चीनमा ‘डल्फिन’ आँधीको वितण्डा: १० लाखभन्दा बढी मानिस विस्थापित, १४ सय उडान रद्द

डिसी नेपाल
२५ साउन २०८३ १०:२२

काठमाडौं । चीनको पूर्वी क्षेत्रमा शक्तिशाली ‘डल्फिन’ आँधी आएपछि १० लाखभन्दा बढी मानिसहरूलाई आफ्ना घरबाट सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण आर्थिक राजधानी साङ्घाईसहित धेरै क्षेत्रहरूमा जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार डल्फिन आँधीले आइतबार बेलुका करिब ५:३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलो पटक धक्का दिएको थियो। त्यस क्रममा आँधीको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो। त्यसको करिब एक घण्टापछि आँधीले वेन्झोउ सहरमा दोस्रो पटक ल्यान्डफलो (जमिनमा प्रवेश) गरेको थियो।

आँधीकै कारण साङ्घाईमा मात्रै करिब १,४०० उडानहरू रद्द गर्नुपरेको छ। यसबाट ठूलो सङ्ख्यामा यात्रीहरूले सास्ती व्यहोर्नुपरेको छ। चिनियाँ अधिकारीहरूले डल्फिन आँधीलाई लिएर सुरुमा सबैभन्दा उच्च तहको ‘रेड अलर्ट’ जारी गरेका थिए। यद्यपि, सोमबार बिहान यसको तीव्रता कम भएपछि चेतावनीको तह घटाइएको छ।

मौसम विभागका अनुसार आँधी अब चीनका आन्तरिक भूभागहरूतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरेका छन्।

सानडोङ, हेनान, हुबेई, अनहुई, जियाङ्सु र झेजियाङ प्रान्तका साथै साङ्घाईमा सोमबार पनि भारी वर्षाको अनुमान गरिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *