अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर फैलियो
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडनको प्रोस्टेट क्यान्सर उनको हड्डीभन्दा बाहिरसम्म फैलिएको छ र उनी निकै पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। उनका छोरा हन्टर बाइडनले बीबीसीलाई दिएको एक अन्तर्वार्तामा यसबारे जानकारी दिएका हुन्।
हन्टर बाइडनले बीबीसीको ‘न्यूजनाइट’ कार्यक्रममा भने, ‘क्यान्सर उहाँको हड्डी र त्योभन्दा बाहिरसम्म फैलिएको छ। यो निकै कष्टकर छ र धेरै हिसाबले उहाँलाई गलाइरहेको छ।’
जो बाइडनले ह्वाइट हाउस छाडेको करिब चार महिनापछि, मे २०२५ मा आफूलाई प्रोस्टेट क्यान्सर भएको खुलासा गरेका थिए। त्यसबेला उनले क्यान्सर आफ्नो हड्डीसम्म फैलिएको बताएका थिए।
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन जितेका बाइडन सन् २०२१ देखि २०२५ सम्म राष्ट्रपति रहेका थिए। राष्ट्रपतीय कार्यकालभरि उनको स्वास्थ्यलाई लिएर निरन्तर प्रश्नहरू उठिरहे। बाइडन हाल ८३ वर्षका भएका छन्।
अन्तर्वार्ताका क्रममा हन्टर बाइडन धेरै पटक भावुक बनेका थिए, खास गरी आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे कुरा गर्दा उनी धेरै भावुक थिए ।
उनले भने, ‘आज पनि मेरा बुबा हाम्रो परिवारको केन्द्रविन्दु हुनुहुन्छ। उहाँ सबैभन्दा असल बुबा, सबैभन्दा असल पति र सबैभन्दा असल हजुरबुबा हुनुहुन्छ।’
हन्टर बाइडनले जुन २०२४ मा भएको त्यो राष्ट्रपतीय बहस (प्रेसिडेन्सियल डिबेट) का बारेमा पनि कुरा गरे, जसपछि उनका पिताको पुनः चुनाव लड्ने अभियान अन्ततः अन्त्य भएको थियो।
उनले क्यालिफोर्नियास्थित आफ्नो घरबाट उक्त बहस हेरेको र हेर्ने बित्तिकै केही गडबड छ भन्ने महसुस गरेको बताए।
‘म स्तब्ध भएको थिएँ। मलाई थाहा भइसकेको थियो कि केही न केही गडबड छ,’ उनले सम्झिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment