उत्तर कोरियाली शासक किम जोङ उन दुई महिनादेखि बेपत्ता: स्वास्थ्य अवस्थादेखि ‘बडी डबल’ सम्मका अड्कलबाजी सुरु
काठमाडौं । लामो समयदेखि उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक रूपमा देखिएका छैनन्। करिब दुई महिनादेखि उनले कुनै पनि सरकारी तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाएका छैनन्। उत्तर कोरियाका हरेक साना-ठूला कार्यक्रमहरूमा देखिने किम निरन्तर मिडिया र सरकारी कार्यक्रमहरूबाट ओझेल परेपछि उनीबारे विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।
न त कुनै नयाँ उद्घाटन, न त कुनै ठूलो सार्वजनिक कार्यक्रम र न त उनको कुनै ताजा तस्बिर नै बाहिर आएको छ। यहाँसम्म कि कोरियाली युद्ध समाप्त भएको ७३औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा समेत किम जोङ उन देखिएनन्। यसै कारण अब प्रश्न उठ्न थालेको छ- आखिर उत्तर कोरियाका सबैभन्दा शक्तिशाली नेता कहाँ गायब भए?
‘डेली स्टार’ को रिपोर्टअनुसार किम जोङ उनको अन्तिम तस्बिर जुन ९ तारिखको मानिएको छ। जसमा उनी चीनबाट आएका समकक्षीहरूसँग उत्तर कोरियामा भेटवार्ता गरिरहेको देखिएका थिए। त्यसयता उनका सार्वजनिक गतिविधिहरूलाई लिएर पूर्ण मौनता छाएको छ।
उत्तर कोरियामा किम जोङ उनको अनुपस्थिति यसकारण पनि चर्चाको विषय बनेको छ, किनकि उनी सामान्यतया सरकारी कार्यक्रमहरूमा आफैँ उपस्थित हुने गर्दछन्। खास गरी नयाँ भवन, फ्याक्ट्री र अन्य ठूला आयोजनाहरूको उद्घाटनमा उनको उपस्थितिलाई प्रचारप्रसारको मुख्य हिस्सा बनाइन्छ। तर, हालैका धेरै कार्यक्रमहरूमा त्यसो हुन सकेन।
यसै साता उत्तर कोरियामा धेरै महत्त्वपूर्ण कार्यक्रमहरू भए। अधिकारीहरूले प्योङयाङस्थित ‘किम जोङ थाए इलेक्ट्रिक लोकोमोटिभ कम्प्लेक्स’ को निरीक्षण गरे। यसबाहेक नाम्पोमा बालबालिकाका लागि बनाइएको ‘स्कुलचिल्ड्रन प्यालेस’ को उद्घाटन पनि भयो। यी अवसरहरूमा किम जोङ उनको सट्टा अन्य वरिष्ठ अधिकारीहरू देखिए।
प्योङयाङको लोकोमोटिभ कम्प्लेक्समा प्रधानमन्त्री पाक थाए-सोङ पुगेका थिए भने बालबालिकासँग सम्बन्धित कार्यक्रममा पनि किमको अनुपस्थिति चासोको विषय बन्यो।
यति मात्र होइन, अमेरिका, जापान र दक्षिण कोरियासँग जोडिएको एउटा सैन्य अभ्यासका विषयमा उत्तर कोरियाका तर्फबाट आधिकारिक बयान पनि आयो। तर, यस मामिलामा पनि किम जोङ उन आफैँ अगाडि आएनन्।
किमको अनुपस्थिति सार्वजनिक कार्यक्रमहरूमा मात्र सीमित छैन। रिपोर्टअनुसार उनको कुनै नयाँ टिभी फुटेज वा प्योङयाङमा हुने आन्तरिक बैठकहरूका तस्बिरहरूसमेत बाहिर आएका छैनन्। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरूले सामान्यतया किमका गतिविधिहरूलाई प्राथमिकताका साथ देखाउने गर्छन्। यस्तो अवस्थामा लामो समयसम्म उनका नयाँ तस्बिरहरू सार्वजनिक नहुनुलाई असामान्य मानिएको छ।
यसैबिच, केही पुराना कार्यक्रमहरूसँग जोडिएका तस्बिरहरू गायब पारिएको कुरा पनि बाहिर आएको छ। यद्यपि, यी घटनाहरूको कारण भने स्पष्ट हुन सकेको छैन।
किम जोङ उनको लामो अनुपस्थितिलाई लिएर अहिले धेरै प्रकारका अनुमानहरू लगाइँदै छ, जसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
एउटा कारण मौसमलाई पनि मानिएको छ। उत्तर कोरियामा यसतिबेला तापक्रम करिब ३७ डिग्री सेल्सियससम्म पुगेको र हावामा आर्द्रता (ह्युमिडिटी) पनि निकै बढी रहेको बताइएको छ। यस्तो अवस्थामा किमको स्वास्थ्य र आरामले पनि उनका सार्वजनिक गतिविधिहरूलाई प्रभावित पारेको हुन सक्छ।
यद्यपि, अत्यधिक गर्मीलाई मात्रै उनको करिब दुई महिना लामो अनुपभूतिको मुख्य कारण मान्न कठिन छ। किनकि यसअघि पनि उनी गर्मी मौसमका बाबजुद सार्वजनिक कार्यक्रमहरूमा देखिँदै आएका थिए।
किम जोङ उनको लामो अनुपस्थितिले अड्कलबाजीलाई अझ मलजल गरेको छ। केही मानिसहरूले उनको स्वास्थ्यमाथि प्रश्न उठाइरहेका छन् भने केहीले अत्यन्तै गम्भीर दाबीसमेत गरिरहेका छन्।
केही अड्कलबाजीहरूमा त किम जोङ उनको मृत्यु भइसकेको वा उनको ठाउँमा कुनै ‘बडी डबल’ (हबहु देखिने नक्कली व्यक्ति) को प्रयोग भइरहेको दाबीसमेत गरिएको छ। यद्यपि, यी दाबीहरूको कुनै आधिकारिक पुष्टि भएको छैन र यसको समर्थनमा कुनै पत्यारिलो प्रमाण पनि बाहिर आएको छैन। यसअघि पनि विश्वका धेरै नेताहरू लामो समय सार्वजनिक रूपमा नदेखिँदा यस्ता हल्लाहरू बाहिर आउने गरेका थिए।
उत्तर कोरियामा नेताको उपस्थितिलाई सरकारी प्रचारको मुख्य आधार मानिने भएकाले किमको यो लामो अनुपस्थिति बढी चर्चामा आएको हो। नयाँ आयोजनाको उद्घाटनदेखि सैन्य गतिविधिहरूसम्म किमका तस्बिर र भिडियोहरू प्रायः सरकारी मिडियामा प्राथमिकताका साथ देखाइन्थे।
के उनी कुनै व्यक्तिगत ठाउँमा आराम गरिरहेका छन्, स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रमबाट टाढा छन् वा यसको पछाडि अर्कै कुनै कारण छ? यसको उत्तर अझै स्पष्ट छैन। जबसम्म उत्तर कोरियाको सरकार वा त्यहाँको सरकारी मिडियाले उनको स्थितिलाई लिएर कुनै स्पष्ट जानकारी दिँदैन, तबसम्म बाहिर आएका कुराहरूलाई केवल अनुमान वा अड्कलबाजी मात्र मानिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment