पहाडकी रानी बन्दीपुरको सेरोफेरो
नेपालको गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एस.पि.एम.) बाट मिति २०८२ साल माघ २३ गते शुक्रबारका दिन एकदिवसीय शैक्षिक अवलोकनीय भ्रमणको आयोजना गरिएको थियो।
भ्रमणमा कक्षा ११-१२ (+२) र स्नातक तहका गरी २५ जना विद्यार्थीहरूसहित कलेजका प्राचार्य दीपेन्द्र पौडेल सर, स्ववियु सभापति श्यामकुमार बाचे, सवारी चालक, सहचालक तथा शिक्षिका एवम् लेखक स्वयम् (भूमिका गैरे तिमिल्सिना) को उपस्थिति रहेको थियो।
हामी बिहान ६:३० बजे कलेज प्राङ्गणबाट गाडी चढी ‘पहाडकी रानी’ भनेर चिनिने तनहुँको ऐतिहासिक तथा पर्यटकीय स्थल बन्दीपुरतर्फ प्रस्थान गर्यौँ।
नेपालकै ठूलो सिद्ध गुफाको यात्रा
हाम्रो भ्रमणको पहिलो गन्तव्य नेपालको सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो मानिने सिद्ध गुफा रह्यो। त्यहाँ पुग्नका लागि पृथ्वी राजमार्गको विमलनगर बजारबाट सानो कालोपत्रे (पिच) बाटो हुँदै केही माथि उक्लिएर गाडी पार्किङ गर्यौँ र खाजा खायौँ।
त्यसपछि सिँढी मार्ग हुँदै नागबेली बाटो पछ्याउँदै ठाडै उकालो लाग्यौँ। बाटाको दायाँबायाँ जैविक विविधताले भरिपूर्ण दृश्यहरू क्यामेरामा कैद गर्दै करिब ३० मिनेटको पैदल यात्रापछि हामी सिद्ध गुफा पुग्यौँ।
तनहुँको विमलनगरमा अवस्थित यो गुफा ४३० मिटर लामो र ४५ मिटर अग्लो छ। वि.सं. २०४४ साल चैत १३ गते स्थानीय चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका भारतीय शिक्षक वारेन्ट क्वाड्र गरी चार जनाको समूहले यो गुफा पत्ता लगाएका रहेछन्।
गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ प्राकृतिक आकृतिहरू छन्। कतै श्रीपेच जस्ता, कतै देवी-देवताका मूर्ति जस्ता त कतै चराचुरुङ्गी र जनावरका जस्ता अलौकिक आकृतिहरू देख्न सकिन्छ।
ठूला-ठूला चट्टान र ढुङ्गाहरू रहेको यो अँध्यारो गुफाभित्र चिसो हावाको महसुस हुने र अक्सिजनको पर्याप्त उपलब्धता रहेको पाइयो। पर्यटकहरूलाई उक्लिन र ओर्लिन सहज होस् भनेर डोरीको व्यवस्था गरिएको छ। गुफा कतै समथर त कतै ठाडै उकालो भए पनि निकै फराकिलो छ।
गुफाको मुख्य प्रवेशद्वारबाट करिब २०० मिटर भित्र पसेपछि एउटा ठूलो बैठक कोठा जस्तो फराकिलो भाग आउँछ। हिउँदका बेला विभिन्न सङ्घ-संस्थाहरूले गुफाको प्रवर्द्धनका लागि बैठक बस्ने, टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने तथा साहित्य सम्मेलन जस्ता गतिविधिहरू गर्ने गर्दा रहेछन्। वर्षायाममा भने यहाँ पानी जम्मा भई पौडी खेल्न (स्विमिङ गर्न) सकिने रहेछ।
गुफाभित्र प्रशस्तै चमेराहरू बसोबास गर्छन्। कतै छिपछिपे पानी बगिरहेको छ भने गुफाभित्रै ‘हाइकिङ’ को व्यवस्था पनि गरिएको छ। गुफाको माथिल्लो भागमा ठूलो प्वाल रहेकाले जङ्गलको बाटो हुँदै आउने साहसी आन्तरिक एवम् बाह्य पर्यटकहरू सिधै डोरीको सहायताले माथिबाट गुफाभित्र प्रवेश गर्ने गर्छन्।
कुनै समय तपस्वीले सिद्धि प्राप्त गरेको यो ठाउँमा त्रिशूलहरू गाडिएका छन्। शेषनागका आकृति र अन्य अलौकिक दृश्यहरूको अवलोकन गर्दा मन आनन्दित हुन्छ। यहाँ समय-समयमा साधु-सन्तहरू आएर पूजापाठ तथा साधना गर्ने गर्छन्। विगत १२ वर्षदेखि एक जना पुजारीले गुफाभित्र नियमित पूजाअर्चना गर्दै आएको कुरा जानकारीमा आयो। गुफामा विशेष गरी भगवान् शिवको पूजा गरिने भएकाले साउन महिनामा यहाँ ठूलो ‘बोलबम मेला’ लाग्ने गर्दछ।
भ्रमणका क्रममा सुरक्षा गार्ड थापामगर दिदीबाट यो गुफा करिब ३,५०० वर्ष पुरानो रहेको र यहाँ विभिन्न नेपाली चलचित्रहरूको छायाङ्कन (सुटिङ) समेत भइसकेको जानकारी प्राप्त भयो।
थानीमाई र मिनी ग्रेटवालको अवलोकन
गुफाको अवलोकनपश्चात् हामी दिउँसो १:०० बजे तल झरेर विमलनगरमा खाना खायौँ। त्यसपछि हाम्रो गन्तव्य बन्दीपुर गाउँपालिका-२ स्थित श्री भानु माध्यमिक विद्यालय नजिकै रहेको थानीमाई मन्दिरतर्फ मोडियो। थानीमाई जानका लागि २५ मिनेटको ठाडै उकालो सिँढी मार्ग पछ्याउँदै हामी माथि पुग्यौँ। सो समयमा मन्दिरको मूल ढोका भने बन्द रहेको थियो।
सल्लाका ठूला-ठूला रुखहरूको शान्त ध्वनि गुञ्जने, वरिपरिको दृश्य छर्लङ्ग देखिने, शान्त र फराकिलो उचाइमा एउटा सुन्दर थुम्को रहेछ। थानीमाईको मन्दिरबाट सुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर लामो ‘मिनी ग्रेटवाल’ अहिले आन्तरिक एवम् बाह्य पर्यटकहरूको प्रमुख रोजाइमा परेको छ।
चीनको प्रसिद्ध ‘ग्रेटवाल’ को झल्को दिलाउने मुकुन्देश्वरी डाँडामा १५ औँ शताब्दीका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले शासन गरेको इतिहास पाइन्छ।
यस डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालदेखि पूर्वमा गणेश हिमाल र पश्चिममा लाङटाङ हिमालका हिमशृङ्खलाहरू स्पष्ट रूपमा देख्न सकिन्छ। प्राकृतिक, सांस्कृतिक एवम् पर्यटकीय सम्भावनाले युक्त यो स्थल पर्यटकहरूका लागि प्रकृतिको अनुपम उपहार साबित भएको छ।
टुँडिखेलको सुन्दरता र ऐना पहरातर्फको यात्रा
थानीमाई र मिनी ग्रेटवालको अवलोकनपश्चात् हामी बन्दीपुर-२ स्थित ऐतिहासिक टुँडिखेल पुग्यौँ। ठूलो क्षेत्रफलमा फैलिएको टुँडिखेलको वरिपरिबाट देखिने पर्वत शृङ्खलाहरू र हिमचुचुराहरू अत्यन्तै मनमोहक देखिन्थे। त्यहाँ केही पर्यटकहरू घोडाचढीमा रमाइरहेका थिए भने केही तस्बिर र ‘सेल्फी’ खिच्नमा व्यस्त थिए।
टुँडिखेलको मनोरम दृश्य अवलोकनपछि खाजा खाएर हामी तनहुँकै आँबुखैरेनी गाउँपालिका-४ मा अवस्थित प्रसिद्ध ऐना पहरा तर्फ लाग्यौँ।
आँबुखैरेनी वडा नं. २ र ५ को सिमानामा पर्ने ऐना पहरा प्रकृतिको काखमा रहेको एक सुन्दर कलात्मक स्थल हो। यहाँको प्राकृतिक झरना, चट्टानमा कुँदिएका विभिन्न आकृति र शान्त वातावरणले आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्यको सङ्गम गराउँछ।
“जहाँ शब्द रोकिन्छन्, त्यहाँ कला बोल्छ” भनेझैँ ती विशाल चट्टानहरूमा आमा-छोराको प्रेम, जलपरी, हात्तीका विशाल चित्र लगायतका अनुपम कलाहरू कुँदिएका छन्, जसले जोकोही पर्यटकको ध्यान सजिलै आकर्षित गर्छ।
ऐना पहरा र छिम्केश्वरीको धार्मिक-ऐतिहासिक महत्त्व
महाभारत पर्वत शृङ्खलाको २,१३४ मिटर उचाइमा तनहुँकै सबैभन्दा अग्लो चुचुरो ‘छिम्केश्वरी माई’ को मन्दिर रहेको छ (आँबुखैरेनी-५)। छिम्केश्वरी माई र बुढीदेवी माईलाई गोरखाकी मनकामना र गोरखा कालिकाकी दिदीका रूपमा पुज्ने गरिन्छ।
परापूर्वकालदेखि नै यस क्षेत्रका बासिन्दाहरूले आफ्ना पशुचौपायालाई वनमा खुला छाड्दा पनि कुनै क्षति नहुने र भगवतीको दर्शन मात्रले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।
ऐतिहासिक तथ्य अनुसार वि.सं. १३४० को दशकमा स्थापना भएको अनुमान गरिने छिम्केश्वरी मन्दिरमा वि.सं. १७५३ मा तनहुँका राजा दामोदर सेनले आफ्ना नाति (छोरी मल्लिकावतीका छोरा तथा गोरखाका राजा पृथ्वीपति शाहका नाति) नरभूपाल शाह गोरखाको राजा बनून् भन्ने कामनासहित पूजापाठ गराएको किंवदन्ती छ।
बन्दीपुरबाट करिब १ घण्टाको दूरीमा रहेको यो धार्मिक भूमिमा काठमाडौँ, पोखरा, चितवन, गोरखा लगायत देश-विदेशबाट प्रशस्त पर्यटकहरू आउने गर्छन्।
छिम्केश्वरी माईको काखबाट बग्दै आएको झरना नै ऐना पहरा झरना हो। पौराणिक जनश्रुति अनुसार बुढीमाई, छिम्केश्वरी, मनकामना, गोरखा कालिका, इच्छाकामना, अकला देवी र अन्नपूर्ण गरी सात दिदीबहिनी देवीहरू यसै झरनामा आएर स्नान गर्ने र ऐनाजस्तै टल्किने सफा पानीमा शृङ्गार गर्ने गर्दथे।
देवीहरूले प्रयोग गरेको पवित्र जल भएकाले यहाँ स्नान गर्दा आत्मा शुद्ध हुने र पानी सधैँ ऐनाजस्तै चम्किलो देखिने भएकाले यसको नाम ‘ऐना पहरा’ रहन गएको हो।
प्राकृतिक छटा, धार्मिक आस्था र पुरातात्त्विक महत्त्वले भरिपूर्ण यस क्षेत्रमा पुग्ने जोकोहीले पनि अलौकिक शान्ति र शीतलताको अनुभूति गर्छन्।
उपसंहार एवम् भ्रमणको सन्देश
ऐना पहराको अवलोकनपश्चात् हाम्रो भ्रमण टोली घरतर्फ लाग्यो। सम्पूर्ण विद्यार्थीहरूसहित हामी राति ८:०० बजे सकुशल गैँडाकोट फर्कियौँ।
यस्ता एकदिवसीय शैक्षिक भ्रमणहरूले हाम्रै वरपर रहेका तर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेका ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलहरूलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छन्।
आजको आधुनिक र प्राविधिक युगमा हाम्रा युवाहरू प्रविधिसँग जोडिए पनि आफ्नै देशको भूगोल, संस्कृति, रहनसहन र इतिहासबाट टाढिँदै गएको भान हुन्छ।
विद्यार्थीहरूले पुस्तकमा पढेका कुराहरू बिर्सन सक्छन्, तर प्रत्यक्ष अवलोकन गर्दा प्राप्त भएका व्यावहारिक अनुभव र स्मृतिहरू उनीहरूको मानसपटलमा सधैँ ताजा रहन्छन्। तसर्थ, किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान दिनु आजको मुख्य आवश्यकता हो।
शैक्षिक भ्रमणले मातृभूमिप्रतिको प्रेम जागृत गराउनुका साथै स्वदेशमै रहेका अथाह सम्भावनाहरू चिन्न सहयोग पुर्याउँछ। तीव्र रूपमा बढिरहेको युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै सम्भावनाका ढोकाहरू उघार्नका लागि पनि यस्ता भ्रमणहरू उपयोगी सिद्ध हुन्छन्।
आँबुखैरेनी र बन्दीपुर क्षेत्रका यस्ता अनुपम प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र उचित प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नु हामी सबै नागरिक र सम्बन्धित निकायको दायित्व हो।
No ads found for this position


Facebook Comment