुख, सफलताहरू किनेर तपाईंको पोल्टामा राखिदिन्थेँ । किनभने तपाईं मेरो लागि केवल दाजु होइन, हाम्रो घरको दरिलो खम्बा हुनुहुन्छ । हामी सबैले निर्धक्क भएर भविष्यका सपना देख्न सकेका छौँ भने त्यो तपाईंले आफ्ना सपना त्याग्नुभएको कारणले हो ।

मानिसहरूले घरको छानो मात्र देख्छन्, तर त्यो छानो थामेर उभिएको खम्बाले कति भार बोकिरहेको हुन्छ भन्ने कमैले बुझ्छन् । हाम्रो घरको त्यो खम्बा तपाईं हुनुहुन्छ । तपाईं थाक्नुभयो कि भएन, तपाईंको मनमा कस्तो पीडा छ, अधुरा रहर के हुन् भन्ने कुरा सायद कसैले कहिल्यै सोधेनन् । तर पनि तपाईंले कहिल्यै गुनासो गर्नुभएन ।

आज मसँग तपाईंलाई दिन ठूलो उपहार केही छैन । तर एउटा वाचा छ—तपाईंले हाम्रा लागि जति त्याग गर्नुभयो, त्यसको सम्मान गर्नेछु । तपाईंले सिकाएको बाटो कहिल्यै छाड्ने छैन । तपाईंले बोकेको जिम्मेवारी अब हामी पनि बिस्तारै बाँड्नेछौँ ।

तपाईंको अनुहारमा एउटा साँचो मुस्कान देख्न पाउनु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हुनेछ । किनभने तपाईं मुस्कुराउनुभयो भने मात्रै यो घर साँच्चिकै घर जस्तो हुनेछ ।

भगवानसँग मेरो एउटै प्रार्थना छ–तपाईंले अरूका लागि बाँड्नुभएको खुसी अब तपाईंको जीवनमा फर्केर आओस् । अधुरा सपना पूरा हुन्। कहिल्यै अनुभव गर्न नपाएको सुख अब तपाईंको भागमा परोस्।

किनकि, तपाईंले आफ्नो जीवनभर अरूका लागि बाँच्नुभयो। अब आउने दिनहरू आफ्नै लागि पनि बाँच्न पाउनुहोस्।

मेरो लागि तपाईं सँधै सम्मानको पात्र, प्रेरणाको स्रोत र हाम्रो घरको सबैभन्दा बलियो आधार हुनुहुनेछ ।

धन्यवाद दादा, तपाईं जस्तो हुनुहुन्छ त्यसैका लागि, तपाईं हुनुहुन्छ, त्यसैले हाम्रो घर आज पनि मजबुत भएर उभिएको छ ।

आज गुरु पूर्णिमाको अवसरमा म यो निर्धक्क भएर भन्नसक्छु–मेरो जीवनको सबैभन्दा ठूलो गुरु तपाईं नै हुनुहुन्छ । तपाईंले मलाई किताबले सिकाउन नसक्ने पाठ सिकाउनुभयो । इमानदारी, जिम्मेवारी, त्याग, प्रेम र परिवारप्रतिको समर्पणको वास्तविक अर्थ बुझाउनुभयो ।

दादा, म तपाईं जत्तिको महान बन्न सक्छु वा सक्दिनँ, त्यो भविष्यले बताउनेछ । तर मेरो जीवनको सबैभन्दा ठूलो चाहना भने यही हो । तपाईंको पाइला पछ्याएर, देखाएको बाटोमा हिँडेर, तपाईं जस्तै असल र जिम्मेवार मानिस बन्न सकूँ ।

गुरु पूर्णिमाको यस पावन अवसरमा तपाईंप्रति हार्दिक श्रद्धा, सम्मान र अथाह कृतज्ञता व्यक्त गर्दछु ।

मेरो जीवनको पहिलो गुरु, मेरा दादा—तपाईंलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। तपाईंको त्याग, माया र संघर्षप्रति सधैं नतमस्तक रहनेछु ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *