युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको हत्या, राजधानी कम्पालामा लुटपाटको प्रतिकार गर्दा कुटपिट गरी मारियो
कम्पाला । युगान्डा प्रिमियर लिग टोली एससी भिल्ला तथा युगान्डाको राष्ट्रिय टोलीका मिडफिल्डर डेभिड ओवोरीको हत्या भएको छ। राजधानी कम्पालास्थित आफ्नै घर नजिकै लुटपाटको आशङ्कामा उनीमाथि कुटपिट गरी हत्या गरिएको हो।
प्रहरीका अनुसार मङ्गलवार राति आफ्नो फोन लुट्ने प्रयासको प्रतिकार गर्दा ओवोरीमाथि आक्रमण भएको थियो। आक्रमणकारीहरूले उनीमाथि ढुङ्गा तथा पेभिङ ब्लक प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारका लागि अस्पताल लगिएको केही घण्टामै उनको निधन भएको थियो।
ओवोरी युगान्डाका सबैभन्दा चर्चित र सफल फुटबलरहरूमध्ये एक थिए। उनी एससी भिल्लाका कप्तानसमेत थिए, जसको नेतृत्वमा टोलीले सन् २०२४ मा २० वर्षपछिको पहिलो युगान्डा प्रिमियर लिगको उपाधि जितेको थियो। उनको हत्याको खबरले सिङ्गो देश स्तब्ध बनेको छ।
राजधानी कम्पालामा अपराधका घटनाहरू तीव्र रूपमा बढ्न थालेपछि नागरिकहरूले सुरक्षा व्यवस्था कडा बनाउन र अपराधीहरूलाई कडा सजाय दिन माग गरेका छन्। मङ्गलवारको यो घटनाविरुद्ध बुधवार युगान्डाको संसद्मा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
केही हप्ताअघि मात्रै कम्पालामा अर्का चर्चित खेलाडी तथा रग्बी खेलाडी सिड्नी गोङ्गोद्योको पनि एक समूहको कुटपिटबाट मृत्यु भएको थियो।
यसैबिच, यसै हप्ता युगान्डाका अर्का फुटबलर रोजर्स सेब्योन्ड्या को पनि खेलका क्रममा दुर्घटनामा परी निधन भएको छ। खेल चलिरहेका बेला विपक्षी गोलकिपरसँग हावामा ठोक्किएर असन्तुलित भई भुइँमा पछारिँदा गम्भीर चोट लागेका कारण उनको निधन भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment