हर्मुज बन्द हुँदा पनि साउदीको तेल कम्पनीको नाफा कसरी बढ्यो ?

डिसी नेपाल
२० साउन २०८३ १५:५५

काठमाडौं । अमेरिका-इजरायल र इरानबीच जारी युद्धको असर विश्वभरको ऊर्जा बजारमा परिरहेका बेला साउदी अरबको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ ले भने यसै सङ्कटका बिच दोस्रो त्रैमासिकमा जबर्दस्त मुनाफा कमाएको छ।

कम्पनीको ‘एडजस्टेड नेट इन्कम’ वार्षिक आधारमा ३३ प्रतिशतले बढेर ३३.४ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यो २५.२ अर्ब डलर रहेको थियो। यद्यपि, कम्पनीको प्रतिवेदनअनुसार खुद मुनाफा ४४ प्रतिशतले बढेर ३२.६९ अर्ब डलर पुगेको छ।

होर्मुज जलडमरूमध्यमा लामो समयदेखि आपूर्ति अवरुद्ध हुँदा विश्वव्यापी तेल बजारमा दबाब बढेका बेला अरामकोको यो उत्कृष्ट नतिजा सार्वजनिक भएको हो। युद्धका कारण प्रशोधित र अप्रशोधित (कच्चा) तेल तथा रिफाइन्ड पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि भएको थियो।

प्रतिवेदनअनुसार दोस्रो त्रैमासिकमा अरामकोको हाइड्रोकार्बन उत्पादन र निर्यात केही हदसम्म प्रभावित भए पनि उच्च तेलको मूल्य र बलियो रिफाइनिङ मार्जिनको प्रत्यक्ष फाइदा कम्पनीलाई मिलेको छ।

साउदी अरबका लागि सबैभन्दा ठूलो फाइदा उसको वैकल्पिक निर्यात व्यवस्था बन्यो। होर्मुज जलडमरूमध्यमाथिको निर्भरता कम गर्नका लागि अरामकोले आफ्नो ‘इस्ट-वेस्ट पाइपलाइन’ को भरपुर प्रयोग गर्‍यो।

यो पाइपलाइनले देशको पूर्वी तेल क्षेत्रहरूलाई लाल सागरको तटमा रहेको ‘यानबु’ बन्दरगाहसँग जोड्दछ। अरामकोले पहिले नै यस पाइपलाइनको क्षमता बढाएर प्रतिदिन ७० लाख ब्यारेलसम्म पुर्‍याएको थियो, जसका कारण होर्मुजमार्फत हुने ढुवानीमा अवरोध आए तापनि वैकल्पिक बाटोबाट तेल निर्यात जारी राख्न मद्दत पुग्यो।

अरामकोका सीईओ अमिन नासिरले पनि कम्पनीको रणनीतिक व्यवस्थालाई महत्त्वपूर्ण बताएका छन्। उनका अनुसार होर्मुजमा आपूर्ति अवरुद्ध भए तापनि कम्पनीको विविध सम्पत्ति (एसेट्स), भण्डारण क्षमता, निर्यात टर्मिनल र वैकल्पिक पाइपलाइन सञ्जालले कारोबारलाई निरन्तरता दिन सहयोग पुर्‍याएको हो। कम्पनीको पहिलो त्रैमासिकको आधिकारिक नतिजामा पनि इस्ट-वेस्ट पाइपलाइन अधिकतम ७० लाख ब्यारेल प्रतिदिनको क्षमतासम्म पुगेको जानकारी दिइएको थियो।

अर्कातर्फ, युद्धको असर साउदी अरबका छिमेकी तेल तथा ग्यास उत्पादक राष्ट्रहरूमा भने बढी देखियो। होर्मुजमार्टको ऊर्जा निर्यातमा निर्भर रहेका देशहरूले ढुवानीमा कटौती वा ठूलो अवरोधको सामना गर्नुपर्‍यो। त्यसको तुलनामा साउदी अरब भने आफ्नो वैकल्पिक पाइपलाइन र पश्चिमी तटको निर्यात पूर्वाधारका माध्यमबाट आपूर्तिको ठूलो हिस्सा कायम राख्न सफल भयो।

यसरी इरान युद्ध र होर्मुज सङ्कटले विश्वव्यापी ऊर्जा बजारमा भारी उथलपुथल ल्याए तापनि साउदी अरामकोले तेलको उच्च मूल्य र वैकल्पिक निर्यात सञ्जालको फाइदा उठाउँदै दोस्रो त्रैमासिकमा बलियो मुनाफा कमाएको छ। यद्यपि, होर्मुज जलडमरूमध्य तुरुन्तै खुले पनि विश्वव्यापी तेल भण्डारलाई पुनः सामान्य स्तरमा ल्याउन समय लाग्न सक्ने चेतावनी अरामकोले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *