कविता : प्रार्थना
मलाई लामो आयुको वरदान चाहिँदैन हे ईश्वर !
मलाई त केवल,
हातमा ताकत र गोडामा गति रहुञ्जेलको
एउटा अर्थपूर्ण जीवन भए पुग्छ।
जबसम्म यी हातहरूले आफ्नै गाँस उठाउन सक्छन्,
जबसम्म यी खुट्टाहरूले आफ्नै भार बोक्न सक्छन्,
र जबसम्म यो मस्तिष्कले आफ्नै निर्णय लिन सक्छ,
हो, त्यतिञ्जेल मात्र यो देहमा प्राणको स्पन्दन होस्।
मलाई डर लाग्दैन मृत्युसँग,
तर मलाई डर लाग्छ त्यो लाचारीसँग-
जहाँ म जीवित त हुनेछु, तर केवल एउटा लास जस्तै,
ओछ्यानको एउटा कुनामा थुनिएर,
अरूको दया र सहानुभूतिमा बाँच्नुपर्ने दिनसँग।
आफ्नै दिसा-पिसाबको गन्धमा निसासिँदै,
आफन्तका आँखामा ‘कहिले जाला र सजिलो होला’ भन्ने भाव पढ्दै,
हरेक सासमा घुटिएर,
हरेक पल आँसु पिउँदै जिउनुपर्ने दिन,
म कसरी भनौँ कि म जीवित छु?
त्यो पराश्रित लामो जीवन त एउटा अभिशाप हो,
जहाँ मान्छे दिनदिनै मर्छ, तर श्मशानसम्म पुग्न पाउँदैन।
त्यसैले हे सृष्टिकर्ता !
यो तन जब निष्क्रिय हुन थाल्छ,
जब यो शरीर संसार र आफ्नाहरूका लागि भार बन्न थाल्छ,
मलाई वैशाखी र ओछ्यानको कैदमा पर्नुअगावै,
यो सासको डोरी सहजै चुँडाइदिनू।
मेरो प्रस्थान उत्तम होस्,
कसैलाई नदुखाई, कसैलाई नथकाई,
आफ्नै खुट्टामा उभिएर हाँस्दाहाँस्दै
यो संसारबाट बिदा हुन पाऊँ।
मलाई केवल त्यही अन्तिम क्षणको सामर्थ्य दिनू !
सुन्दर कञ्चन कोलोनी, इटहरी-१, सुनसरी
No ads found for this position


Facebook Comment