स्वदेश फर्किए आत्मसमर्पणअघि नै पूर्वप्रधानमन्त्री शेख हसिना गिरफ्तार हुने
काठमाडौं । बाङ्लादेशका कानून मन्त्री एम असदुज्जमाँले पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट स्वदेश फर्किएमा अदालतमा आत्मसमर्पण गर्ने मौका पाउनुअघि नै गिरफ्तार गरिने स्पष्ट पारेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानून मन्त्री असदुज्जमाँले हसिना बाङ्लादेशी भूभागमा प्रवेश गर्नासाथ तत्काल पक्राउ गरिने सम्भावना उच्च रहेको बताएका हुन्।
हसिनाले एक अन्तर्राष्ट्रिय समाचार संस्थालाई अन्तर्वार्ता दिँदै ज्यानको खतरा रहे तापनि आफू आगामी डिसेम्बरसम्ममा स्वदेश फर्कन दृढ रहेको बताएलगत्तै बाङ्लादेश सरकारको यो कडा बयान आएको हो।
अन्तर्वार्ताका क्रममा हसिनाले भनेकी थिइन्, ‘मेरो हत्या हुन सक्छ, मलाई गिरफ्तार गरिन सक्छ वा जेल पठाइन सक्छ… मलाई आफ्नो भाग्यबारे राम्रोसँग थाहा छ। तर पनि म स्वदेश फर्कन चाहन्छु, किनभने मेरा जनताले मलाई बोलाइरहेका छन्।’
पत्रकारहरूसँग कुरा गर्दै मन्त्री असदुज्जमाँले भने, ‘मृत्युदण्डको सजाय पाएको व्यक्ति र बाङ्लादेशी नागरिक भए तापनि यदि उहाँ देश फर्किएर कानूनको सम्मान गर्दै आत्मसमर्पण गर्न चाहनुहुन्छ भने पनि, त्यसो गर्नुअघि नै उहाँलाई गिरफ्तार गरिन सक्छ। कानूनले हामीलाई दिएको अधिकार हामी प्रयोग गर्नेछौँ।’
अन्तरिम सरकारले हसिनाको राहदानी रद्द गरिसकेको अवस्थामा उनी कसरी बाङ्लादेश फर्किन सक्छिन् भन्ने प्रश्नमा मन्त्रीले भने, ‘त्यो उहाँको समस्या हो, मेरो होइन। उहाँ जहिलेसुकै हाम्रो भूभागमा आउनुहुन्छ, कानूनबमोजिम मलाई प्राप्त अधिकार प्रयोग गरिनेछ।’
सन् २०२४ को अगस्टमा विद्यार्थीहरूको हिंसक सडक प्रदर्शनपछि हसिनाको सरकार ढलेको थियो र उनी भारत शरण लिन पुगेकी थिइन्। त्यसपछि बनेको अन्तरिम सरकारले हसिनाको राजनीतिक दल ‘अवामी लिग’लाई विघटन गरेको थियो।
नोभेम्बर २०२५ मा बाङ्लादेशको ‘इन्टरनेसनल क्रिमिनल्स ट्रिब्यूनल’ले सन् २०२४ को आन्दोलन दबाउने क्रममा भएको हिंसामा संलग्न रहेको भन्दै हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको थियो।
यद्यपि, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र संयुक्त राष्ट्रसङ्घको मानवाधिकार आयोगले उक्त कानुनी प्रक्रिया र फैसलाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका थिए।
यस वर्षको सुरुमा भएको आम निर्वाचनपछि बाङ्लादेश नेसनलिस्ट पार्टी सत्तामा आएको छ र तारिक रहमान नयाँ प्रधानमन्त्री बनेका छन्। बाङ्लादेश सरकारले भारतसँग हसिनाको सुपुर्दगी को माग निरन्तर गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment