४ वटा आँप ३ लाख ३७ हजार रुपैयाँमा बिक्री
काठमाडौं । उत्तर प्रदेशको सहारनपुर निवासी किसान सन्दीप चौधरीले फलाएको विश्वकै महँगो मानिने ‘मियाजाकी’ प्रजातिको आँपले अहिले ठूलो चर्चा पाएको छ। गुजरातको सुरतका एक व्यापारी प्रवीण गुप्ताले चौधरीको फार्मबाट कुल १ किलो तौल भएका ४ वटा मियाजाकी आँप २ लाख ११ हजार भारतीय रुपैयाँ (३ लाख ३७ हजार नेपाली रूपैयाँ) मा खरिद गरेका छन्।
भारतमा मियाजाकी प्रजातिको आँप यति उच्च मूल्यमा बिक्री भएको यो सम्भवतः पहिलो घटना हो। व्यापारी प्रवीण गुप्ताले आफ्नी आमाको सम्मान र समर्पणका लागि यी आँपहरू खरिद गरेकाले पनि यो सम्झौता थप विशेष बनेको छ।
किसान सन्दीप चौधरीका अनुसार सुरुमा यी ४ वटा आँपको मूल्य ३ लाख ५० हजार रुपैयाँ तय गरिएको थियो। तर, खरिदकर्ता गुप्ताले आफ्नी आमाको नाममा समर्पित गर्न आँप खरिद गर्न लागेको थाहा पाएपछि चौधरीले १ लाख ३९ हजार रुपैयाँ छुट दिँदै २ लाख ११ हजार रुपैयाँमा सम्झौता पक्का गरेका हुन्।
कुल रकममध्ये १ लाख ११ हजार रुपैयाँ अनलाइनमार्फत प्राप्त भइसकेको छ भने बाँकी १ लाख रुपैयाँ आगामी अगस्ट १ आँप हस्तान्तरण गर्दा बुझाइनेछ। थरोली गाउँका किसान चौधरीले परम्परागत खेती प्रणालीबाट माथि उठेर उच्च मूल्यका र विशिष्ट बालीनालीतर्फ लाग्नुपर्छ भन्ने सोचका साथ तीन वर्षअघि मियाजाकी आँपको खेती सुरु गरेका थिए।
आफ्नो अनुभव सुनाउँदै चौधरीले भने, ‘सुरुमा मैले मियाजाकी आँप रोप्दा धेरै मानिसहरूले मेरो खिल्ली उडाएका थिए। एउटा आँप कसरी लाखौँमा बिक्री हुन्छ र ? भनेर जिस्क्याउँथे। तर तीन वर्षको निरन्तर मिहिनेतपछि आज नतिजा अगाडि आएको छ।’
हाल चौधरीसँग करिब ४० वटा मियाजाकी आँपका बोटहरू रहेका छन्। यस बिक्रीबाट प्राप्त हुने रकमको १० प्रतिशत हिस्सा गरीब तथा विपन्न मानिसहरूको सहयोगमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।
जापानी मूलको मियाजाकी आँप आफ्नो आकर्षक बैजनी-रातो रङ, उत्कृष्ट स्वाद र उच्च पोषकीय गुणका कारण विश्वकै सबैभन्दा महँगो आँप मानिन्छ।
किसान चौधरीका अनुसार सामान्य आँपको तुलनामा मियाजाकी आँपमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, बेटा-क्यारोटिन र एन्टीअक्सिडेन्टको मात्रा निकै उच्च हुन्छ। उनले अन्य किसानहरूलाई पनि परम्परागत खेतीका साथसाथै प्राङ्गारिक तथा उच्च मूल्य दिने नयाँ प्रजातिका बालीहरू अपनाउन अपील गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment