राम्रो भविष्यको खोजीमा सेउटा पुगेका ८०० बालबालिकाको बिजोग, अभिभावक बेपत्ता
काठमाडौं । राम्रो जीवन, रोजगारी र युरोप पुग्ने आशामा मोरक्कोका हजारौँ मानिसहरू सेउटा पुगेका छन्। त्यहाँबाट स्पेन हुँदै युरोपका अन्य देशहरूमा जान सहज हुने आशा उनीहरूमा थियो।
तर, अचानक ठूलो सङ्ख्यामा आप्रवासीहरू आइपुगेपछि त्यहाँको स्थिति निकै बिग्रिएको छ। दुःखद कुरा त के छ भने, यतिबेला करिब ८०० बालबालिकाहरू मातापिता वा कुनै अभिभावकविना नै सेउटामा अलपत्र परेका छन्।
यी बालबालिकाहरूले भोगेको पीडाको कल्पना गर्न पनि गाह्रो छ। कसैका आमाबुबा उनीहरूकै अगाडि समुद्रमा डुबे भने कतिपय आफ्ना अभिभावकबाट बिछोडिए। अहिले उनीहरूको भविष्यमाथि गम्भीर सङ्कट मडारिएको छ।
स्पेनको कानुनअनुसार अभिभावकविना आएका नाबालकहरूलाई विशेष संरक्षण प्रदान गरिन्छ। हाल यी ८०० बालबालिकाको साथमा कोही पनि छैनन्। धेरैजसो बालबालिकाहरू सरकारी संरक्षण केन्द्रहरूमा बसिरहेका छन्, तर रिपोर्टहरूलाई मान्ने हो भने ती केन्द्रहरू पनि अब पूर्ण रूपमा भरिइसकेका छन्।
प्राप्त जानकारीअनुसार अत्यधिक मात्रामा मानिसहरू भित्रिएका कारण शिविरहरूमा ठाउँको अभाव देखिएको छ। खानपिन, पिउने सफा पानी र बसोबासको व्यवस्थामा भारी दबाब परेको छ।
स्थिति यतिसम्म बिग्रिएको छ कि धेरै मानिसहरू डाँडाकाँडा र खुला आकाशमुनि बस्न बाध्य भएका छन्। परिस्थितिलाई दृष्टिगत गर्दै स्पेनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ, जसका कारण धेरै मानिसहरू सीमामै अड्किएका छन्।
उता, वयस्क आप्रवासीहरूको मामला भने फरक छ। उनीहरूले शरणका लागि आवेदन दिन सक्छन्, तर आवेदन अस्वीकृत भएमा उनीहरूलाई पुनः मोरक्को नै फिर्ता पठाउन सकिन्छ। पछिल्ला केही दिनहरूमा धेरै वयस्कहरू कि त आफैँ फर्किएका छन् वा स्पेनिस प्रहरीले उनीहरूलाई फिर्ता पठाइदिएको छ।
यद्यपि, अहिले सबैभन्दा ठूलो प्रश्न यही बनेको छ कि यी ८०० बेसहारा बालबालिकाको भविष्य के हुनेछ र उनीहरूको जिम्मेवारी कसले लिनेछ?
No ads found for this position

डिसी नेपाल
Facebook Comment