अध्यात्म

परमात्मा को हो र कसरी गर्ने अनुभूति?

शंकरप्रसाद रिजाल
२३ साउन २०८३ ७:३२

परमात्मा के हो, को हो र कहाँ छ? परमात्मा कुनै व्यक्ति होइन; अतः यो ‘को हो’ भन्ने कुरा तर्क वा शब्दबाट बुझ्न सकिँदैन। परमात्मा एक अनुभूति हो।

प्रेम जस्तो छ, परमात्मा पनि त्यस्तै छ। यो केवल अनुभव गर्ने विषय हो। प्रेम कहाँ छ, कस्तो छ र कुन ठाउँमा छ भन्ने कुरा जसरी भौतिक रूपमा थाहा हुँदैन, परमात्मा पनि त्यस्तै हो। तर ठूला-ठूला पण्डितहरूले धेरै वर्ष अघिदेखि परमात्मालाई एक व्यक्तिका रूपमा व्याख्या गर्दै आएका छन्।

वास्तवमा परमात्मा सिङ्गो ब्रह्माण्डको सम्पूर्ण रूप हो। हेर्न सके हेर, देख्न सक्छौ; तर सही दृष्टि नभए देख्न सकिँदैन। परमात्मालाई न कुनै पण्डितले देखाउन सक्छन्, न त कुनै सन्त-महन्तले नै।

तर यी पण्डित र सन्त-महन्तहरूले परमात्माको अनुभूति गर्ने प्यास भने जगाउन सक्छन्; आफूभित्र रहेको सौन्दर्यलाई उजागर गर्ने नियम सिकाउन सक्छन्। किनकि परमात्मा स्वयं एक परम सौन्दर्य हो।

परमात्मालाई जान्न र बुझ्न मानिसले सबैभन्दा पहिला झुक्न जान्नुपर्छ। मानिसले झुक्ने र समर्पण गर्ने बानी बसालेमा हाम्रा सारा घमण्डहरू मरेर जान्छन्। जहाँ झुकाव र समर्पण हुन्छ, त्यहाँ परमात्माको पाइला टेकिएको हुन्छ।

हामी झुक्यौँ र पूर्ण रूपमा समर्पण भयौँ भने मात्र परमात्माले आफ्नो हात हाम्रो शिरमा राख्न सक्छन्। समर्पणमा हामीभित्रका सारा करुणा, दया, माया र ममता द्रवीभूत भई हृदयबाट जब प्रेमको झरना बग्न थाल्छ, तब सर्वत्र आनन्दै आनन्द प्राप्त हुन्छ। बस, यही नै परमात्माको दर्शन र अनुभूति हो।

जसले यो सामान्य जीवनलाई ‘महाजीवन’मा परिणत गर्न सक्छ, उसैले परमात्माको अनुभूति गर्न सक्छ। मानिसको जीवन एक गीत हो, भजन हो र हरेक सौन्दर्यविधाहरूको पारख हो।

यी सम्पूर्ण पारखी तत्वहरूलाई आफूभित्र उजागर गर, अनि मात्र परमेश्वरको अनुभूति गर्न सकिन्छ। धेरैजसो मानिसहरू परमेश्वर प्राप्त गर्न विभिन्न जिज्ञासा राख्छन् र आफ्नो बुद्धिको प्रयोग गर्छन्। तर यो सबै आफ्नो मस्तिष्कको चिलाउने काम (अनावश्यक बौद्धिक कसरत) मात्र हो, जुन एकैछिनपछि आफैँ हराएर जान्छ। परमात्मा पाउन जिज्ञासा होइन, तीव्र प्यासको भरपूर जरुरत पर्दछ।

जसरी जलको प्यास भएको मानिस नदी-नाला खोज्दै हिँड्छ, त्यसरी नै भगवान प्राप्तिको सच्चा प्यास भएको मानिसले त्यसकै सही मार्ग पहिचान गरी खोज गर्नुपर्छ। प्रेम र भक्तिमार्गमा हिँड्नेका लागि भक्ति, समर्पण र दण्डवत्‌को अत्यन्तै आवश्यकता पर्दछ।

खोजेमा यहाँ जे पनि पाइन्छ, तर त्यो चीज ब्रह्माण्डमा अस्तित्वमा हुनुपर्छ। जसरी सयौँ तला माथिबाट खसेको सानो सियो भुइँमा भेट्टाउन गहन खोज र संयमशीलताको जरुरी पर्छ, त्यसरी नै परमात्मा प्राप्त गर्न वा अनुभूत गर्न त्यस्तै समर्पणयुक्त खोजको आवश्यकता पर्दछ।

परमात्मालाई बाहिर भेट्टाउने यहाँ कोही छैनन्, तर अनुभूति गर्ने एकाध व्यक्ति होलान्, त्यो अर्कै कुरा हो। अरबौँ मानिसको समूहमा एक-दुई जनाले परमात्माको अनुभूति गरे भने त्यसलाई नकार्न सकिँदैन।

तर यहाँ तिनै एकाध मानिसको अन्धअनुकरण र नक्कल गर्दै आफ्नो कमाउने भाँडो बनाउने काम भइरहेको छ। ‘कहाँ देउता आयो रे, कसको शरीरमा देवी आइन् रे, कसैमा शिवजी आए रे त कसैमा हनुमान आए रे’ भन्दै मानिसहरूलाई दिग्भ्रमित पारिएको छ। मौकामा मानिसहरू भेला गराई पैसा लुट्ने काम मात्र भइरहेको छ।

यहाँ ईश्वर वा परमात्माको नाममा मानिसहरूले आफ्नो व्यापार चलाइरहेका छन्। अनेक प्रपञ्च र धन्दा गरी गरिब, अञ्जान र निर्धनहरूले दुःख-जिलो गरेर कमाएको दुई-चार हजार रुपैयाँ अनेक बहाना बनाई, ईश्वरको डर र त्रास देखाइ लुटिरहेको प्रशस्त पाइन्छ। कोही भूत-प्रेतको डर देखाएर लुट्छन् त कोही देवी-देवताको नाममा त्रास फैलाएर लुट्ने धन्दा चलाइरहेका छन्।

परमात्मा र भूत-प्रेतका नाममा डर देखाई नगद लुट्ने यस्ता पाखण्डीहरूबारे बुद्धिमान र चेतनशील मानिसहरूले नै सोच्नुपर्छ। देवी-देवताका नाममा धर्मको प्रचार-प्रसार गर्ने, परमात्मा को हो भन्दै सोझा जनतालाई आफ्नो वाक्‌पटुता (चतुर बोली) द्वारा विश्वास दिलाउने र समाजलाई अन्धविश्वासको घेराभित्र धकेल्ने काम भइरहेको छ।

उनीहरूका सारा ऊर्जा र उर्वरा शक्तिलाई भित्रै जमाएर काई वा लेउको सिर्जना गरिँदैछ। जनतालाई धर्मको अफिम पिलाएर वास्तविकतातन्दा काल्पनिक सहरमा घुमाउने र डुलाउने काम यहाँ प्रशस्तै देखिन्छ।

वास्तवमा मानिसमा हुनुपर्ने मानवीय गुणहरू-दया, माया, करुणा, विवेक, सकारात्मक सोच, सहकार्य र सहिष्णुता हुन्। यी चरित्रहरू मानिसमा प्रशस्त मात्रामा हुनुपर्दछ। यही सत्‌चरित्रले मानिसलाई स्वयं ईश्वर बनाउँछ; अरू कुनै काल्पनिक ईश्वर र परमात्माको जरुरत नै पर्दैन।

अञ्जान मानिसहरूले आत्मा, ईश्वर, भगवान र परमात्मा भन्दै बारम्बार नाम जपिरहेका छन्। ठूलो स्वरमा राग अलापेर ईश्वरलाई जगाउने चेष्टा गरिरहेका छन्। तर परमात्मा वा ईश्वर त्यसरी सजिलै पाउन सकिने, भेटिने वा आँखाले देख्न सकिने कुरा होइन।

यो त आफ्नो स्व-शक्तिले अत्यन्त ध्यान र समर्पणमा विलीन भई गरिने अनुभूति मात्र हो, जसको कुनै कागजी प्रमाण हुँदैन। गुण र दोषलाई सँगसँगै बोकेर हिँड्ने जोकोहीले पनि परमात्माको अनुभूति गर्न सक्दैनन्, दर्शनको त कुरै छाडौँ।

परमात्माको अनुभूति गर्न परमात्मासँग नजिकिने विशेष सञ्जाल (नेटवर्क) को ‘पासवर्ड’ पत्ता लगाउनुपर्छ, तब मात्र परमात्माको समीप रहन सकिन्छ। त्यो पासवर्ड हो- गहिरो एकाग्रताको ध्यान! जहाँ कुभावना, खराब कर्म र दूषित चरित्रको एक थोपा पनि आभास हुनुहुँदैन; जहाँ केवल निष्काम कर्मको भावना हुनुपर्छ। यो ठूलो कठिन काम र आध्यात्मिक उकालो हो, जसको वजन सामान्य मानिसले थाम्न सक्दैनन्।

घर र मन्दिरमा पूजा पनि गर्ने, अनि अन्य काममा भने रिसाउने, झोकिने, ठग्ने, चोरी गर्ने, झूट बोल्ने र अरूलाई दबाउने जस्ता काम गर्ने मानिसहरूले परमात्मा खोज्नु भनेको जीवनको अमूल्य समय व्यर्थ फाल्नु मात्र हो। मन बुझाउनु अर्कै कुरा हो, नत्र यस्तो आचरणले परमात्मा पाइँदैन।

यो संसारमा सही मार्गबाट खोजे नपाइने कुरा केही छैन। तर यो छोटो जीवनमा जन्मिएर, सुख-दुःखको कुण्डमा नुहाएर, अनि अनेक ढाँट र छल गर्दै परमात्माको अनुभूति पाउँछु भन्नु केवल ‘चिया गफ’ मात्र हुन जान्छ।

धर्ममा ध्यान, मौनता, समर्पण, सहिष्णुता र साँचो भक्ति भए पुग्छ- जुन कुरा ढोलक र झ्याली पिटेर हासिल गर्न सकिँदैन। यो प्रचार-प्रसार गरेर पाइने कुरा पनि होइन। यसका लागि एकाग्र मनका साथै क्रोध, लोभ, मोह, मद र मात्सर्य (ईर्ष्या) जस्ता षड्रिपुहरूबाट धेरै-धेरै टाढा रहनुपर्छ; जुन अति नै कठिन कर्म हो।

हरेक मन्दिरमा बस्ने कतिपय मानिसहरू, जो कुनै न कुनै सांसारिक इच्छा राखी बसेका हुन्छन्, ती सब आफ्नो र आफ्नो परिवारको स्वार्थका लागि बसेका हुन्छन्। तिनीहरू लोभमा फसेका हुन्छन्-भलै ती बाहिरबाट जतिसुकै सीधा र सज्जन किन नदेखिएका हुन्।

परमात्माको अनुभूति यो बाहिरी भौतिक संसारमा असम्भव छ। यसको अनुभव गर्न आफूभित्र रहेको ‘जीवन-सिन्धु’मा डुबुल्की मार्न सक्नुपर्छ। डुबुल्की मार्दा आफूले कल्पना गरेको जुन कुरा हुन्छ, त्यसकै अनुभूति पाएपछि ‘मैंने पाएँ’ भन्ने मात्र हो।

परमात्माको रूप देखेँ भनेर मानिसले जे देख्छ, त्यसैलाई देखेँ भन्छ। तर देखेको कुरा सधैँ सत्य नहुन पनि सक्छ। तैपनि जे देख्यो, त्यसैलाई सत्य मानी संसारलाई सुनाउने र अरूलाई विश्वास दिलाउने प्रयास गरिन्छ।

यस्ता मनगढन्ते र काल्पनिक कुराहरूलाई स्थापित गरी ‘परमात्मा यस्तो-उस्तो हो’ भन्नु भनेको आफूभित्र साकार भएको अमूर्त कल्पनालाई मूर्त रूप दिई संसारलाई नचाउनु मात्र हो। यस्ता मिथ्या कुरालाई गोलमोल गरी ‘परमात्मा देखेँ र परमात्मा छ’ भन्नु नजान्ने र नदेख्ने मानिसहरूलाई रनभुलमा पार्नु हो।

कल्पनामै डुब्ने हो भने आकाशको बादललाई हेर-त्यहाँ आफूले कल्पेका हरेक आकृतिहरू पाउँछौ। कल्पना गरेअनुसार कहिले बाघ, सिंह, हात्ती, घोडा, रथमा चढेका सूर्यनारायण, शिव, राम, कृष्ण, आत्मासहितका मानिसका जमातहरू र परमेश्वर भनिएका नारा-नारायण एवं परमात्माका बिम्बहरू देखिन्छन्।

बस, जे खोज्यो त्यही पाउने भनेको यही काल्पनिक जगत्मा हो। यो भ्रमित संसारमा कल्पनाभित्र के पाइँदैन र! तर यथार्थमा भन्ने हो भने, चेतनाले जे प्रत्यक्ष बोध गर्छ, त्यसैलाई मात्र सत्य ठान्नुपर्छ।

थाहा छैन परमात्मा, ईश्वर, शिव, राम, कृष्ण, येशु, पैगम्बर वा अरू परमहंसहरू कहाँ रहेका छन्, कस्तो अवस्थामा छन् र उनीहरूको अनुहार कस्तो छ! यी त कलाकार, मूर्तिकार र शिल्पकारका अनुपम कला हुन्। चाहे पत्याऊ या नपत्याऊ; यसमा पत्याउनेलाई पत्याउन दिनु र नपत्याउनेलाई नपत्याउन दिनु नै राम्रो हुन्छ।

परमात्मा पाउन सारा सांसारिक प्रपञ्च छाडी आफूभित्रकै जीवनमा रमाउनुपर्छ। जीवन जे छ, भित्रै छ; परमात्मा जे छ, हामीभित्रै छ। हामीभित्रको जीवनलाई सही रूपमा बुझ्नु नै एक परमात्मालाई बुझ्नु हो।

परमात्मा भेट्टाउन दुई पैसा पनि खर्च गर्नु पर्दैन। केवल आफूभित्र गन्हाएर बसेका रिस, राग, द्वेष, कलह, डाह, ईर्ष्या, घमण्ड, मोह र मायालाई पूर्ण रूपमा त्यागिदिनुपर्छ। आफूलाई सर्वश्रेष्ठ होइन, केही पनि होइन भन्दै शून्यमा ल्याएर समर्पण गरी ध्यानमग्न र मौन बस्नुपर्छ।

बस, यही शून्यबाट निस्किने आनन्दको लहर नै परमात्माको अनुभूति गर्ने साँचो कौसी (कसौटी) हो। मौनता र ध्यानमा भित्रको आत्मा जाग्छ र बोल्न थाल्छ। तर मानिस जति बाहिर बोलिरहन्छ र अनेक कुराको प्रवचन दिइरहन्छ, भित्र आत्माको बोली त्यति नै धीमा गतिमा शिथिल हुँदै जान्छ।

अलिकति जान्नेबित्तिकै बोल्न थाल्दा त्यसमा ९० प्रतिशत गल्ती हुन सक्छ र तिनै गल्तीले अरूलाई पनि गलत मार्गमा लैजाने प्रबल सम्भावना हुन्छ।

आत्मा र परमात्माको बोध भएका मानिसहरू धेरै बोल्दैनन्, आफ्नो परिचय दिँदै हिँड्दैनन्। धेरै सार्वजनिक र प्रचारबाजी हुँदा मानिसभित्रको पूर्णता क्षीण हुँदै जान्छ र उसको सारा आध्यात्मिक शक्ति हराएर जान्छ। मौनतामा मात्र सबै शक्ति जुर्मुराएर उठ्छ र मानिस सर्वशक्तिमान् बन्दछ।

मनलाई कसैले पनि ‘बजार’ नबनाओस्, त्यसको सट्टा मनलाई ‘मन्दिर’ बनाऊ-ताकि मन्दिरको गर्भगृहभित्र रहेको परमात्माको साँचो अनुभूति हुन सकोस। परमात्माको परिचयको घोषणा गर्दै हिँड्नेहरूले परमात्माको अनुभूति गरेकै हुँदैनन्।

तर मौनतामा आफ्नो जीवनलाई सधैँ जीवन्त बनाई साधना गर्नेहरूले मात्र यसलाई बुझ्छन्। भनिन्छ, विगत ५००० वर्षदेखि बद्रीनाथ मन्दिरको हिमशिखरमा ध्यानमग्न रहेका महाअवतार बाबाले सायद परमात्मालाई जाने-बुझेका छन् कि भन्न सकिन्छ!

अरू बाबाहरू, जो हरदम सम्वादमा रहन्छन्, आफ्नो आधिपत्य कायम राख्न खोज्छन् र समाजलाई ‘आत्मा र परमात्मा यस्तो हुन्छ’ भन्दै प्रवचन छाट्छन्-तिनीहरू कसैले पनि आत्मा र परमात्मा चिनेका हुँदैनन्। यो त केवल आध्यात्मिक प्रवचन र पण्डित्याइँ मात्र हो।

आत्मा र परमात्मा बुझेका प्रकृतिका सूर्यले आफू तातो भएको कुरा कसैलाई भनेका छैनन्। अग्ला-अग्ला वृक्षहरू पनि आफ्ना सयौँ पातहरू झरेर नाङ्गो हुँदा केही प्रतिक्रिया जनाउँदैनन्; मौन रहेर नयाँ पालुवाको पर्खाइमा बसिरहन्छन्।

मानिसले पनि मौन रही नदीको लहर जस्तै आफ्नो जीवनलाई बगाउँदै लैजानुपर्छ। यो निरन्तरतामा आखिर नदीले सागर भेटिहाल्छ। यो परमात्माको शाश्वत नियम हो।

अतः परमात्मा भने पनि, ईश्वर भने पनि वा भगवान् भने पनि-ती सब रूपहरू बाहिर खोजेर भेटिने होइनन्। त्यसलाई आफ्नो लयमा खाली जान्ने हो, अनुभूत गर्ने हो र आफूभित्रै स्वयं जागृत गराउने हो। बाहिरको भीडमा यसलाई खोज्नु व्यर्थ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *