ट्रम्पको शान्ति योजनामा नेतन्याहुका असहमति, गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने अडान
काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा शान्ति योजनाको कार्यान्वयन ढाँचाप्रति आफ्ना केही गम्भीर असहमति रहेको बताएका छन्।
गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि सशस्त्र समूह हमासको पूर्ण निशस्त्रीकरण र सो क्षेत्रलाई सैन्यमुक्त (डिमिलिटराइज्ड) बनाउनुपर्ने अडान उनले दोहोर्याएका छन्।
अल जजिराका अनुसार ‘बोर्ड अफ पिस’का प्रमुख दूत निकोलाय म्लाडेनोभसँगको भेटपछि बोल्दै प्रधानमन्त्री नेतन्याहुले हमाससँगको हालैको सम्झौताका केही बुँदामा आफू सहमत हुन नसकेको दाबी गरे।
उनले गाजामा पुनर्निर्माणको काम अघि बढाउनुअघि हमासलाई पूर्ण रूपमा निशस्त्र बनाउनु अनिवार्य सर्त भएको बताए। इजरायलका राष्ट्रपति इसाक हर्जोगले भने ट्रम्पको २० बुँदे गाजा शान्ति योजना र बोर्ड अफ पिसको पहललाई सकारात्मक कदम भन्दै हमासको पूर्ण निशस्त्रीकरण हुनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, गाजा सङ्क्रमणकालीन योजनाको कार्यान्वयनबारे स्पष्ट पार्दै ‘बोर्ड अफ पिस’ले पनि इजरायली सेना (आईडीएफ) को फिर्ती हतियारहरूको पूर्ण निष्क्रियकरणपछि मात्र सम्भव हुने जनाएको छ।
बोर्डका अनुसार हमासले मध्यस्थकर्ताहरूसँग गरेको प्रतिबद्धता अनुसार हल्का तथा भारी हतियार र सुरुङ संरचनाहरूको पूर्ण अन्त्य नभएसम्म इजरायली सेना ‘येलो लाइन’ भन्दा पछाडि हट्ने छैन।
हालैका केही रिपोर्टहरूमा जनाइएजस्तो इजरायली सेनाको तत्काल वा आंशिक फिर्तीको खबर गलत भएको बताउँदै बोर्डले गाजामा बन्दुकको शासन अन्त्य गरी नागरिक शासनतर्फको सङ्क्रमण नै मुख्य लक्ष्य रहेको वक्तव्यमार्फत स्पष्ट पारेको छ।
उक्त सङ्क्रमणकालीन प्रक्रियाको निगरानी अन्तर्राष्ट्रिय स्थायित्व बल (इन्टरनेसनल स्टेबलाइजेसन फोर्स) र अमेरिका तथा बोर्ड अफ पिसका प्रतिनिधिहरू रहने कार्यान्वयन प्रमाणीकरण समितिले गर्नेछ।
यता,इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको सम्झौताको स्वरूपले इजरायलको आधिकारिक अडानलाई पूर्ण रूपमा प्रतिबिम्बित नगरेको टिप्पणी गरेका छन्।
हमासले आफ्ना हतियार भौतिक रूपमै नबुझाएसम्म इजरायलमाथिको सुरक्षा थ्रेट कायम रहने भएकाले आफ्ना सुझाव र चासोहरू अमेरिकी अधिकारीहरू समक्ष पठाइसकिएको उनले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment