पश्चिमी क्यानडाको डढेलो अनियन्त्रित: फैलावट दोब्बर भएपछि हजारौँ मानिस विस्थापित, समरल्यान्डमा बिजुली ठप्प
काठमाडौं । पश्चिमी क्यानडाको एउटा दुर्गम क्षेत्रमा तीव्र गतिमा फैलिरहेको जङ्गली डढेलोको दायरा दोब्बर भएको छ। डढेलो नियन्त्रणबाहिर गएपछि हजारौँ मानिसहरू आफ्ना घर छाडेर सुरक्षित स्थानतातर्फ विस्थापित हुन बाध्य भएका छन्।
‘बीसी वाइल्डफायर सर्भिस’ का अनुसार बाल्ड रेन्जको डढेलो अब ब्रिटिस कोलम्बियाको समरल्यान्ड र ओकानागन-सिमिल्कामीन जिल्लाहरूका ९५ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिसकेको छ।
ओकानागन-सिमिल्कामीन क्षेत्रीय जिल्लाका आपत्कालीन सेवा अधिकारी एरिक थोम्पसनले डढेलोका दृष्टिले संवेदनशील मानिने यस क्षेत्रमा यति छिटो र यति ठूलो रूपमा डढेलो फैलिएको आफूले पहिले कहिल्यै नदेखेको बताएका छन्।
स्थानीय समयअनुसार शनिबार बिहानसम्म पनि यस क्षेत्रमा डढेलो नियन्त्रणमा आउन सकेको थिएन।
करिब १२ हजार जनसङ्ख्या रहेको समरल्यान्ड जिल्लाका बासिन्दाहरूलाई तत्काल घर खाली गर्न आदेश दिइएको छ। अधिकारीहरूले शनिबार बिहान दिएको जानकारीअनुसार सिङ्गो क्षेत्रमा बिजुली सेवासमेत ठप्प भएको छ।
वरपरका ओकानागन, पीचल्यान्ड र ओकानागन-सिमिल्कामीन जिल्लाहरूले पनि केही क्षेत्रका मानिसहरूलाई घर खाली गर्ने आदेश जारी गरेका छन्।
अन्य केही क्षेत्रहरूमा भने जुनसुकै बेला घर छाड्नुपर्ने स्थिति आउन सक्ने भएकाले मानिसहरूलाई पूर्वतयारी अवस्थामा रहन चेतावनी (अलर्ट) दिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment