स्पेसएक्सको रकेटको ४ टनको टुक्रा आज चन्द्रमामा ठोक्किँदै, पृथ्वीमा कस्तो असर पर्ला ?
काठमाडौं । गत वर्षदेखि अन्तरिक्षमा तैरिरहेको ‘स्पेस-एक्स’ रकेटको चार टन तौल भएको एउटा भाग बुधवार उच्च गतिमा अन्जानवश चन्द्रमामा ठोक्किने भएको छ। यो ठक्करबाट पृथ्वीलाई कुनै खतरा नभए पनि चन्द्रमामा एक नयाँ खाडल (क्रेटर) बन्नेछ भने वैज्ञानिक अनुसन्धानका लागि नयाँ अवसर प्राप्त हुनेछ।
एक स्कूल बस आकारको यो वस्तु स्पेस-एक्स फाल्कन ९ रकेटको दोस्रो भाग (सेकेन्ड स्टेज) हो, जसले जनवरी २०२५ मा ‘फायरफ्लाई एरोस्पेस’ को मुन ल्यान्डरलाई चन्द्रमातर्फ प्रक्षेपण गरेको थियो।
रकेटको यो भाग ५,४०० माइल प्रतिघन्टाको गतिमा ग्रिनविच मानक समय अनुसार बिहान लगभग ६:३५ बजे (नेपाली समय मध्यान्ह १२:२० बजे) चन्द्रमाको सतहमा ठोक्किने तय भएको छ। अन्तरिक्षको यो फोहोर (स्पेस जङ्क) ठोक्किएपछि चन्द्रमाको धूलोको एक ठूलो बादल उठ्नेछ, जुन सम्भवतः सूर्यको प्रकाशले चम्किनेछ तर पृथ्वीबाट नाङ्गो आँखाले भने देख्न गाह्रो हुनेछ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो टक्करबाट करिब ६० फिट (१८ मिटर) चौडा र १२ फिट (४ मिटर) गहिरो खाडल बन्नेछ भने धूलो र ढुङ्गाहरू बाहिरतिर छरिनेछन्।
रकेटको यो भाग चन्द्रमाको पश्चिमी किनारमा रहेको ‘आइन्स्टाइन क्रेटर’ मा ठोक्किने अपेक्षा गरिएको छ, जुन क्षेत्र प्रायः पृथ्वीबाट देख्न गाह्रो हुन्छ।
यद्यपि, नासाले प्रभाव पर्नुअघि र पछिका तस्बिरहरू लिने अवसरहरूको खोजी गरिने जनाएको छ। सङ्कलित तथ्याङ्कले वैज्ञानिकहरूलाई “कृत्रिम प्रभावहरू र तिनका अन्वेषणसम्बन्धी असरहरूलाई अझ राम्ररी बुझ्न” मद्दत पुर्याउनेछ।
नासाका जिमी रसेलले मङ्गलवार भने, “यो टक्करले पृथ्वीलाई कुनै खतरा पुर्याउँदैन। नासाका वैज्ञानिकहरू यस घटनाबाट चन्द्रमाको तथ्याङ्क सङ्कलन गर्ने र अन्तरिक्षमा रहेका वस्तुहरूलाई ट्र्याक गर्ने प्रविधिलाई अझ परिष्कृत गर्ने योजनामा छन्।”
सामान्यतया रकेटका यस्ता भागहरूले आफ्नो पेलोडलाई अन्तरिक्षको निश्चित कक्षमा पुर्याएपछि पुनः पृथ्वीको वातावरणमा खसेर जल्दछन् वा महासागरमा खस्ने गर्छन्।
तर, जनवरीको मुन ल्यान्डर मिसनका लागि पृथ्वी नजिकका मिसनहरूभन्दा बढी ‘थ्रस्ट’ (गतिको दबाब) आवश्यक परेकाले रकेटको दोस्रो भाग अन्तरिक्षमै रह्यो। त्यसयता यो भाग सक्रिय उपग्रहहरूले पन्छाउनुपर्ने हजारौँ अन्य अन्तरिक्ष फोहोरबिच उद्देश्यविहीन भएर तैरिरहेको थियो।
चालू वर्षको सुरुतिर मात्र खगोलविद्हरूले आफ्नो बाँकी इन्धन खाली गरिसकेको र नियन्त्रणबाहिर रहेको यो रकेटको भाग चन्द्रमामा ठोक्किने कक्षीय मार्गमा रहेको पत्ता लगाएका थिए।
“मूलतः सौर्य गतिविधि र गुरुत्वाकर्षण बलको मिश्रित प्रभावका कारण यो चन्द्रमाको मार्गमा पुगेको हो,” नासा विज्ञान र ड्रागन प्रोग्रामकी स्पेस-एक्स निर्देशक जुलियाना सेइमानले सोमबार पत्रकारहरूलाई भनिन्।
“यो विषय केही हदसम्म वैज्ञानिक चासोको हुन सक्छ र यसबाट हामीले केही नयाँ कुराहरू सिक्न सक्छौँ,” अप्रिलमा यस रकेटको टक्करसम्बन्धी प्रतिवेदन प्रकाशित गर्ने प्रसिद्ध खगोल विज्ञान सफ्टवेयरका निर्माता बिल ग्रेले भने, “यसले कसैलाई कुनै खतरा त पुर्याउँदैन, तर यसले अन्तरिक्षमा बाँकी रहेका पुराना उपकरणहरू (स्पेस जङ्क) को व्यवस्थापनप्रतिको लापरवाहीलाई भने उजागर गर्छ।”
चन्द्रमामा अन्तरिक्ष फोहोर ठोक्किने घटनाहरू विरलै हुन्छन्। मार्च २०२२ मा एक चिनियाँ रकेटको भाग चन्द्र परीक्षण मिसन पूरा गरेपछि चन्द्रमामा खसेको थियो। त्यस्तै, सन् २००९ मा नासाले टक्करबाट उठ्ने चन्द्रमाको धूलो र पदार्थहरूको अध्ययन गर्नका लागि जानाजानी एक रकेटको भाग चन्द्रमामा ठक्कर गराएको थियो।
हालैका वर्षहरूमा चन्द्रमामा सफ्ट ल्यान्डिङ (सुरक्षित अवतरण) गर्ने प्रयास गरेका धेरै अन्तरिक्ष यानहरू दुर्घटनाग्रस्त भएका छन्, जसमा सन् २०२३ मा रुसको न्युक्लियर-पावर्ड ‘लुना-२५’ मिसन र सन् २०१९ मा भारतको ‘चन्द्रयान-२’ ल्यान्डर मिसन रहेका छन्।
सोही वर्ष इजरायलको ‘बेरेसिट’ ल्यान्डर पनि दुर्घटनाग्रस्त भएको थियो। इजरायली ल्यान्डरका पेलोडहरूमा साना ‘टार्डिग्रेड्स’ (विकिरण र अन्य कठोर वातावरणमा पनि बाँच्न सक्ने सूक्ष्म जीव) थिए, जुन अझै पनि चन्द्रमाको सतहमा हुन सक्ने अनुमान गरिन्छ।
सेइमानका अनुसार नासा र स्पेस-एक्स भविष्यमा चन्द्रमामा हुने यस्ता टक्करहरू रोक्ने उपायहरूबारे छलफल गरिरहेका छन्।
यो टक्कर यस्तो समयमा हुन लागेको हो जब सार्वजनिक कम्पनीका रूपमा आफ्नो पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै मङ्गलवार स्पेस-एक्सले वाल स्ट्रिटको अपेक्षाभन्दा कम घाटा र आम्दानीमा उल्लेख्य वृद्धि भएको रिपोर्ट गरेको थियो। यद्यपि, कम्पनीका उच्च दाबीहरू पूरा गर्ने क्षमतामा लगानीकर्ताहरू शङ्कालु नै रहेकाले शेयर मूल्यमा भने गिरावट आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment