सामाजिक सद्भाव कायम राख्न प्रेस काउन्सिलको आग्रह: आचारसंहिता विपरीतका सामग्रीमाथि कारबाही
काठमाडौं। प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा घटेको घटनापछि उत्पन्न संवेदनशील स्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचार, तस्बिर, वा भिडियो प्रकाशन तथा प्रसारण गर्दा मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई सर्वोपरि राख्न ध्यानाकर्षण गराएको हो।
काउन्सिलका अनुसार अपुष्ट, भ्रामक र उत्तेजक सामग्रीले समाजमा द्वेष, हिंसा र त्रास फैलाउने भएकाले त्यस्ता सामग्री सम्प्रेषणमा विशेष सजगता अपनाउनुपर्नेछ। हालसम्म विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका २०७ वटा सामग्रीको सूक्ष्म अनुगमन गर्दा ९० वटा सामग्री आचारसंहिता विपरीत पाइएका थिए।
जसमध्ये ३४ वटा सञ्चारमाध्यमका ५९ र दर्ता नभएका दुई वटा सामाजिक सञ्जालका दुई वटा सामग्री हटाउन निर्देशन दिइएकोमा बहुसंख्यकले निर्देशन पालना गर्दै त्यस्ता सामग्री हटाइसकेका छन्।
यसैगरी, सञ्चारमाध्यमसँग आबद्ध नरहेका २० वटा सामाजिक सञ्जालका २५ वटा गम्भीर र साम्प्रदायिक सद्भाव भड्काउने प्रकृतिका सामग्रीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ। काउन्सिलले अधिकांश सञ्चारमाध्यमले संयमित पत्रकारिताको अभ्यास गर्दै निर्देशन पालना गरेकोमा धन्यवादसमेत ज्ञापन गरेको छ।
अनुगमनका क्रममा केही सामाजिक सञ्जाल सञ्चालकहरूले मौद्रिकीकरणबाट हुने आर्थिक लाभका कारण सद्भाव बिगार्ने सामग्री हटाउन अस्वीकार गरेको पाइएकाले त्यस्ता खाताहरूमाथि कडा कारबाहीका लागि साइबर ब्युरोसहितका निकायहरूसँग समन्वय भइरहेको काउन्सिलले जनाएको छ।
सत्य र जिम्मेवार सूचनाले समाजमा शान्ति कायम गर्न मद्दत पुर्याउने भएकाले वर्तमान संवेदनशील अवस्थामा सबै पक्षलाई संयम र व्यावसायिक धर्म पालना गर्न प्रेस काउन्सिलले पुनः अपिल गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment