कक्रोच आन्दोलनले उपचुनाबमा भाजपालाई धक्का, अध्यक्षको सिटमा नयाँ पार्टीको अग्रता

डिसी नेपाल
१८ साउन २०८३ १४:५९

काठमाडौं । भारतमा देशव्यापी रूपमा चर्किएको ‘कक्रोच आन्दोलन’ र युवा तथा विद्यार्थीहरूको असन्तोषको प्रत्यक्ष असर उपनिर्वाचनको मतगणनामा देखिएको छ। भारतीय जनता पार्टी (भाजपा) को बलियो राजनीतिक पकड मानिने बिहारको बाँकीपुर विधानसभा सीटमा जारी मतगणनामा सत्तारुढ दल भाजपा पछाडि परेको छ भने नयाँ गठित जन सुराज पार्टीका प्रशान्त किशोरले फराकिलो अग्रता कायम राख्दै धक्का दिएका छन्।

निर्वाचन आयोगका अनुसार कुल ३१ राउन्डको मतगणनामध्ये १५ राउन्डको गणना सकिँदा जन सुराज पार्टीका प्रमुख प्रशान्त किशोरले २९,७५२ मत प्राप्त गरी ८,२०२ मतको अग्रता बनाएका छन्। उता भाजपाका उम्मेदवार नीरज कुमार २१,५५० मतका साथ दोस्रो स्थानमा खुम्चिएका छन् भने आरजेडीकी रेखा कुमारी तेस्रो स्थानमा छिन्।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले राज्यसभामा प्रवेश गरेपछि खाली भएको यो सीट भाजपाको ‘अभेद्य गढ’ मानिन्थ्यो। तर, हालै दिल्लीसहित देशका विभिन्न भागमा युवा तथा विद्यार्थीहरूले सञ्चालन गरेको ‘कक्रोच आन्दोलन’ पछि भएको यो उपनिर्वाचनलाई सत्ता पक्षप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको थियो। आन्दोलनको रापताप र युवाहरूको आक्रोशका कारण भाजपाका पूर्वघोषित उम्मेदवारले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि नीरज कुमारलाई अघि सारिएको थियो।

यसैगरी, मध्य प्रदेशको दतिया विधानसभा सीटमा पनि भाजपालाई ठूलो झट्का लागेको छ। १५ राउन्डको मतगणनामध्ये ७ राउन्ड सकिँदा भाजपाका आशुतोष तिवारी कांग्रेसका घनश्याम सिंहभन्दा ३,२९५ मतले पछाडि परेका छन्। यहाँ आजाद समाज पार्टीका दामोदर यादव तेस्रो स्थानमा छन्।

यद्यपि, गुजरातको माञ्जलपुर सीटमा भने भाजपाले आफ्नो वर्चस्व कायम राखेको छ। १९ राउन्डमध्ये १७ राउन्डको गणना सकिँदा भाजपाका सत्येन्द्रभाइ पटेलले कांग्रेसका भीखाभाइ रबारेभन्दा करिब २८ हजार मतको फराकिलो अग्रता बनाएका छन्।

जुलाई ३० मा भएको यस उपनिर्वाचनमा विशेषगरी बाँकीपुर जस्तो शहरी क्षेत्रमा मतदाताको उपस्थिति ३५ प्रतिशतमा सीमित रहे पनि राजनीतिक विश्लेषकहरूका अनुसार युवा आन्दोलनको लहरले परम्परागत चुनावी समीकरणलाई भत्काइदिएको छ।

सन् २०२५ को चुनावमा एउटै सीट जित्न नसकेको जन सुराज पार्टीले भाजपा अध्यक्षकै पूर्व-सीटमा अग्रता लिनुलाई कक्रोच आन्दोलनपछि पैदा भएको नयाँ राजनीतिक विकल्पको रूपमा व्याख्या गर्न थालिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *