जापानको भूकम्पमा मृतकको सङ्ख्या २८ पुग्यो, किनमेल केन्द्रको भग्नावशेषमा खोजी जारी

डिसी नेपाल
१४ साउन २०८३ १२:१८

काठमाडौं । जापानको कुमामोटो प्रान्तमा गत जुलाई २८ मा आएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या २८ पुगेको छ। भूकम्पका कारण भत्किएको ‘इओन सपिङ मल’ को भग्नावशेषभित्र अझै पनि केही मानिसहरू थुनिएको आशङ्कामा उद्धारकर्मीहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

अर्कातर्फ, भूकम्प प्रभावित क्षेत्रका हजारौँ बासिन्दाहरू बिजुली र खानेपानी सेवा अवरुद्ध हुँदा भीषण गर्मीका बीच कष्टकर जीवन बिताउन बाध्य भएका छन्।

कुमामोटो प्रान्तीय प्रशासनका अनुसार भत्किएको इओन सपिङ मलबाट हालसम्म १० जनालाई बाहिर निकालिएको छ। जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १ जनाको अवस्था गम्भीर र ५ जना घाइते भएका छन्। मलभित्र अझै मानिसहरू दबिएको हुनसक्ने भएकाले उद्धार टोलीले मेशिन तथा तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी खोजी तीव्र पारेको छ।

यसैगरी, यात्सुशिरो शहरस्थित ‘निप्पोन पेपर इन्डस्ट्रिज’ को कारखानामा अग्लो चिम्नी भत्किँदा ५ जना श्रमिकको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्।

भूकम्पका कारण संरचनाहरूमा ठूलो क्षति पुग्दा हजारौँ घरधुरीमा बिजुली र खानेपानीको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। बिहीबार बिहानसम्मको तथ्याङ्क अनुसार करिब २२,६७० घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा बिजुली छैन भने ८४ हजारभन्दा बढी घरहरूमा खानेपानीको आपूर्ति बन्द भएको छ।

भूकम्पपछि घरबारविहीन भएका मानिसहरूलाई अस्थायी राहत शिविरहरूमा राखिएको छ। जापानमा अहिले चलिरहेको भीषण गर्मीलाई ध्यानमा राख्दै सर्वसाधारणलाई ‘हिटस्ट्रोक’ बाट बचाउन सरकारले राहत शिविरहरूमा आपत्कालीन रूपमा एयर कन्डिसनरहरू पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *