राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु, सेना परिचालन

डिसी नेपाल
१५ साउन २०८३ ८:२५

सप्तरी । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिँदै गएपछि सप्तरी सदरमुकाम राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु लागू गरेको हो। यसअघि बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा त्यस्तो कार्यमा संलग्न पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच, बोदेबरसाईन क्षेत्रमा जारी कर्फ्यु प्रभावकारी रूपमा कार्यान्वयन गराउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको झडप हिंसात्मक बन्दै गएपछि त्यसको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन्। सोही घटनाको प्रभावस्वरूप सप्तरीमा पनि बिहीबार प्रदर्शन भएको थियो। पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *