भारतद्वारा मेटा प्रमुख मार्क जुकरबर्गसँग ३ दिनभित्र निसर्त माफीको माग
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो फेसबुकबाट हटाएको प्रकरणलाई लिएर भारतको संसदीय समितिले मेटाका प्रमुख मार्क जुकरबर्गलाई तीन दिनभित्र निसर्त माफी माग्न निर्देशन दिएको छ।
यदि तोकिएको समयभित्र माफी नमागिएमा मेटाले भारतमा पाइरहेको कानुनी संरक्षण (लीगल सेफ हार्बर) र केही विशेष छुटहरू फिर्ता लिने विषयमा विचार गर्न सकिने चेतावनी दिइएको छ।
यसै मामिलालाई लिएर सूचना प्रविधि मन्त्रालय र मेटाका अधिकारीहरूबिच दुई दिने बैठक चलिरहेको छ। भारतीय सरकारले मेटाको ग्लोबल टोलीलाई नै दिल्ली बोलाएको छ। अगस्ट ५ मा उक्त बैठकको पहिलो दिन रहेको थियो।
प्रधानमन्त्री मोदीले गत जुलाई २३ मा उक्त भिडियो पोस्ट गरेका थिए। भिडियोमा उनले परीक्षाको प्रश्नपत्र बाहिरिने (पेपर लीक) समस्यालाई ठूलो चुनौतीका रूपमा प्रस्तुत गर्दै यस्ता मामिलाहरूको द्रुत सुनुवाइका लागि ‘फास्ट ट्रयाक कोर्ट’ (द्रुत अदालत) बनाउने कुरा गरेका थिए।
उक्त भिडियो केही समयका लागि फेसबुकबाट हटाइएको थियो। यद्यपि, विवाद बढेपछि मेटाले त्यसलाई पुनः फेसबुकमा उपलब्ध गराएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment