उद्घाटनको २० दिनमै पाँच पटक भासियो सडक, पङ्खाले सुकाउएको भिडियो भाइरल

डिसी नेपाल
२१ साउन २०८३ १३:००

काठमाडौं । लखनऊ-कानपुर एक्सप्रेसवे यतिबेला निकै चर्चामा छ। उद्घाटन भएको केवल २० दिनभित्र पाँच पटक सडक भासिएको र मर्मत गरिएका तस्बिरहरू बाहिरिएपछि अहिले पङ्खा (फ्यान) चलाएर सडक सुकाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यही भिडियो सेयर गर्दै समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले योगी सरकारमाथि तिखो प्रहार गरेका छन्। अखिलेश यादवले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा भिडियो साझा गर्दै लेखेका छन्, “यो भाजपाको विकासको नयाँ हावा हो।”

केही दिनअघि मात्रै उद्घाटन भएको सडकलाई यति चाँडै मर्मतको आवश्यकता पर्नुले गम्भीर प्रश्न खडा गरेको भन्दै उनले व्यङ्ग्य कसेका छन्। मर्मत गरिएको भागलाई छिटो सुकाउन पङ्खाको प्रयोग गरिनु आफैँमा हाँस्यास्पद स्थिति भएको उनले बताए।

एक्सप्रेसवेले उद्घाटनको दुई-तीन हप्ताभित्रै पटक-पटक मर्मत मागिरहेको अवस्थामा त्यसमा तीव्र गतिमा यात्रा गर्ने जोखिम कसले उठाउँछ भन्दै उनले प्रश्न तेर्स्याएका छन्। सपा प्रमुखले ‘अटल प्रोग्रेस-वे’ योजनामाथि पनि प्रश्न उठाउँदै भाजपा सरकारमा निर्माण कार्यको गुणस्तर लगातार शङ्काको घेरामा परेको आरोप लगाए।

लखनऊ-कानपुर एक्सप्रेसवेको उद्घाटन गत जुलाई १३ मा भएको थियो। करिब ६३ किलोमिटर लामो यस एक्सप्रेसवे निर्माणमा करिब ४,२०० करोड भारतीय रुपैयाँ खर्च भएको छ। उद्घाटनपछि एकतर्फी यात्राका लागि २७५ रुपैयाँ टोल ट्याक्स (शुल्क) निर्धारण गरिएको थियो। यद्यपि, उद्घाटनको केही दिनमै सडक भासिने र सतह खस्किने गुनासोहरू आउन थालेका थिए। अधिकारीहरूका अनुसार करिब २० दिनभित्र पाँच पटक सडक विभिन्न ठाउँमा धसिएको छ।

भारतीय समाचार संस्था ‘आजतक’ को टोली बुधबार साँझ घटनास्थल पुग्दा मर्मतको काम निरन्तर भइरहेको थियो। प्रभावित क्षेत्रमा एकतर्फी लेन बन्द गरिएको छ। जसका कारण दुवैतर्फको यातायात एउटै लेनबाट सञ्चालन भइरहेको छ। यो व्यवस्थाका कारण सवारी चालकहरूले सुस्त गतिमा यात्रा गर्नुपरेको छ। धेरै ठाउँमा ब्यारिकेडिङ गरी भारी मेसिनहरूको सहयोगमा सडक मर्मत भइरहेको छ।

यात्रीहरूका अनुसार टोल प्लाजाबाट प्रवेश गरेपछि अगाडि गएर यु-टर्न लिनुपर्ने बाध्यता छ। धेरै किलोमिटरसम्म सवारी साधनहरूलाई उल्टो दिशाको लेनबाट चलाइएको छ। केही यात्रीहरूले टोल प्लाजामा अगाडि सडक बिग्रिएको र ट्राफिक डाइभर्ट गरिएकोबारे पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका छन्। यद्यपि, अहिले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआइ) ले मर्मत नसकिएसम्म टोल असुली रोक्ने निर्णय गरेको छ।

लगातार गुनासो आएपछि एनएचएआइले निर्माण कम्पनी ‘पीएनसी इन्फोटेक’ विरुद्ध कडा कारबाही सुरु गरेको छ। प्राधिकरणले सडक परिवहन तथा राजमार्ग मन्त्रालयलाई उक्त कम्पनीलाई ‘नन-परर्फमर’ (काम गर्न नसक्ने) घोषित गर्न सिफारिस पठाएको छ।

यसका अलावा आयोजना निर्देशक नकुल प्रकाश वर्मालाई हटाइएको छ भने पूर्वआयोजना निर्देशक सौरभ चौरसियालाई चार्जसिट जारी गरिएको छ। आयोजना प्रबन्धक विवेक गुप्ता, रेजिडेन्ट इन्जिनियर यतेन्द्र कुमार र स्वतन्त्र इन्जिनियर टोलीका प्रमुख सुरेन्द्र कुमारलाई दुई वर्षसम्म एनएचएआइ र मन्त्रालयका आयोजनाहरूमा काम गर्न प्रतिबन्ध लगाइएको छ।

एनएचएआइ अधिकारीहरूका अनुसार लगातारको वर्षाका कारण एक्सप्रेसवेमुनिको माटोको तहसम्म पानी पुगेको थियो। यसले गर्दा माटोको पकड कमजोर भई किलोमिटर-६४ वरपर सडकको एक भागमा भासिने (स्लिपेज) को स्थिति बनेको हो।

यद्यपि, अधिकारीहरूले वास्तविक प्राविधिक कारणहरूको विस्तृत अनुसन्धान अझै जारी रहेको बताएका छन्। यसै उद्देश्यका लागि आइआइटी खड्गपुरका विज्ञहरूको टोलीलाई छानबिनको जिम्मेवारी दिइएको छ। साथै, सम्पूर्ण एक्सप्रेसवेको पेभमेन्ट अवस्थाको ‘लेजर प्रोफिलोमिटर’ प्रविधिबाट परीक्षण गराइएको छ।

एनएचएआइले प्रभावित भागको मर्मतमा लाग्ने करिब ३ करोड रुपैयाँ खर्च निर्माण कम्पनी आफैँले व्यहोर्नुपर्ने स्पष्ट पारेको छ। यसका साथै निर्माण र रेखदेखमा भएको जुनसुकै लापरवाहीको जवाफदेहिता तय गरिनेछ। यात्रीहरूलाई राहत दिँदै एनएचएआइले मर्मत कार्य पूरा नभएसम्मका लागि टोल असुली रोक्ने निर्णय गरेको छ। यस अवधिमा एक्सप्रेसवेमा यात्रा गर्ने मानिसहरूबाट कुनै टोल लिइने छैन। टोल राजस्वमा हुने नोक्सानीको भर्पाई पनि निर्माण कम्पनीबाटै गराइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *