इन्डोनेसियामा यात्रुवाहक फेरिमा भीषण आगलागी: पाँच जनाको मृत्यु, ३९ बेपत्ता, २२७ जनाको जीवितै उद्धार

डिसी नेपाल
१८ साउन २०८३ १०:२२

सुराबाया। इन्डोनेसियाको जाभा टापुनजिकै आइतबार एक यात्रुवाहक फेरिमा भयानक आगलागी हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने ३९ जना अझै बेपत्ता छन्।

उद्धारकर्मी तथा आसपासका क्षेत्रमा रहेका अन्य जहाजहरूको सहयोगमा २२७ जना यात्रु एवं चालक दलका सदस्यहरूलाई जीवितै उद्धार गरिएको छ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) ले दिएको जानकारीअनुसार ‘मुतियारा सेन्टोसा–२’ नामक फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ गइरहेका बेला यो दुर्घटना भएको हो।

सुमेनेप जलक्षेत्रमा बिहान ६:०० देखि ७:०० बजेको बीचमा आगलागी सुरु हुँदा उक्त फेरिमा २३२ जना यात्रु, ३९ जना चालक दलका सदस्य र १८१ वटा सवारीसाधन (जसमा धेरैजसो ट्रक र एउटा एक्साभेटर सम्मिलित थिए) सवार थिए।

बासारनासका अनुसार फेरि सञ्चालक कम्पनी ‘पीटी एटोसिसम लाम्पुङ पेलायारन’ले घटना भएको करिब एक घण्टापछि मात्र सुराबाया खोज तथा उद्धार कार्यालयलाई औपचारिक जानकारी गराएको थियो। मादुरा टापुको उत्तरी क्षेत्रमा जहाजमा आगलागी भएको सूचना कप्तानबाट प्राप्त भएलगत्तै सम्पर्क विच्छेद भएको कम्पनीले जनाएको छ।

अधिकारीहरूले बिहान ९:४५ बजे उक्त फेरिलाई बुरुआन सापुडी टापुभन्दा करिब १९ नटिकल माइल उत्तरमा अवस्थित रहेको पत्ता लगाएका थिए। ज्वलनशील पदार्थ बोकेको ‘मेराटस प्रोजेक्ट-३’ नामक कार्गो जहाजले घटनास्थलबारे पहिलो जानकारी दिए तापनि सुरक्षा जोखिमका कारण आगलागी भएको फेरिनजिक पुग्न सकेको थिएन।

राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँको मुस्लो निस्किएको र जहाजको अधिकांश भाग आगोको लप्काले ढाकेको दृश्य देखिन्छ।

यस्तै सामाजिक सञ्जालमा बाहिरिएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रुहरू उद्धारको पर्खाइमा डेकमा भेला भएका र केही आत्तिँदै समुद्रमा हामफालेका दृश्यहरू कैद भएका छन्।

प्राप्त विज्ञप्तिअनुसार बिहान १०:०० बजेको आसपास एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाजहरू घटनास्थलमा पुगेर उद्धार कार्य अघि बढाएका थिए।

आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनालाई सकुशल निकालिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले पुष्टि गरेको छ। आगलागीको मुख्य कारण अझै खुल्न सकेको छैन भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

उद्धार गरिएका यात्रुमध्येका अहमद अब्दुल करिमका अनुसार तल्लो सवारी डेकमा खडा गरिएको एउटा ट्रकबाट आगो सल्किन सुरु भएको थियो। त्यसपछि चलेको तीव्र हावाका कारण आगो छिट्टै फैलिएको र ३० मिनेटभन्दा कम समयमै सबै यात्रुलाई जहाजको अगाडिको भागमा जान निर्देशन दिइएको उनले बताए।

खोज तथा उद्धार टोलीले सुराबायाबाट उद्धार जहाज परिचालन गरे पनि घटनास्थल पुग्न करिब छ घण्टा लाग्ने अनुमान थियो। उता सुमेनेपबाट पठाइएको उद्धार डुङ्गा भने खराब मौसम र समुद्री उच्च छालका कारण बीच बाटोबाटै फर्किन बाध्य भएको थियो। उद्धार कार्यलाई थप तीव्रता दिन इन्डोनेसियाली नौसेनाले आफ्ना युद्धपोतहरूसमेत परिचालन गरेको थियो।

सन् १९९२ मा जापानमा निर्माण गरिएको यो १६० मिटर लामो फेरि सन् २०१५ मा इन्डोनेसियाले खरिद गरेको हो। यसअघि ‘फेरी ओसाका’ नामबाट जापानको ओसाका-शिनमोजी रुटमा चल्ने यो जहाज हाल सुराबाया-मकासार रुटमा यात्रु तथा मालसामान ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो।

सत्र हजारभन्दा बढी टापुहरू मिलेर बनेको इन्डोनेसियामा जलयात्रा नै यातायातको मुख्य आधार हो। तर फितलो सुरक्षा मापदण्ड र कमजोर व्यवस्थापनका कारण त्यहाँ पटक-पटक यस्ता दर्दनाक समुद्री दुर्घटनाहरू दोहोरिने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *